कार्यशाला सुरु

सुर्खेत । नेपाली चलचित्रलाई विस्तारसँगै आम पहुँचमा पुर्याउने लक्ष्यका साथ पहिलो पटक कर्णाली प्रदेशमा कार्यशाला गरिएको छ । केबी इन्टरटेन्मेन्ट ग्रुपद्वारा मंगलबारदेखि वीरेन्द्रनगरमा पाँच दिनसम्म सञ्चालन हुने ‘कर्णाली चलचित्र कार्यशाला’ को कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे । उनले कलाकार समाजको दर्पण भएको बताउँदै समाजको वास्तविक कथालाई कलाका माध्यमबाट उतार्दा त्यसले नेतृत्वलाई बढी जिम्मेवार बनाउने बताए । उनले भने, ‘चलचित्र उद्योगले पनि मुलुक विकासमा सहयोग पु¥याउँदै आएको छ । यसको विकास, विस्तार तथा संवद्र्धनले राज्यले ध्यान दिनु पर्दछ ।’

हरेकले कर्णालीप्रति हेर्ने दृष्टिकोण कमजोर बनाउँदै आएको बताउँदै मुख्यमन्त्री शाहीले यो भूगोल निकै सुन्दर र सांस्कृतिक रुपमा समेत समृद्ध रहेको भनाइ राखे । उनले भने, ‘कर्णालीलाई कमजोर नसम्झ बरु तिम्रो हेर्ने नजर परिवर्तन गर । किनकि सिंगो नेपाललाई विश्वमा चिनाउने भर्जिनल्याण्ड कर्णाली हो ।’ उनले अग्रज कलाकार प्रेमदेव गिरी लगायतका कलाकारको प्रशंसा गर्दै कर्णालीका कथा र वास्तविकतालाई चलचित्रमा उतार्ने गरी कलाकारिता क्षेत्रले दक्ष जनशक्ति उत्पादन गर्न सुझाव दिए । अग्रज रंगकर्मी गणेशभक्त गौतमले कर्णाली आफैँमा कलाको खानी भएको र कार्यशालाले यस क्षेत्रका कलाकारलाई अझ दक्ष बनाउने विश्वास व्यक्त गरे । उनले कर्णालीको राजधानी सुर्खेतमै चलचित्र निर्मातासहित दक्ष कलाकार भए पनि उनीहरूले जीविकोपार्जन गर्न सक्ने वतावरण नभएको र उनीहरूप्रति राज्यको हेर्ने नजर फरक भएको टिप्पणी गरे ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष गणेश भण्डारीले विसं २०६८ मा सुर्खेतमै राष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिएको जनाए । उनले कार्याशालाले राम्रा कलाकार उत्पादन गर्ने मात्र नभई कर्णालीमा राम्रा कलाकार छन् भन्ने सन्देश दिने बताए । केबी इन्टरटेन्मेन्ट ग्रुपका अध्यक्ष भूपेन्द्र खड्काले कर्णालीमा चलचित्र उत्पादन गरी यही क्षेत्रको जनशक्ति निर्माण गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको जनाए ।

उनले कार्यशालाले चलचित्रप्रति कर्णालीवासीको ध्यान आकृष्ट हुने विश्वास व्यक्त गरे । सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कँडेलले यहाँका कलाकारलाई दक्ष बनाइ मुलुक निर्माण सहयोग पु¥याउनु सबैको कर्तव्य भएको विचार व्यक्त गरे । कार्यशालामा डब्बु क्षत्री, भोला सापकोटा, विष्णु कल्पित तथा शिवम अधिकारीले प्रशिक्षण दिनेछन् ।

वरिष्ठ कलाकार प्रेमदेव गिरी, नृत्य निर्देशक कुलमान नेपाली, चलचित्र निर्माता निर्मल प्याकुरेल लगायतका कलाकार माया थापाको सहभागिता रहेको सो कार्यशालामा २५ जना प्रशिक्षणमा सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया