१९औँ धान दिवस मनाउँदै गर्दा

‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ बुधबार यस वर्षको धान दिवस मनाइँदै छ । नेपालको अर्थतन्त्र तथा नेपाली संस्कृतिमा धानको महत्वलाई मध्यनजर राख्दै सरकारले ०६१ सालदेखि हरेक वर्षको असार १५ गते धान दिवस मनाउँदै आएको छ ।

१५ असार भनेको धान खेतीस“ग जोडिएको सयौं वर्ष पुरानो नेपाली चाड हो । यो चाडलाई कसैकसैले किसान दिवससमेत भन्ने गरेका छन् । धान भनेको प्रायः सबै नेपालीको महत्वपूर्ण खाद्यान्न मात्रै नभएर नेपालको आर्थिक मेरुदण्डसमेत हो ।

नेपालको कुल अर्थतन्त्रमा धानको योगदान करिब १० प्रतिशत रहेको छ । यसको अर्थ हो नेपालमा धानको उत्पादन वार्षिक चार खर्ब रुपैयाँ बराबरको हुन्छ । धानको उत्पादन बढ्दा कुल ग्रार्हस्थ उत्पादन बढ्ने र धानको उत्पादन घट्दा कुल ग्रार्हस्थ उत्पादनसमेत घट्ने अवस्था छ ।

नेपाली संस्कार तथा संस्कृतिमा धानको सम्बन्ध ज्यादै नै गहिरो छ । दुई जना व्यक्ति भेट हुने बित्तिकै सोधिने प्रश्न हो, ‘भात खानुभयो ?’ त्यति मात्रै होइन, धानका परिकारविना नेपालीहरूका सबैजसो चाडपर्वहरू सम्पन्न हु“दैनन् । जन्म संस्कारदेखि मृत्यु संस्कार तथा देवकार्य तथा पितृकार्य गर्दासमेत धानको परिकार अनिवार्य मानिन्छ ।

नेपालका अधिकांश चाडपर्व तथा संस्कृतिहरू धान बालीको बिउ राख्ने बेलादेखि धानबाली भित्र्याउने अवधिभित्र पर्छन् । धानखेती नेपालको २७ सय मिटर उचाइको भूभागसम्म हुने गरेको छ । नेपालको ९७ प्रतिशतभन्दा बढी जनसंख्याको बसोबास हुने क्षेत्रमा धानखेती हुन्छ ।

केही दशक अघिसम्म धानखेती नेपालको वैदेशिक मुद्रा आर्जनको समेत मुख्य स्रोत रहेको थियो । नेपालको तराई क्षेत्रबाट प्रसस्त धान भारत निर्यात हुन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि धान–चामल आयातवापत नेपालको ठूलो रकम बिदेसिन थालेको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा मात्रै धानचामल आयातमा करिव ४५ अर्ब रुपैयाँ बिदेसिएको तथ्यांक छ । यो ज्यादै कहालीलाग्दो तथ्यांक हो । अझ ठूलो विडम्वना त जुन बेलादेखि धान दिवस मनाउन थालियो, त्यति बेलादेखि धान–चामल आयातको परिमाण बढेको तथ्यांक छ । धान दिवस नारामा मात्रै सीमित रहने गरेको यो तथ्यांकले सिद्ध गर्छ ।

सिंहदरबारभित्र गमलामा धान रोपेर धान दिवस मनाउनुको कुनै अर्थ छैन । वर्षको दुईबाली धान उत्पादन हुनसक्ने हावापानी हाम्रो मुलुकमा छ, तर सिँचाइको अभावका कारण कुल खेतीयोग्य जमिनको ४० प्रतिशतमा मात्रै धान खेती गरिएको अवस्था छ । तर त्यो ४० प्रतिशत मध्ये पनि अधिकांशमा सिँचाइको भरपर्दो सुविधा छैन, आकाशकै पानीमा भर पर्नुपर्ने अवस्था छ ।

प्रर्याप्त सिँचाइ तथा मलखादविना धानखेती संभव छैन । तराई तथा बेँसी क्षेत्रमा कुलो तथा नहरको माध्यमद्वारा बाह्रै महिना सि“चाइको सुविधा पुर्याउन सकिने नदीनाला नेपालमा छन् । पहाडी क्षेत्रका कतिपय टार तथा उच्च समस्थलीहरूमा पनि लिफ्ट प्रणालीमार्फत नदीको पानी तानेर सिँचाइ गर्न सकिन्छ ।

तर, सिँचाइको प्रबन्ध गर्न नसकिएकै कारण धान खेतीको संभावनालाई हाम्रो मुलुकले उपयोग गर्न सकेको छैन । यसैगरी विगत केही दशकदेखि हरेक वर्ष धानबाली लगाउने सिजनमा रासायनिक मलको हाहाकार मच्चिने गरेको छ ।

जबकी हाम्रै देशमा रासायनिक मल कारखाना स्थापना गर्न पुग्ने विद्युतीय ऊर्जा छ । बाह्रै महिना सिँचाइ र सर्वसुलभ रूपमा मलखादको प्रबन्ध गरिदिने हो भने कुनै पनि नेपालीलाई रोजगारीका लागि विदेश जानु पर्दैन । धान–चामल निर्यातले मात्रै पनि नेपाल समृद्ध बन्न सक्छ ।

किनकी अहिले करिब २० लाख हेक्टर जमिनमा वर्षको एक सिजन धानखेती गरेर करिब ६० लाख मेट्रिक टन अर्थात ४ खर्ब रुपैयाँ मूल्य बराबरको धान उत्पादन गर्ने गरिएको छ । जबकी सिँचाइ र मलखादको प्रशस्त प्रबन्ध गरिदिने हो भने नेपालमा करिब ५० लाख हेक्टर जमिनमा वर्षको दुई सिजन धान उत्पादन हुन्छ ।

उत्पादकत्व पनि दोब्बर हुन्छ । यस हिसाबले वर्षको ४० खर्ब रुपैयाँ बराबरको धान उत्पादन गर्न नेपाललाई खासै ठूलो समस्या छैन । चीन र भारतजस्ता ज्यादै धेरै जनसंख्या भएका छिमेकी रहेकोले धान–चामलको बजारसमेत सुनिश्चित छ ।

प्रतिक्रिया