पुटिनको नाङ्गो छातीको चर्चा

बर्लिन । जी सेभेन देशहरूको शिखर सम्मेलन जर्मनीमा हुँदैछ । सम्मेलनको पहिलो दिन, जुन २६ मा, ब्लकका सदस्य राष्ट्रका नेताहरूले युक्रेनमा रुसको आक्रमण, त्यसको बहुआयामिक प्रभाव र युक्रेनको अवस्थाबारे छलफल गरेका थिए ।

यस क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको ‘माचो इमेज’ पनि बैठक सुरु हुनुअघि नै छलफल भएको थियो । आइतबार जी–सेभेन देशको बैठक सुरु हुँदा सबै नेता गोलमेचमा बसेका थिए । अन्तिममा बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आफ्नो कुुर्सीमा बसे । कुर्सीमा बस्दै गर्दा जोनसनले साथी नेताहरूलाई ठट्टा गर्दै सोधे, ‘ज्याकेट लगाउने कि फुकाल्ने ? हामीले लुगा फुकाल्नु पर्छ र ?’ यतिबेला यहाँ थुप्रै पत्रकार तथा फोटोग्राफर पनि थिए ।

पत्रकारतर्फ इशारा गर्दै जोनसनले भने, ‘हामी सबैले उहाँहरुलाई यो देखाउनु पर्छ कि हामी पुटिनभन्दा बढी बलिया (टफ) छौँ ।’
जोनसनको कुरालाई अघि बढाउँदै क्यानेडेली नेता जस्टिन ट्रुडोले भने, ‘छाती देखाउँदै घोडा सवारी गर्दै….’
यसमा युरोपेली आयोगका अध्यक्षले भने, ‘ हो त नि… घोडा सवारी सबैभन्दा राम्रो होला ।’ समाचार एजेन्सी रोयटर्सले यो घटनाको भिडियो सार्वजनिक गरेको छ ।

रुसका राष्ट्रपतिका यस्ता धेरै तस्बिर सार्वजनिक छन्, जसमा उनी कहिले सर्ट नलगाई (शर्टलेस), कहिले घोडामा चढेको त कहिले माछा मारेको देख्न सकिन्छ । क्रेमलिन बाहिर सुट(बुट बाहिर उनको ‘माचो(इमेज’ को धेरै तस्बिरहरू सार्वजनिक हुने गरेका छन् ।
शिखर सम्मेलनको पहिलो दिन जी सेभेन सदस्य राष्ट्रका नेताहरूले रुसलाई कसरी अलग्याउने भन्ने विषयमा विस्तृत छलफल गरेका थिए । युक्रेनमा रुसले आक्रमण गरेपछि विश्वका धेरै देशले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् ।

प्रतिक्रिया