राजधानीमा हैजा : उच्च सतर्कता जरुरी

केही दिनदेखि राजधानी काठमाडौं उपत्यकामा हैजा रोग फैलिएको छ । हालसम्म १७ जना बिरामीमा हैजा पुष्टि भएको छ । आइतबार मात्रै हैजाका १२ जना नयाँ बिरामी फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । हैजाका बिरामी टोलटोलमा रहेको आशंका महाशाखाले गरेको छ । काठमाडौं उपत्यकाका बागबजार, डिल्लीबजार, नैकाप, कपन, बालाजु, सानेपा लगायतका क्षेत्रको खानेपानीमा हैजाका किटाणु देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाको यो भनाइले वर्षा लागेस“गै काठमाडौं उपत्यकाको पानी वितरण प्रणाली नै प्रदूषित भएको हो कि भन्ने आशंका जन्माएको छ । हैजा पानीको माध्यमबाट एकअर्कामा अत्यन्त छिटो सर्ने घातक रोग हो । उच्च सतर्कता नअपनाउने हो भने हैजाले मान्छेको ज्यानै लिने संभावना छ, सौभाग्यवस अहिलेसम्म ज्यान गएको समाचार भने सुन्नु परेको छैन । खासगरी राजधानी काठमाडौं उपत्यकामा जारमा वितरण हुने पानी नउमालिकन वा औषधि नहाली सिधै प्रयोग गर्ने प्रचलन छ । मानिसहरू जारको पानीप्रति विश्वस्त देखिन्छन्, तर कस्तो पानी जारमा भरेर बिक्री गर्ने गरिएको छ ? भन्ने अनुगमन भएको छैन ।

विगतमा पनि जारकै पानीका कारण हैजा फैलिएको पुष्टि भएको थियो । काठमाडौं र ललितपुर महानगरपालिकाले विशेष स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै दूषित पानी र अस्वस्थ खाना नखान सर्वसाधारणमा अपिल जारी गरेका छन्, तर जारको पानीबारे केही बोलेका छैनन् । जानाजान दूषित पानी र अस्वस्थ खाना कसैले प्रयोग गर्दैनन्, त्यसैले यस्ता अपिल जारी गर्नुभन्दा अनुगमनमा ध्यान दिनु जरुरी छ ।

अत्यन्त उच्च जनघनत्व रहेको र देशभरीमा मान्छेहरू निकै बाक्लो आवतजावत हुने काठमाडौं उपत्यकामा हैजाले महामारीको रूप लियो भने कोरोनाकालमा जस्तै विद्यमान स्वास्थ्य उपचार संस्थाहरूले बिरामीको चाप धान्न नसक्ने अवस्था उत्पन्न हुन्छ । त्यसैले समयमै जनतालाई सचेत गराउ“दै अनुगमनमा जोड दिनु जरुरी छ । सडकमा खानेकुरा बिक्री गर्न काठमाडौं र ललितपुर महानगरपालिकाले रोक लगाएका छन् । जसलाई सराहनीय मान्नुपर्छ । तर होटल तथा रेस्टुरेन्टको हकमा भने खानेकुराको व्यापार गर्न रोक लगाउन सकिने अवस्था छैन, त्यसैले उच्च सतर्कताका साथ अनुगमन र जनचेतना नै मुख्य आवश्यकता हो ।

त्यसैगरी हैजा फैलनसक्ने मु्ख्य जोखिमको क्षेत्र भनेका शैक्षिक संस्थाहरू हुन् । विद्यालयहरूमा प्रयोग हुने पानीलाई हैजाका किटाणु मुक्त बनाउने प्रयास तत्काल थालिहाल्नु पर्छ । विद्यालयको पानी प्रदूषित हुँदा घरघरमा हैजा पुग्छ । यो मामिलामा मुख्य दायित्व भनेको काठमाडौं उपत्यका खानेपानी लिमिटेडको हो ।

राजधानी काठमाडौं उपत्यकामा एक्कासि हैजा फैलिएको होइन । गत चैतदेखि नै फोहोरको व्यवस्थापन हुन नसकेका कारण हैजा फैलने अनुमान गरिएको थियो । स्थानीय निर्वाचनको सेरोफेरोमा लामो समयसम्म सडक, गल्ली तथा चोकहरूमा फोहोर थुप्रिँदा सरकार तमासे बनेर बस्यो । अहिले फैलिएको हैजा त्यसैको प्रतिफल हो । यो मामिलामा सरकारले गम्भीर गल्ती गरिसकेको छ । सरकारमा बस्नेहरू, राज्य संयन्त्रमा रहनेहरू अत्यन्त गैरजिम्मेवार रहेको अवस्थामा सतर्कता अपनाउनुपर्ने भनेको हामी जनताले नै हो ।

जति धेरै रोग फैलियो आफ्नो व्यापार त्यति नै वृद्धि हुने मानसिकता बोकेका अपराधीहरूले राज्य संयन्त्रलाई नियन्त्रणमा लिएको देश हो हाम्रो । त्यसैले हामी आपैmँले सकेसम्म उमालेर वा उमाल्न नसके क्लोरिन हालेर मात्रै पानी पिउने गरौँ । खाना खानुअघि, खाएपछि, दिसापिसाब गरिसकेपछि साबुनपानीले हात राम्रोसँग धुनुपर्छ भन्ने पाठ हामीले कोरानाकालमै सिकेका छौँ, यसलाई आत्मसात गरौँ ।

चटपटे, पानीपुरी लगायतका फुटपाथका खानेकुरा खाँदै नखाऔँ, सकेसम्म घरबाहिर खानेकुरा नखाऔँ । घरबाहिर जाँदा उमालेको पानी बोतलमा लिएर हिँड्न नबिर्सौं । पानीको स्रोत (इनार, कुवा, पोखरी) सफा राखौँ । घरमा कसैलाई झाडा–वान्ता भयो भने उच्च सतर्कता अपनाऔँ । बजारबाट किनेर ल्याएको फलपूmल तथा तरकारीलाई क्लोरिन राखिएको पानीमा केही बेर डुबाउने गरौँ ।

प्रतिक्रिया