सुख्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन

काठमाडौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले चोभार सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गरी पूर्ण क्षमतामा संचालन गर्न निर्देशन दिएका छन । सोमबार बन्दरगाहको अवलोकन गर्दे उनले त्यस्तो निर्देशन दिएका हुन । सो अवसरमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाहको अवस्था, देखापरेका समस्या, हालसम्मको प्रगति, आगामी योजनालगायत विषयमा जानकारी दिएका थिए ।

उद्योग मन्त्री बडुले काठमाडौं केन्द्रित व्यवसायीका लागि सुख्खा बन्दरगाह मार्फत, एकीकृत जाँच चौकी, गोदाम व्यवस्थापन, सुरक्षा व्यवस्था लगायतका सुविधाबाट व्यापारी, व्यवसायीहरुको समय र लागत कम हुन गई आयात निर्यातमा महत्वपूर्ण भूमिका खेल्ने चोभार सुख्खा बन्दरगाहलाई सरकारले स्थापना गरेको लक्ष्यअनुसार सञ्चालन गर्न सञ्चालक समितिलाई गम्भीरतापूर्वक लाग्न निर्देशन दिए । उनले गत चैत २२ मा सञ्चालनमा आएको बन्दरगाहमा वीरगञ्ज नाकाबाट उपत्यका लगायत जिल्लाहरुमा आउने सबै ट्रक एवं कन्टेनर नाकामा नै ‘डिजिटल लक’ भई सोझैआउनुपर्नेमा त्यसरी आउने नगरेको र हालसम्म १२ वटा कन्टेनर मात्रै आएको अवस्थातर्फ विशेष चासो राखे ।

मन्त्री बडुले २ सय २० रोपनीमा फैलिएको बन्दरगाहको प्रयोग हुनसके सरकार र व्यवसायी दुबै पक्षले लाभ लिनसक्ने भएकोले यसको अधिकतम लाभ लिने गरी निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने धारणा पनि सो अवसरमा राखेका थिए ।

सोमबार नै मन्त्री बडुले युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनद्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र रहेको स्थल त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुर पुगेर त्यहाँ भइरहेका गतिविधिहरुको समेत अवलोकन गरेका थिए । त्यसअवसरमा मन्त्री बडुले पुनले स्थापना गरेको आविष्कार केन्द्रले नेपालमै नवप्रवर्तक युवाहरुलाई समाजको आवश्यकतानुरुप विविध उत्पादन र सेवा क्षेत्रमा आविष्कारको माध्यमबाट उल्लेख्य कार्य गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेको र यसलाई उद्यमशीलतासँग जोड्दै थप बजार विस्तार गर्न सरकारले पनि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारीको समयमा पीपीई, भेन्टीलेटरलगायत स्वास्थ्य सामग्री उपलब्ध गराएर आविष्कार केन्द्रले नेपाली जनता र सरकारलाई ठूलो सहयोग गरेको र कृषि औजार, औद्योगिक मेसिन, सूचना प्रविधिको क्षेत्रमा गरिरहेको प्रयासले नेपालमा रोजगारी वृद्धि र विकासमा थप टेवा पुग्ने विश्वास उनले ब्यक्त गरे । आगामी आर्थिक वर्षमा आविष्कार केन्द्रसँग मन्त्रालयले सहयोग र सहकार्य गर्ने योजनासमेत बनाइरहेको पनि मन्त्री बडुले जानकारी दिएका थिए ।

प्रतिक्रिया