सेभेरोदोेनेत्स्क रुसी सेनाको कब्जामा

मस्को । हप्तौंको लडाइँपछि युक्रेनी सहर सेभेरोदोेनेत्स्कमाथि रुसी सेनाले ‘पूर्ण रूपमा कब्जा गरेको’ शहरका मेयर ओलेक्सान्डर स्ट्राइकले जानकारी दिएका छन् । युक्रेनका लागि यो सबैभन्दा ठूलो धक्का हो । ‘सहरलाई पूर्ण रूपमा रूसीहरूले कब्जा गरेका छन्’, स्ट्राइकले भने । एजोट केमिकल प्लान्टमा रुसी गोलाबारीबाट लुकेका कैयौं व्यक्तिले अहिले उक्त स्थान खाली गर्न थालेका उनले बताए । उनका अनुसार ती व्यक्तिहरूलाई चिकित्सा र मनोवैज्ञानिक सहयोग आवश्यक छ ।


‘यी मानिसहरूले आफ्नो जीवनको लगभग तीन महिना बेसमेन्टमा बिताएका छन् । यो भावनात्मक र शारीरिक रूपमा कठिन छ’, उनले भने । एक टेलिग्राम सन्देशमा पृथकतावादी अधिकारी आन्द्रेई मारोच्कोले रुसी सेनाले अजोट प्लान्टलाई पूर्ण नियन्त्रण लिएको दाबी गरेका छन् । युक्रेनले अब छिमेकी सहर लिसिचान्स्कलाई राम्रोसँग रक्षा गर्ने जनाएको छ । यसैबीच, पश्चिमको सामना गर्न रुसले बेलारुसलाई आणविक हतियार बोक्न सक्ने मिसाइल प्रणाली उपलब्ध गराउने भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसका आफ्ना समकक्षीलाई मस्कोले मिन्स्कलाई उक्त मिसाइल प्रणाली उपलब्ध गराउने बताएको रुसी विदेश मन्त्रालयले जनाएको छ ।


आफ्ना छिमेकीहरू लिथुआनिया र पोल्याण्डको ‘द्वन्द्वात्मक’ र ‘घृणित’ नीतिहरूको बारेमा चिन्ता व्यक्त गर्दै बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोले पुटिनसँग सहयोगका लागि अनुरोध गरेका थिए । त्यसको जबाफमा पुटिनले लुकासेन्कोलाई बेलारुसको रुसी निर्मित एसयु–२५ अपग्रेड गर्न सकिने आश्वासन दिए ।


बैठकबारे विदेश मन्त्रालयले पुटिनलाई उदृत गर्दै भनेको छ, ‘हामी बेलारुसलाई इस्कन्डर–एम रणनीतिक मिसाइल प्रणाली हस्तान्तरण गर्नेछौं, जसले ब्यालिस्टिक र क्रूज मिसाइलहरू दुवै परम्परागत र आणविक भर्सनमा प्रयोग गर्न सक्छ ।’
बेलारुस र उसको नजिकको सहयोगी रूसलाई एउटै छातामुनि राख्दै लुकासेन्कोले भने, ‘ब्रेस्टदेखि भ्लादिभोस्तोकसम्म हाम्रो मातृभूमिको रक्षाका लागि गम्भीर हतियारको प्रयोग गर्नदेखि जुनसुकै कुराको लागि मिन्स्क तयार हुनुपर्छ ।’

प्रतिक्रिया