स्थानीय निर्वाचनको परिणामले राजनीतिमा नयाँ तरंग

माधब थापा

हिजो गरिएको वामपन्थी एकता कि त गलत थियो भन्न सक्नुप¥यो कि त वामपन्थी विभाजन नै गलत हो भन्न सक्नुपर्यो । होइन भने वामपन्थी एकताको विपक्षमा उभिने छुट कुनै पनि नेतृत्वलाई छैन । वामपन्थीहरूको विभाजनले गर्दा देश र जनताले कस्तो ठक्कर बेहोर्नुपर्यो । हामी कति असफल भयाैं भन्ने ज्ञान नेतृत्वले जति चाँडो बुझ्न सक्यो त्यति नै छिटो नेपालका वामपन्थी शक्तिहरूको राजनीतिक उद्दार हुन सक्नेछ ।

भर्खरै सम्पन्न स्थानीय निवार्चनको परिणामले वामपन्थी समीकरण बारे नेपाली राजनीतिमा जबर्जस्त बहस सिर्जना गरेको छ । यसले नेपालका वामपन्थी बुद्धिजीवी, विश्लेषक, राजनीतिककर्मी र पार्टीका नेतृत्वहरूमा नविन तरंगहरू उत्पन्न गरेको छ । राजनीतिक दलहरूमा केन्द्रदेखि विस्तारै धमिलिँदै गएको अविश्वासका रंगहरू स्थानीय स्तरसम्म पुगेका छन् । स्थानीय निर्वाचनमा भएका धोका र बेइमानीका स्वरहरू चुलिन थालेका छन् ।

गैरकम्युनिस्ट र कम्युनिस्ट बीचको गठबन्धन सरकारले महँगी, भ्रष्टाचार र कालाबजारीलाई नियन्त्रण गर्न नसकेको अवस्था छ । असंलग्न परराष्ट्र नीतिमा आएको विचलनतावादी व्यवहार, नेपालको हित विपरीत आएको सैन्य रणनीतिसँग सम्बन्धित एसपिपी सम्झौताको बारे राजनीतिक वृत्तमा ढाकछोप गर्न खोजिएको छ । यसले नेपालको भूराजनीतिमा पर्ने असरले सर्वभौमसत्ता र स्वाधिनतामा पर्ने प्रभाव देश र जनताका लागि स्वीकार्य हुँदैन । यी र यस्ता गतिविधिप्रति सत्ता गठबन्धनका मुख्य शक्ति नेपाली कांग्रेसप्रति असहमति र असन्तुष्टीहरू बढ्न थालेका छन् । शंका र अविश्वासका मुनाहरू सत्ता गठबन्धनका साथीहरूमा पलाउन थालेका छन् । यद्यपि अमेरिकासँग एसपिपी सम्झौता एमाले नेतृत्वको सरकारले गरेको प्रमाणित भइसकेको छ । नेपाली सेनाको मुख्यालयले त्यो प्रष्ट्याइसकेको छ । तर पनि सत्ताघटक दलहरू देशको सार्वभौमिकता, स्वाधीनता र सामरिकताप्रति बढी नै संवेदनशील हुनु जरुरी छ ।

अर्कोतिर अहिले वामपन्थी धुव्रीकरणको बहसले राजनीतिक वृतमा नवीनतम ऊर्जा थपिएको देख्न पाइन्छ । यो बहसले वामपन्थीहरूप्रति आस्था, समर्पण र भरोसा गर्ने सर्वहारा श्रमजीवी, मजदुर, किसानसँगै आमवामपन्थी न्यायप्रेमी जनसमुदायहरूमा आशाको दियो पलाएको छ । एउटा अँध्यारो कुनाबाट अन्धकारविरुद्ध उज्यालो किरण अगाडि बढेजस्तो देखिन थालेको छ । यो जनताको अपार माया र भरोसालाई वामपन्थी नेतृत्वले आत्मसाथ गर्न सक्नुपर्दछ । राजनीतिमा झुट, जनतामा लुट र संगठनमा फुटको संशोधनवादी दृष्टिकोण त्याग्दै वाम एकता भत्कँदा आमनेता, कार्यकर्ता र जनतामा त्यसको राजनीतिक वैचारिक सैद्धान्तिक र भावनात्मक प्रभाव परेको देखिन्छ । हिजो गरिएको वामपन्थी एकता कि त गलत थियो भन्न सक्नुपर्यो कि त वामपन्थी विभाजन नै गलत हो भन्न सक्नुपर्यो ।

होइन भने वामपन्थी एकताको विपक्षमा उभिने छुट कुनै पनि नेतृत्वलाई छैन । वामपन्थीहरूको विभाजनले गर्दा देश र जनताले कस्तो ठक्कर बेहोर्नुपर्यो । हामी कति असफल भयौँ भन्ने ज्ञान नेतृत्वले जति चाँडो बुझ्न सक्यो त्यति नै छिटो नेपालका वामपन्थी शक्तिहरूको राजनीतिक उद्दार हुन सक्नेछ । नेतृत्वले इतिहासबाट पाठ नसिक्न पनि सक्दछ । तर, नेतृत्वले नसिकेको सजाय पार्टी, नेता, कार्यकर्ता वामपन्थी, प्रगतिशील र आमजनसमुदायहरूले भोग्नुपर्ने निश्चित छ । के वामपन्थीहरू संगठनहरू संरचनात्मक रूपमै बिग्रेका हुन त ? के अब वामपन्थीहरू कहिल्यै सच्चिदैनन् त ? यदि त्यो हो भने इतिहासको कठघरमा नेतृत्व पंक्तिमा रहनेहरू नराम्ररी असफल भएर उभिनुपर्नेछ । तर फेरी पनि वामपन्थी आन्दोलनका इतिहासमा विभिन्न अप्ठ्याराहरूको सामना गर्दै, सिक्दै, बुझ्दै र कमजोरीहरूमा आलोचित आत्मआलोचित हुँदै अघि बढ्दै आएको इतिहास सर्वविदितै छ ।

वामपन्थी आन्दोलनभित्र प्रर्याप्त जीवनशक्ति जीवितै छ । नेतृत्वले गरेका कमीकमजोरीहरू सुधार्दै जनतालाई इमानदारीपूर्वक हामीले कहाँ–कहाँ गल्ती गर्यौं भन्न सक्नुपर्दछ । जनतासँग माफी माग्नु सक्नुपर्दछ । फेरि पनि जनताले माफी दिएर अघि बढ्ने बाटो अवश्य दिनेछन् । कुनै पनि व्यक्ति सर्वगुण सम्पन्न हुँदैन भन्ने कुरा आजभन्दा अगाडि १७औँ शताव्दीमा नै खण्डन भएर आएको थियो । तर, आज २१औँ शताब्दीमा पनि वामपन्थी शक्तिहरूमा व्यक्ति सर्वेसर्वा हुन खोज्दा जनता, पार्टी र नेतृत्वबाट अलगिँदै गएको छ । त्यो तथ्यहरूलाई पनि वामपन्थी मुख्य नेतृत्वहरूले बुझ्न र आत्मसाथ गर्न जरुरी देखिन्छ । वामपन्थी नेतृत्व भनेको फराकिलो विचार भएको हुनुपर्दछ । जनतालाई स्वर्गको झुटो सपना देखाएर आफू भने नर्कको बाटोतिर अल्मलिने र साँघुरो विचार, सिद्धान्तलाई स्वीकार गरेर हिँड्ने नेतृत्वबाट आमकार्यकर्ता र जनतामा कस्तो प्रभाव पर्दछ ।

वामपन्थी आन्दोलनले हुर्काउँदै लगेको मध्यम वर्गीय प्रभूत्व बढी सक्रिय देखिन्छ । यो वर्ग विशेष त आफूभन्दा तल्लो वर्गलाई दबाएर राख्न खोज्ने र माथिल्लो वर्गलाई नाङ्गो रूपमा चाकडी गर्ने यो वर्ग समाजभित्रको एउटा जवर्जस्त चरित्र हावी भएको छ । यो वर्गको प्रवृत्ति वामपन्थी आन्दोलनभित्र जटिल भएर उभिएको देखिन्छ ।

यसलाई नेतृत्वले गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने टड्कारो आवश्यकता देखिन्छ । वामपन्थी आन्दोलनभित्र अनेकौँ ऐँजेरुहरू पलाएका छन् । नेतृत्वदेखि नै यसको समीक्षात्मक र आत्मआलोचना हुन जरुरी छ । वामपन्थी नेतृत्वमा पार्टीलाई बिर्ता, कार्यकर्तालाई दास र जनतालाई रैतीजस्तो सोच्ने मनोविज्ञान भत्काउन जरुरी छ । यसखाले जालझेल र तुजुकका कारण सुकेनास लाग्दै गएको गैरवामपन्थी दक्षिणपन्थी संशोधनवाद र यथास्थितिवादी शक्तिहरू रसिला, पोसिला र हट्टाकट्टा भएर आएका छन् । नेपालको राजनीतिक परिवर्तनको आन्दोलनका हरेक मोर्चामा वामपन्थी सक्तिहरू नै अग्रमोर्चामा रहेर आन्दोलनको नेतृत्वदायी भूमिका खेलेर आन्दोलनका आँधिवेरी सिर्जना गरेका विगत र वर्तमानहरू आमजनतासमक्ष प्रष्टै छ ।

नेपाली राजनीतिक मञ्चमा दक्षिणपन्थी संशोधनवादको आधुनिक रूप, रंग र गन्ध बदलिएको छ । यतिबेला देशको भौतिक परिस्थिति बुजुर्वा प्रजातान्त्रिक शक्तिहरूका लागि मात्र उपयुक्त भएको र जनताले खोजेको व्यवस्था नेपालको विशिष्ट परिस्थितिमा संसदीय भ्रमजालबाट पटक्कै मुक्त नरेको बेहोरा प्रष्टिन्छ । यो वामपन्थीहरूको विभाजनले दक्षिणपन्थी प्रतिक्रियावादीहरूलाई नै आफ्नो शासन सत्ता र शोषण गर्न लामो समयसम्म टिकाइराख्न मद्दत पुग्दछ ।

त्यसैले पनि जनताको भरोसालाई पुनर्निर्माण गर्दै मुलुकले भोगिरहेको शासकीय अस्थिरता, संवैधानिक र संसदीय अस्थिरताको अन्त्यका लागि पनि कम्युनिस्ट वामपन्थी शक्तिहरूबीच एकता अनिवार्य भएको छ । वामपन्थीहरूको घर झगडाका कारण हामी नीतिविहीनताको सिकार मात्र भएका छैनौँ, तत्कालीन शक्ति सन्तुलन कमजोर हुँदा विशेषतः कार्यनीतिक उद्देश्यमा पनि चुक्दै गएका सत्यताहरू हाम्रासामु छर्लंगै भएको छ । घरमा उपियाँ पर्यो भन्दैमा घरै आगो लगाउने संस्कार र घमण्डले हातमा खरानी लिएर बिलौना गर्नुको कुनै तुक रहने छैन । वाम आन्दोलनको विरासतमाथि फेरि पनि बज्रप्रहार गर्ने हो कि ? टुटफुट विभाजनबाट सृजित तथ्यलाई बुभ्mने र आत्मसाथ गर्ने हो ।

आपूmलाई सर्वहारा वर्गको पार्टी भनेर दावी गर्ने मध्यमार्गी परस्तवाद र अवसरवादको संगठित आधारहरू खडा गर्ने हो ? अब कुनै पनि नेतृत्वले सर्वहारा वर्गको आस्था, विचार, सिद्धान्त र आदर्शमाथि राजनीतिक दोहन गर्ने अपराधिक छुट छैन । अब हामी आमवामपन्थीहरू आधुनिक रहस्यवादको भ्रमजालबाट बाहिरिन जरुरी छ । नेतृत्वले इतिहासमा गरेका गलत दृष्टिकोणहरूलाई प्रदर्शनी मार्गमा प्रदर्शन गरेर अल्झनु भनेको वामपन्थी इतिहास वर्तमान र भविष्यलाई एकसाथ तिलाञ्जली दिनु हो ।

आज हामी भित्रको झगडाले दक्षिणपन्थी शक्तिहरू हावी भइरहेका छन् । जनताका एजेन्डा र राष्ट्रको स्वाधिनता दिनप्रतिदिन कमजोर हुँदै गएको देखिन्छ । नेतृत्वको नेतृत्व विहीनताले समाजमा वर्गीय जातीय र क्षेत्रीय सन्तुलनहरू खण्डित हुँदै भएका छन् । लोकतान्त्रिक गणतन्त्र हजारौँ फूलहरूको वास्ना हो भन्ने शक्तिहरू कमजोर हुँदै जाँदा लोकतान्त्रिक गणतन्त्र गन्ध हो भन्ने यथास्थितिवादी शक्तिहरूले टाउको उठाउन थालेका छन् । यसलाई परास्त गर्नु अबका कम्युनिस्ट पार्टीका कार्यकर्ताहरू नेताहरूका भजन मण्डली मात्र हुनु हुँदैन ।

नेपाल र नेपालीको भाग्य र भविष्य निर्माण गर्न मालेमावादको सार्वभौम विचार र सिद्धान्तलाई आत्मसाथ गर्दै द्वन्द्वात्मक भौतिकवादबाट प्रशिक्षित भएका वैज्ञानिकजस्ता देखिनु पर्दछ । उनीहरू आधुनिक विश्वविद्यालयका २१आँै शताब्दी सुहाउँदा विद्यार्थीजस्ता हुनुपर्दछ । सामन्ती पुँजीपति वर्गविरुद्ध संघर्ष गर्दै २१औँ शताब्दीको वैज्ञानिक समाजवाद हुँदै आधुनिक साम्यवादको यात्रामा अगाडि बढ्नु सम्पूर्ण वामपन्थी शक्तिहरू एक ढिक्का हुन सक्नुपर्दछ । समाजमा सबै खाले उत्पीडनको अन्त्य गर्दै सामाजिक न्याय, विधिको शासन र कानुनी राज्य स्थापनाका लागि पनि सम्पूर्ण वामपन्थी शक्तिहरूले समाजको दृष्टिकोण निर्माण गर्न सक्नुपर्दछ ।

जनताको स्तरबाट हेर्ने हो भने नेपालका वामपन्थीहरू जति टुटफुट र विभाजन भएता पनि जनताको विश्वास र वामपन्थीहरू प्रतिको अपार माया र आस्था भएका जो कम्युनिस्ट पार्टीको सदस्य हो । जोे कम्युनिस्ट पार्टीप्रति आस्थावान छ । जो कम्युनिस्ट पार्टीको सदस्य हो । जसले कम्युनिस्ट पार्टी निर्माणमा योगदान गरेको छ । जो वामपन्थी भविष्यप्रति समर्पित छ । जो लोकतान्त्रिक गणतन्त्रको पक्षमा दृढ छ । जो विकास र समृद्धिको पक्षमा उभिएको छ । उसले फेरि पनि नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरू एक ठाउँमा आएर वामएकता गरेर राष्ट्र निर्माणका ऐतिहासिक अभिभाराहरू पूरा गर्नु पर्दछ भन्ने पक्षमा देखिन्छन् ।

तर, विडम्बना स्वार्थ, अहंकार र दम्भले शिरदेखि पाउसम्म चुर्लुम्म डुबेका नेतृत्वहरू भने एकताको पक्षमा देखिँदैनन् । फेरि पनि सचेत नेतृत्व वर्गहरू विचलित नभई राष्ट्रको भविष्य र जनताको भाग्य वामपन्थीहरूको हातमा नै छ । यी सबै कार्यभार पूरा गर्नै इमानदारी, कुशल, सक्षम र देशभक्तिपूर्ण नेतृत्व राष्ट्रले खोजेको छ । वामपन्थी ध्रुवीकरणका निम्ति पार्टीका दोस्रो तहका नेतृत्वहरू एकताका सूत्रधार भएर उभिन सक्नुपर्दछ । वामपन्थीहरू कमजोर हुँदा नेपालको भूराजनीति विदेशी साम्राज्यवादी शक्ति केन्द्रहरूको क्रिडास्थल हुँदै गएको छ । इतिहासले दिएको जिम्मेवारी र हाम्रो सन्ततीको भविष्य दुवै जोखिममा पर्न थालेको देखिन्छ । समाजमा सामाजिक अन्तरविरोधले नै नयाँ पात्र र प्रवृत्तिहरू जन्माउँछ ।

त्यसको थालनी स्थानीय निवार्चनमा पनि देखियो, जसले बालेन र हर्कहरू जन्माइदिएको छ । यसलाई वामपन्थी शक्तिहरूले बुझ्न र जान्न जरुरी छ । फेरि पनि आमवामपन्थीवृत्तमा समीक्षात्मक विश्लेषणको खाँचो छ । एउटा सहमतिको ढोका खोल्न जरुरी छ । पुनर्विचारको आँखा खोल्न जरुरी छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना जुन उद्देश्यका लागि भयो ठूला–ठूला सशस्त्र र निशस्त्र आन्दोलनहरू जुन उद्देश्यका लागि भए । हजारौँ–हजार नेपालआमाका छोराछोरीहरूले जुन उद्देश्यका लागि आफ्नो बलिदान गरे । जसले यो परिवर्ननका लागि अंगभंग, अपांग भए के यो उद्देश्य यही दिन देख्नका लागि मात्र थियो त ? नेतृत्व भनेको यस्तो हुनुपर्दछ । कि देश मेरो घर हो ।

जनता मेरा परिवार हुन भन्ने जरुरी छ । घमण्ड र अहंकारकालाई त्याग्दा कमजोर हुँदैन । झन् बलियो भइन्छ । फेरि पनि लोकतान्त्रिक गणतन्त्र संविधानको रक्षा समानुपातिक समावेशी र धर्मनिपेक्षताको संरक्षण जनताको सार्वभौमसत्ता र स्वधीनता सहितको राष्ट्रिय अखण्डताको पक्षमा लिडर भएर उभिनका निम्ति वाम आन्दोलनलाई एकतावद्ध गर्दै वामपन्थी मोर्चा बनाएर निकट भविष्यमा आइरहेको संघ र प्रदेशको निर्वाचन अगाडि एउटा सहमतिको आधारहरू निर्माण गर्दै अघि बढ्न सक्नुपर्दछ । अन्यथा कोही कसैले पनि पछुताउने समय हामीले पाउने छैनौँ । एकतामै बल छ, टुटेर होइन जुटेर मात्र दक्षिणपन्थी संशोधनवाद र साम्राजवादलाई परास्त गर्न सकिन्छ । वामपन्थी एकताको मर्म र भावना यही विषयबाट प्रेरित भएको देखिन्छ ।

(लेखक नेकपा (माओवादी केन्द्र) का वागमती प्रदेश सचिवालय सदस्य हुनुहुन्छ )

प्रतिक्रिया