धनगढी उपमहानगरपालिकाको बजेट १ अर्ब ८३ करोड

धनगढी । सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाले आगामी आव २०७९/८० का लागि १ अर्व ८३ करोड ८९ लाख २४ हजारको बजेट सार्वजनिक गरेको छ । शुक्रबार उपमहानगरपालिकाको आठौँ नगर सभामा नगर उपप्रमुख कन्दकला रानाले सो बजेट प्रस्तुत गरेकी हुन ।

उपमहानगरपालिकाले सार्वजनिक गरेको बजेटमा चालुतर्फ १ अर्व ३ करोड १९ लाख ७० हजार र पूँजिगततर्फ ८० करोड ७० लाख ६२ हजार रहेको छ । बजेटको स्रोततर्फ आन्तरिक आय २६ करोड ७९ लाख २४ हजार,अन्तर सरकारी वित्तीय हस्तान्तरण संघीय सरकारबाट ९६ करोड ४८ लाख र प्रदेश सरकारबाट ३५ करोड ३४ लाख ५ हजार,राजस्व बाँडफाँडबाट ४७ करोड २९ लाख ३३ हजार र सरीआएको मौज्दात १० करोड रहने प्रस्तुत बजेटमा भनिएको छ ।

आर्थिक विकासतर्फ १४ करोड ४२ लाख ११ हजार (७.८४) प्रतिशत,सामाजिक विकास तर्फ ७४ करोड ७८ लाख ३६ हजार (४०.६४) प्रतिशत र पूर्वाधार विकासतर्फ ४५ करोड १० लाख ५२ हजार (२४.५) प्रतिशत बजेट विनियोजन गरिएको उपप्रमुख रानाले बताइन् ।

विकास खर्चलाई चालु खर्चमा परिवर्तन गर्न नपाइने उनले बताइन । उपप्रमुख रानाले करारमा कार्यरत कर्मचारीलाई पुनरावलोकन गर्दै प्रशासनिक खर्चको भार घटाउने र खरिद प्रक्रियालाई पारदर्शी बनाउँदै समयमै खरिद कार्य सम्पन्न हुने र आफ्नै आन्तरिक स्रोतले चालु खर्च धान्ने गरी आत्मनिर्भर उन्मुख बजेट कार्यान्वयन गर्ने व्यवस्था मिलाएको बताइन । उपमहानगरपालिकाले चालु आवमा १ अर्व ८१ करोड २८ लाख २२ हजारको बजेट ल्याएको थियो ।

प्रतिक्रिया