काठमाडौं । निरेन श्रेष्ठ नेपाली गीत संगीत क्षेत्रमा परिचित म्युजिक भिडियो निर्देशक हुन् । म्युजिक तथा चलचित्रको भिडियो निर्देशनमा व्यस्त उनले यस क्षेत्रमा सानैदेखि आफ्नो अभिरुचि रहेको बताए । श्रेष्ठले सानैदेखि नृत्य, अभिनय र स्टेज कार्यक्रम भाग लिन पाएको र आफ्नो रुचिको विषय भएको कारण अहिले सफल निर्देशकको रुपमा चिनिएको जिकिर गरे ।
म्युजिक भिडियो मात्र नभई चलचित्रमा समेत निर्देशन थालेका श्रेष्ठ पछिल्लो समय नेपाली कथानक चलचित्र ‘चौबन्दी’ को निर्देशनमा जुटेका छन् । काठमाडौंको बुढानिलकण्ठमा जन्मिएका निरेन सानै उमेरदेखि नृत्यमा अति सौखिन, अभिनय र फिल्मी क्षेत्रमा स्थापित कलाकार बन्ने ठुलो सपना बोकेको बताए । उनी भन्छन्, ‘२०६४ सालदेखि ज्योती फिल्म प्रालिमा मेरो बुवा भाइराम श्रेष्ठबाट नृत्य र अभिनयको औपचारिक प्रशिक्षण लिएर यो क्षेत्रमा लागेको हुँ ।’
२०६६ सालदेखि नै नेपाली फिचर फिल्ममा कथावस्तु अनुसार आबद्ध हुन सुरू गरेका उनले किरणदीप, लडाईको लाहुरे, पछुतो आदि चलचित्रमा अभिनय गरिसकेका छन् । उनले यो क्षेत्रमा विभिन्न अनुभव लिँदै ६८÷६९ सालदेखि मोडलिङको भूमिकाबाट गीति भिडियोमा काम सुरु गरेको बताए । उनले भने, ‘क्रमशः मोडलिङको अनुभव बटुल्दै गएँ । सयभन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेको छु ।’ श्रेष्ठले ०६२ सालदेखि ‘मरक मरक कम्मर’ बोलको गीतबाट निर्देशन डेब्यु गरेका थिए । उनले भने, ‘त्योबेलादेखि आजसम्म मैले मनोरञ्जन क्षेत्रमा काम गरिरहेको छु ।’ उनले अभिनेता राजेश हमालसँग पनि काम गर्ने अवसर पाएको सुनाए । दोहोरी, पप, आधुनिक, स्वदेशगान, भजनजस्ता हरधारका करिब तीन सयभन्दा बढी भिडियोमा निर्देशकको भूमिका निभाइसकेको उनले जानकारी दिए ।
भिडियो निर्देशन गरेवापत् विभिन्न संघसंस्थाबाट सम्मान तथा उत्कृष्ट निर्देशकको अवार्डसमेत पाएका उनले यसक्षेत्रमा जमेर लाग्ने बताए । उनले भने, ‘२०७६ सालदेखि नेपाली संगीत क्षेत्रलाई उत्थान र संरक्षण गर्ने हेतुले गीत संगीत भिडियो र चलचित्र क्षेत्रमा अत्यन्त सक्रिय जुझारु संस्था ज्योती फिल्म्स प्रालिको अध्यक्षको रुपमा ज्योती फिल्मस म्युजिक अवार्ड वितरण सुरू गरेको छु ।’
हालसम्म पहिलो, दोस्रो र तेस्रो संस्करण म्युजिक अवार्ड वितरण सम्पन्न गरिसकेको समेत उनले बताए । उनले यो क्षेत्रमा नआएको भए आर्मी बन्ने सपना रहेको सुनाए । बुबाको कारण यो क्षेत्रमा आएको बताउँदै उनले नृत्य गर्दै जाँदा पाएको माया तथा सद्भावले निर्देशक हुन पुगेको जनाए । उनले भने, ‘यस क्षेत्रमा लागेको १३ वर्ष भयो । यसले जिन्दगीलाई राम्रै सन्तृष्टि दिएको छ । भावी दिनमा यसै क्षेत्रबाट थप काम गर्ने विचार गरेको छु ।’
प्रतिक्रिया