महानगरले पूर्वाधार एम्बुलेन्स बिहान र बेलुका मात्रै चलाउने

काठमाडौं । सडकका खाल्डाखुल्डी पुर्न काठमाडौँ महानगरपालिकाले केही दिनदेखि सञ्चालनमा ल्याएको पूर्वाधार एम्बुलेन्सको प्रयोग अब बिहान र बेलुमा मात्र गर्ने भएको छ । दिउँसोको समयमा सडकमा मर्मतको काम गर्दा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेपछि कामपाले बिहान र साँझ मात्र सडकको खाल्डो पुर्ने भएको हो ।

महानगर प्रमुख बालेन्द्र साहको निर्देशनअनुसार विगत एक हप्तादेखि पूर्वाधार एम्बुलेन्स सञ्चालनमा आएको हो । यसको प्रयोग सडकका खाल्डा पुर्न गरिँदै छ । यसअघि फोहर बोक्ने दुई गाडीलाई रङ्ग लगाएर टिलिक्क बनाएपछि यसले गर्ने काम पनि बदलिएको हो । महानगरका इन्जिनियर कामदारसहित ६ जनाको टोली नागरिकको गुनासोअनुसार टोल–टोलमा पुगेर सडकको मर्मतको काम गर्छ ।

कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार कल सेन्टरमार्फत सडक पेटी, ढल, इँटा, ब्लकहरू बिग्रेको र भत्केको गुनासो आउनासाथ उक्त टोली तत्काल पुगेर काम सुरु गर्ने गरेको छ । अहिलेसम्म डल्लु, नयाँ बानेश्वर, बुद्धनगर र बालुवाटार क्षेत्रबाट धेरै गुनासो आएकाले उक्त क्षेत्रमा काम भइरहेको छ ।

प्रतिक्रिया