आर्थिक पारदर्शीताको माग गर्दा कुटाई

यस्तो पनि हुन्छ !

खोटाङ । विद्यालयमा आर्थिक पारदर्शीताको माग गर्दा एक शिक्षीकामाथि कुटपिट भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता प्राविकी शिक्षिका गोमा कार्कीमाथि प्रधानाध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी हुन् । विद्यालयको आर्थिक गतिविधि पारदर्शीताको विषयमा विवाद हुँदा प्रअ पौडेलले शिक्षिका कार्कीमाथि शुक्रबार विद्यालय व्यावस्थापन समितिको बैठकमा हातपात गरेकी हुन् । पौडेलले शिक्षिका कार्कीको पेटमा लात्तीले हान्दा गम्भीर चोट लागेको शिक्षिका कार्कीले बताइन् ।

निरन्तर पेट दुख्ने र पिसाब नरोकिने समस्या देखिएपछि कार्कीलाई जिल्ला अस्पताल दिक्तेलले शनिबार थप उपचारका लागि नोबेल अस्पताल विराटनगर रेफर गरेको छ । कार्कीलाई आफन्तले शुक्रबार रातिनै जिल्ला अस्पताल पु¥याएका थिए ।
घाइते शिक्षिकाका आफन्तले शनिबारनै जिल्ला प्रहरी कार्यालयमा पौडेलविरुद्ध उजुरी पनि दिएका छन् । बैठकमा विद्यालयको आयब्ययको विषयमा छलफल भएको थियो । सोही क्रममा पाठ्यपुस्तकको १० हजार आठ सय ८५, सीपको १५ हजार र मसलन्दको १५ हजार हिसाब देखाइएको थियो ।

यसैगरी, अडिटको १० हजार, मर्मतको नौ हजार, छात्रवृत्तिको चार हजार आठ सय, इन्टरनेटको १२ हजार, इन्टरनेट रिजार्चको १२ हजार, दिवा खाजाको ३४ हजार पाँच सय ९६ सहित एक लाख ३२ हजार नौ सय ३१ को आयव्याय देखाइएको थियो ।
सोही विषयमा जिज्ञासा राख्दा आफुमाथि कुटपिट भएको शिक्षिका कार्कीले बताइन् । कार्की पनि सोही विद्यालयकी पुर्वप्रधानाध्यापक हुन् । उनको यसअघि अप्रेशन गरिएको थियो । सोही ठाउँमा चोट लाग्दा स्वास्थ्य समस्या निम्तिएको अनुमान छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सकुन्तला खत्रीले आफु घटनाका बेला केही पर भएकाले लात्तीले हानेको नदेखेको बताइन् । ‘यो भन्दाअघिको बैठकमा पनि उहाँहरूबीच आर्थिक हिसाबको विषयमा विवाद भएको रहेछ,’ खत्रीले भनिन्, ‘शुक्रबारको बैठकमा पनि त्यही विषय निस्केर विवाद भएको हो । ठेलाठेल भएको देखेँ । पछि पेट दुख्यो भन्दै उहाँ (गोमा कार्की रुँदै हुनुहुन्थ्यो ।’

प्रतिक्रिया