युनाइटेड सिमेन्ट उद्योगको मारमा स्थानीय

धुवाँ, धुलो र ध्वनि प्रदूषणले बसाइँ सर्नुपर्ने बाध्यता

धादिङ । जिल्लाको धुनिबेसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीयलाई बसाइँ सर्नुपर्ने बाध्यता भएको छ । एमाले नेता तथा पूर्वमन्त्री मोतिलाल दुगडको स्वामित्वमा रहेको सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनिका कारण स्थानीय आजित बनेका छन् । सिमेन्ट उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणलाई नियन्त्रण गर्नेतर्फ कसैले ध्यान नदिँदा सिमेन्ट उद्योग आसपासका स्थानीयहरूलाई बसाइँ सर्नुपर्ने बाध्यता भएको उनीहरू बताउँछन् ।

केही वर्ष अघिबाट सञ्चालनमा आएको उक्त उद्योगबाट निस्कने प्रदूषण नियन्त्रण गर्नका लागि स्थानीयले पटकपटक विरोध, सुझाव र ज्ञापन पत्र बुझाउँदै आए पनि उद्योग सञ्चालक र उद्योगमा कार्यरत कर्मचारीहरूले त्यसलाई बेवास्ता गर्दा उक्त समस्या आएको स्थानीयहरू बताँउछन् । उद्योगबाट निस्कने सिमेन्टको धुवाँ र धुलोको मुस्लो सिधै मानवबस्तीमा आउने र त्योसँगै उद्योग सञ्चालन गर्दा ठूलो स्वरमा ध्वनी प्रदूषण हुने समस्या आएपछि अहिले धुनिबेसी नगरपालिका–९ जुगेडीवासीले हैरानी खेप्न बाध्य हुन परेको स्थानीयवासी बताउँछन् ।

धुनिबेसी नगरपालिका–९ जुगेडी घर भएकी स्थानीय रमा राईले उद्योगबाट निस्कने प्रदूषणले मानवबस्तीमा मात्र नभएर खेतीबालीमासमेत असर गरेको बताइन् । उद्योग सञ्चालनमा आएपछि उद्योग आसपासका मात्र नभएर उद्योगदेखि केही टाढाका मानवबस्तीमा समेत त्यसको असर परेको उनले बताइन् । उद्योग सञ्चालनमा आएपछि शरीर चिलाउन, रुघाखोकी बढी लाग्ने, ज्वरो आउने, एलर्जी भइरहने, धेरै रिस उठ्ने जस्ता समस्या उनी बताँउछिन् ।

उनले भनिन्, ‘मानव स्वास्थ्यमा त असर पारेकै छ, बारीमा तरकारी रोपे पनि फल्दैन, फले पनि खान मिल्दैन, तरकारीको पातभरी सिमेन्टको धुलो जमेको हुन्छ, हाम्रो ठाउँ कृषि क्षेत्र हो, फलपूmल फल्ने ठाउँ पनि हो, त्यही फलपूmल र तरकारी बिक्री गरेर हामी पालिन्थ्यौँ । तर अहिले त फलपूmल र तरकारीको उत्पादन नै हुन छाड्यो । सिमेन्टको धुलो र धुवाँका कारण आँप, लिची, केरा, कागती लगायतका फलफूलहरू फल लाग्दैगर्दा झरेर जान्छन् केही पनि फल्दैन ।’

अहिले उनीहरूले समूहगत रूपमै दबाब गर्ने अभियानसमेत चलाएका छन् । स्थानीय रमा राईको संयोजकत्वमा जुगेडी खाद्य अधिकार प्रभावित समूह बनाई उद्योगमा र धुनीबेसी नगरपालिकामा ज्ञापनपत्रसमेत पेस गरेको उनले बताइन् ।

जुगेडी खाद्य अधिकार प्रभावित समूहका सहसंयोजक रामृष्ण राईले उद्योग २४सै घण्टा चल्ने र रातको समयमा बढी ध्वनि र धुवाँ निकाल्ने हुँदा आपूmहरूलाई निदाउनै मुस्किल भएको बताए । ‘हामीले उद्योगलाई बारम्बार ध्वनि र धुवाँ धुलो नियन्त्रण गर्न भनेका छौँ, तर उद्योगका कर्मचारीहरूले त्यसको बेवास्ता गर्दै आएका छन्’, उनले भने, ‘सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलो बढेको हुँदा बाँच्नै मुस्किल परेको छ । मानव स्वास्थ्यमा र कृषि बालीमा पनि उस्तै असर परेको छ ।’

उता युनाइटेड सिमेन्ट उद्योगले भने उद्योग सरकारले तोकेको मापदण्डमा रही सञ्चालनमा रहेको दावी गरेको छ । रातीमा उद्योग सञ्चालन गर्दा अली बढी ध्वनि आउँने गरेको उद्योगका प्रतिनिधि अशोक आचार्यले बताए । यद्यपि औपचारिक रूपमा भने आपूmले बोल्न नमिल्ने आचार्यले बताए । अनौपचारिक रूपमा कुरा गर्दा भने उनले उद्योगको बचाउ गर्दै रातीमा उद्योग सञ्चालन गर्दा अली बढी ध्वनि आउनु स्वभाविक नै रहेको बताए ।

‘उद्योगमा विद्युत् जाने र आउने हुँदा उद्योगको अन्डरग्राउन्डमा जम्मा भएको धुलो र मेसिनबाट आउने धुवाँ एकैसाथ बाहिर निस्कने गरेको हो । त्यो धेरैबेर रहँदैन र त्यसले खासै असर गरेजस्तो लाग्दैन’, उनले भने । उद्योग स्थापनाको समयमा स्थानीयसँग उद्योगका प्रतिनिधिहरूले स्थानीयलाई रोजगारी दिने, स्थानीयले प्रयोग गर्दै आएको मोटरबाटोलाई पिच गरी उद्योगलेसमेत प्रयोग गर्ने, स्थानीयलाई कुनै किसिमको असर गर्न नदिने लगायतको सम्झौता गरे पनि अहिले उद्योगले भने उक्त सम्झौतालाई कार्यान्वयन गरेको छैन ।

प्रतिक्रिया