दुःखद् घटनामा मन्त्रीहरूको संलग्नता ?

संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला ओली गम्भीर विवादमा फँसेका छन् । संघीय सरकारका अर्थमन्त्री शर्मामाथि बजेट चुहावट गरेको आरोप लागेको छ । आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेटलाई अन्तिम रुप दिइन लाग्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर रेटमा जथाभावी गर्ने इजाजत दिएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको छ । यसैगरी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री ओलीमाथि अर्काको घरमा अनधिकृत रूपमा प्रवेश गरेर दुई जना महिलामाथि कुटपिट गरेको, दराज फोडेको, आपत्तिजनक व्यवहार प्रदर्शन गरेको आरोप लागेको छ ।

विवादमा आएका यी दुवै जना मन्त्री नेकपा माओवादी केन्द्रका हुन् । यी दुवै विवादहरू सामान्य खालका छैनन्, गम्भीर प्रकृतिका छन् । अर्थमन्त्री शर्मा संलग्न भएको भनिएको प्रकरण मुलुक माथिकै जघन्य अपराध मानिन्छ भने लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री ओली संलग्न भएको भनिएको प्रकरण सामान्य मनस्थिति भएको व्यक्तिबाट हुन सक्ला भनेर कल्पना पनि गर्न सकिन्न । मानिसिक रूपमा विछिप्त भएको व्यक्तिबाहेक अरूले सामान्यतया यस्ता हर्कत गर्दैनन् ।

मन्त्रीद्वय शर्मा र ओलीको नाम मुछेर प्रकाशमा आएका यी घटनाले देश र जनताको शीर निहुरिएको छ, तर यसको सत्यतथ्य छानविन नगरी यसै भन्न सकिने अवस्था छैन । राजनीतिक प्रतिशोध साध्न कसैले षड्यन्त्र गरेको पनि हुनसक्छ । तर, यति गम्भीर कुरा सतहमा आइसकेपछि अधिकार सम्पन्न आयोग बनाएर तत्काल छानविन गर्नु जरुरी छ । उनीहरू यस्ता घटनामा संलग्न भएका होलान् या नहोलान्, तर दुवैको पृष्ठभूमि तथा केही महिनाअघि आएका समाचार हेर्ने हो भने सर्वसाधारण जनताले पत्याउने अवस्था छ ।

अनधिकृत रूपमा नेपाल भित्रिन लागेको अमेरिकी डलर फुकुवा गर्न दिएको आदेश, नेपाल राष्ट्र बैंकका गर्भनरलाई निलम्वन गर्न अघि बढाएको हचुवा प्रक्रिया, विदेशी मुद्राको सञ्चिति रित्तिँदै गएको बेला अनावश्यक वस्तु आयत खुला गर्ने निर्णय लगायतका गतिविधि विश्लेषण गर्ने हो भने अर्थमन्त्री शर्माले बजेटलाई अन्तिम रूप दिन माफियाका प्रतिनिधिलाई जिम्मेवारी सुम्पिएको समाचार पत्याउनैपर्ने हुन्छ । यसगरी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री ओली मंगलबार साँझ ‘मेरो श्रीमानको निवास’ भन्दै जुन घरमा प्रवेश गरिन्, त्यसलाई पुष्टि गर्ने समाचार यस अघि पनि आएका थिए । ओली एकल महिला हुन्, केही महिनाअघि उनले एक परपुरुषसँग चुम्बन गरेको तस्बिर सार्वजनिक भएको थियो । मंगलबार बिहान उनी ‘मेरो श्रीमान’ भन्दै तिनै परपुरुषको घरमा पुगेको समाचार आएका कारण शंका गर्नुपर्ने ठाउँ धेरै देखिएको छ ।

मन्त्री पदमा आसिन व्यक्ति भनेको संस्था हो, एक हिसाबले भन्ने हो भने राज्य हो । यस्ता हर्कतमा मन्त्री संलग्न हुनु भनेको राज्य संलग्न हुनु हो । जब राज्य नै यस्तो हर्कतमा संलग्न हुन्छ भने जनताले सुरक्षाको अनुभूति कसरी गर्ने ? समाचारमा जे जसरी विवरण आएको छ, ठ्याक्कै त्यस्तै घटना नभएको पनि हुन सक्छ । तर, ‘हावा नचली पात हल्लिँदैन ।’ केही न केही गडबढ अवस्थ भएको छ । अर्थमन्त्री शर्माका सन्दर्भमा हेर्ने हो भने बजेटमा करका दायराहरू अस्वभाविक देखिन्छन् । उदाहरणका लागि तयारी सेनिटरी प्याड आयतमा ९० प्रतिशत भन्सार दर घटाइएको छ भने सेनिटरी प्याडको कच्चा पदार्थ आयातमा ३० प्रतिशत भन्सार लगाइएको छ । विदेशबाट आयत हुने प्याडभन्दा स्वदेशमा उत्पादन हुने प्याड महँगो बनाइएको छ । यो त उदाहरण मात्रै हो, विद्युतीय गाडी, फलामको तार निर्माण गर्ने कच्चा पदार्थ आयात लगायतका धेरै शीर्षकको करमा सन्तुलन गुमेको देखिन्छ ।

अर्थमन्त्री शर्मा प्रकरणमा अर्को डरलाग्दो समाचारसमेत आएको छ । माओवादी केन्द्रले अर्थमन्त्री परिवर्तन गर्न लागेको तर प्रधानमन्त्री शेरबहादुर देउवाको अनिच्छाका कारण रोकिएको समाचार आएको छ । प्रधानमन्त्री देउवा पत्नी आरजु राणा र उनका माइती खलकलाई रिझाएर अर्थमन्त्री शर्मा पार्टीभन्दा बलियो बनेको समाचारसमेत आएको छ । प्रधानमन्त्री देउवाको परिवार समेत यो प्रकरणमा मुछिएको आशंका उत्पन्न हुनु सामान्य होइन ।

प्रतिक्रिया