शैलुङ र भीमेश्वरको सिमानामा ट्रसको पुलको निर्माण

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका र भीमेश्वर नगरपालिकाको सिमानामा ट्रसको पुलको निर्माण गरिएको छ । सिविक फोरम टिबियसयु पिटिएपीको प्राविधिक सहयोग शैलुङ गाउँपालिका र झोलुंगेपुल क्षेत्रगत कार्यक्रमको आर्थिक सहयोगमा ट्रसको पुल निर्माण गरिएको हो । पुलको समुदघाटन शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ र उपाध्यक्ष पार्वती कार्की थापाले गरेका थिए । पुल निर्माण सम्पन्न भएसँगै शैलुङ गाउँपालिका–४ को मुलाबारी, सिरमाने कमेरेटोल लोकिल टोल र भीमेश्वर नगरपालिका–७ को पट माहान्काल, कैदले स्कुल जानलगायत तल्लो भेगका स्थानीयहरूको यात्रा सहज हुने भएको स्थानीय भरत ढुंगेलले बताए ।

पुल निर्माण भएसगै एक घण्टाको बाटो छोटिएपछि स्थानीयहरूमा खुसी छाएको छ । सिविक फोरम टिबियसयु पिटिएपी सामाजिक प्राविधिक सहयोग शैलुङ गाउँपालिकाको ४ लाख ९१ हजार १ सय, श्रमदान ७५ हजार ५ सय ५३ र झोलुंगेपुल क्षेत्रगत कार्यक्रम ३२ लाख ११ हजार ४२ रुपैयाँ गरेर कुल ३७ लाख ७७ हजार ६ सय ९६ रुपैयाँमा निर्माण सम्पन्न भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष बासुदेव चौलागाईंले बताए ।
चर्नावती पुल नामले चिनिने सो पुलको लम्बाइ ३२ मिटर रहेको छ । पुल निर्माण सम्पन्न भएसँगै नौ सय घरधुरीका ३ हजार ६ सय ४५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया