मनसुन वरदानकी अभिसाप ?

यस पटकको मनसुन विगतको भन्दा डेढ साता अघि देखि सुरु भएको छ । सामान्यतया नेपालमा असारको पहिलो साता मनसुन प्रवेश हुने गर्छ , तर यस पटक जेठकै चौथो साता प्रवेश गरेको छ । मनसुन प्रवेश गरे सँगै किसानहरुमा खुशी जागेको छ । उच्च पहाडी क्षेत्रमा धान रोपाँइ सुरु भइ सकेको छ । तराई क्षेत्रमा पनि समयमै धान रोपाँइ हुने सुनिश्चित भए पछि किसानहरु हर्षित छन् । यति मात्रै होइन जलविद्युत उत्पादन केन्द्रहरु पूर्ण क्षमतामा चल्न थालेका कारण नेपालबाट दैनिक करिव १० करोड रुपैंया बाराबारको विजुली भारत निर्यात हुन थालेको छ ।

बास्तवमा मनसुन भनेको नेपालका लागि निकै ठूलो बरदान हो । असार देखि असोजको दोस्रो सातासम्म मनसुनी वायुले नेपालमा ठूलो वर्षा गराउँछ । यही वर्षाका कारण नेपालमा वर्षभरीलाई पुग्ने पानीको आपुर्ति हुने गर्छ । मनसुन नहुँदो हो त नेपालमा जनजीवनको परिकल्पना पनि हुने थिएन । तर पछिल्ला समयमा त्यही मनसुन अभिसाप समेत बन्ने गरेको छ । बाढी पहिरोका कारण धनजनको ठूलो क्षति हुन थालेको छ । यस पटक त मनसुन सुरु हुँदा नहुँदै बाढी पहिरोको कारण दुखद समाचार आउन थालिसकेका छन् । राज्यका निकायहरुले समेत यस वर्षको मनसुनमा ठूलै धनजनको क्षति हुने आँकलन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनमा करिव २० लाख मानिस प्रभावित हुनसक्ने प्रक्षेपण गरेको छ । गत वर्षको मनसुनमा करिव १८ लाख मानिस प्रभावित भएका थिए । प्राधिकारणले मनसुनका कारण उत्पन्न हुने प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित बन्ने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको जनाएको छ ।

मौसम विज्ञान विभागले गरेको प्रक्षेपण अनुसार यो वर्ष प्रदेश १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी पानी पर्नेछ । तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । बागमती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना रहेको छ । गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको मौसम विज्ञान विभागले जनाएको छ । समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुन सक्ने जनाइएको छ । बाढी पहिरोबाट हुनसक्ने क्षति रोक्नका लागि भन्दै संघीय सरकारले मनसुनी वर्षका अवधीभर नयाँ सडक निर्माण नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।

मनसुनी वर्षा नेपालका लागि बरदान हो भन्ने कुरामा दुईमत छैन , तर मानवीय कमजोरीका कारण पछिल्ला दशकहरुमा मुनसुनी वर्षाले समस्या निम्त्याउने गरेको छ । मनसुनी वर्षा आँफैमा समस्या होइन तर नदी तथा खोला नाला अतिक्रमण गरेर घर बनाउने प्रवृत्तिलाई मनसुनी वर्षाले चिन्दैन । नेपालको अधिकांश भुभाग भीरालो छ । भिरालो भुभाग खोतलेर भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेका कारण सामान्य वर्षा हुनासाथ पहाडमा पहिरो जान्छ । त्यही पहिरोले बेसी क्षेत्र तथा तराइमा भयावह क्षति पु¥याउने गरेको छ । यसैगरी वनजंगलको विनासले पनि वाढी पहिरोको समस्या निम्त्यिाइरहेको छ ।

त्यसैले शर्तकर्ताका दीर्घकालिन नीति तय नगरेसम्म क्षति रोक्न सकिने अवस्था छैन । विज्ञान र प्रविधिका कारण मानवीय क्षति काम गर्न सकिने अवस्था रहे पनि भौतिक तथा आर्थिक क्षति रोक्न सकिने अवस्था छैन । कुन ठाउँमा कति परिमाणमा पानी पर्छ ? भन्ने कुरा तीन दिन अघि नै थाह पाउन सकिने प्रविधि विकास भइसकेको छ । नदी तथा खोलाको माथिल्लो क्षेत्रमा बाढी पहिरो आउना साथ तत्कालै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुचना प्रवाह गर्न सकिने गरी संचार प्रविधको विकास भएको छ । तर यतिले मात्रै पुग्ने अवस्था छैन । मनसुनको अवधीभर मौसमका कारण हेलिकप्टरद्धारा राहत तथा उद्धारको काम भरपर्दो हुन सक्ने अवस्था छैन । अधिकांश कच्ची सडकहरु वर्षायाममा नचल्ने भएकोले राहत तथा उद्धारका लागि चुनौति यथावत छ । मुख्य बस्ती तथा शहरहरु पक्की सडकको पहुँमा छन् , तर सडक नै पहिलो गएको वा पुल नै बगाएको अवस्थामा उद्धार तथा राहतमा समस्या हुने गरेको देखिएको छ । बैकल्पिक सडक निर्माण गर्न सकिने संभावना हुँदा हुँदै पनि लापरवाही हुने गरेको छ । यतिसम्मकी काठमाडौं, पोखरा जस्ता ठूला शहरसम्मको पहुँचका लागि समेत बैकल्पिक सडकहरु छैनन् ।

प्रतिक्रिया