नौबिसे–नागढुंगा सडकको अवास्था नाजुक

सवारी जाम र दुर्घटनाको उच्च जोखिम

धादिङ । त्रिभुवन राजपथ अन्तर्गतको नागढुंगा–नौबिसे खण्डमा सडकको दुरावस्थाका कारण चालक, यात्रु र स्थानीयले सास्ती खेप्न बाध्य भएका छन् । वर्षौंदेखि सडक मर्मत नहुँदा र सडकमा भएका खाल्डाखुल्डी नटालिँदा उत्पन्न हुने धुलो र धुँवाले मानवीय स्वास्थ्यमा गम्भीर असर त परेको छ नै साथै सवारी जाम र दुर्घटनाको उच्च जोखिमसमेत बढेको छ ।

विषेशगरी नागढुंगा–नौबिसे सडक खण्डमा भएका खाल्डाखुल्डीलाई बर्षौंदेखि नटालिँदा र भत्किएको सडकलाई मर्मत नगरिदिँदा सवारी र यात्रु सडक दुर्घटनाको उच्च जोखिममा परेको स्थानीयको गुनासो छ । त्यति मात्र होइन सडकको खाल्डाखुल्डीकै कारण सवारी साधनले उडाउने धुँलो र धुवाँको कारण सडक छेउमा विभिन्न पेसा र व्यवसाय गरेर बसेका स्थानीयको स्वास्थ्यमा समेत प्रतिकूल असर परेको छ ।

बाटोको छेउमा व्यापार गर्दै आएका उनीहरूलाई राजमार्गमा उड्ने अत्यधिक धँुवाधुलोले मानवीय स्वास्थ्यमासमेत गम्भीर असर परेको उनीहरू बताउँछन् । ‘सडकको जताततै खाल्डाखुल्डी छ, खाल्डाखुल्डीकै कारण धँुवा र धुलो उडाउँदै सवारी साधन गुड्छन्, बाटोको छेउमा व्यापार गरेका हामीहरूको स्वास्थ्यमा गम्भीर असर परेको छ । बिहान ५ बजेदेखि राती १० बजेसम्म धँुवा र धुलो खाँदै व्यापार नगरे खाने बाटो छैन, हामी चिन्तामा परेका छौँ’, सुरुङमार्ग छेवैमा होटल गर्दै आएकी कान्छीमाया पोखरेलले बताइन् ।

पोखरेलका अनुसार सुरुङमार्गको काम सुरुपछि भत्किएको त्यस सडकमा सडक विभागले पनि खासै ध्यान दिने गरेको छैन । त्यसो त सुरुङमार्गले पनि सडक मर्मतमा चासो दिएको छैन । केही समयअघिसम्म सुरुङमार्ग र सडक विभागका कर्मचारीलाई उक्त बाटो मर्मतका लागि घच्घच्याँउदा पनि मर्मतमा चासो नदिएपछि आफूहरू बिरक्तिएर बसेको उनको गुनासो छ ।

समयमा सडक मर्मत नभएका कारण धुँलो उडाउँदै यसरी नै सवारी साधन चौबिसै घण्टा गुड्छन् । सवारी साधनले उडाउने धुँलो धुवाँको कारण सडक छेउमा विभिन्न पेसा र व्यवसाय गर्नेको मात्र नभएर राजमार्ग आसपासका अधिकांश स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर परेको स्थानीय युवा कुशल कोइराला बताँउछन् ।

एता सडकभरी खाल्डाखुल्डी भएका कारण सवारी साधान सहज आवतजावत गर्न नसक्दा घण्टौँ सवारी जाम हुने गरेको सवारी चालकहरू बताउँछन् । राजधानी काठमाडांैसँगै जोडिएको उक्त सडकखण्डमा भएको खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको उच्च जोखिम बढेको सोही सडक खण्डमा नियमित सवारी साधन चलाउँदै आएका चालकहरूको गुनासो छ ।

सडकको बेहालका कारण पाइने सास्तीको कुनै तुलनै गर्न नसकिने यात्रुहरू बताउँछन् । यात्रालाई सुरक्षित बनाउन सडकको मर्मत संभार गर्न यात्रुहरूले पनि सरकारसँग आग्रह गरेका छन् । सडकको दुरावस्थाको असर चौतर्फी रहेको उनीहरूको भनाइ छ ।

घाम लाग्दा धुलाम्मे हुने उक्त सडकखण्डमा पानी पर्दा हिलाम्मे र चिप्लो हुने गर्दछ । जसले गर्दा गाडी र मोटरसाइकल चिप्लिएर दुर्घटना हुने जोखिम पनि उत्तिकै बढेको छ । त्यस्तै सडकको खाल्डाखुल्डीले गर्दा सवारी साधन बिग्रने गरेका छन् । गुडिरहेका सवारीसाधन बीच सडकमै बिग्रीदिँदा उक्त क्षेत्रमा दिँनहुजसो सवारी जाम लाग्ने गरेको छ । यात्रुहरूको सहजताका लागि उक्त सडक मर्मतमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।

प्रतिक्रिया