तीन बुँदे सहमतिसँगै बिनोद शाहीकाे शव उठाउने तयारी

अछामका बिनोद शाही मृत्यु प्रकरण

अछाम । अछामका किशोर बिनोद शाहीको शव ५ दिनपछि उठ्ने भएको छ । प्रशासन र मृतकका परिवारबीच तीन बुँदे सहमति भएसँगै शव उठ्ने प्रक्रिया सुरु भएको हो । बुधबार प्रशासन र पीडित परिवारका पक्षबीच तीन बुँदे सहमति भएको छ । शव पठाउने, पोष्टमार्टम गर्न पठाउने र अवस्था हेरेरर मुद्दालाई कानूनी प्रक्रिया लैजानेबारे तीन बुँदे सहमति भएको छ । सहमति पत्रमा हस्ताक्षार हुन बाँकी रहेको र हस्ताक्षर हुनेबित्तिकै शव उठाउने प्रक्रिया सुरु हुने प्रहरीले जनाएकाे छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानमा १७ वर्षीय शाही मृत भेटिएका थिए । उनी जेठ १७ गते राति रिठा टोलबाट हराएका थिए । लगत्तै परिवारले बिनोद हराएको र खोजबिन गरिदिन भन्दै प्रहरी कार्यालयमा निवेदन दिएको थियो । पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कालिकास्थानस्थित मध्यपहाडी लोकमार्गबाट १ किलोमिटर तल जंगलमा उनी मृत फेला परेका हुन् ।

शाहीको मोबाइल शवभन्दा माथि मध्यपहाडी लोकमार्गमा भेटिएको थियो । उनले लगाएको चप्पल भिरमा अड्किएको अवस्थामा भेटिएको थियो । शाहीको हत्या भएको र अभियुक्तलाई पक्राउ गरी कानूनी दायरामा नल्याएसम्म शव उठाउन नदिने भन्दै आफन्तले प्रदर्शन गर्दै आएका थिए ।

प्रतिक्रिया