किशोरलाई मारेको आरोपमा साँढे प्रहरी हिरासतमा !

खार्तुम । उटा अनौठो घटनामा दक्षिण सुडानमा एक १२ वर्षीय किशोरलाई मारेको अभियोगमा प्रहरीले साँढे र त्यसको मालिकलाई हिरासतमा लिएको छ ।

इन्डिपेन्डेन्टका अनुसार गत साता साँझको समयमा फार्मबाट फर्किने क्रममा साँढेले बालकलाई हानेको थियो । साँढेको चोटले बालकको घटनास्थलमै मृत्यु भएको थियो । प्राप्त विवरणअनुसार उक्त घटनाअघि सो साँढेले लेक्स स्टेटमा हलो जोतेको थियो ।

प्रहरी प्रवक्ता मेजर एलियाह माबोरले भने, ‘साँढे अहिले रुम्बेक सेन्ट्रल काउन्टीको प्रहरी चौकीमा हिरासतमा छ, किशोरको शव पोस्टमार्टमपछि अस्पतालबाट अन्तिम संस्कारका लागि घर पठाइएको छ ।’

सोही राज्यमा भेडाले ४५ वर्षीया महिलाको हत्या गरेको एक महिना नपुग्दै पछिल्लो घटना भएको हो । भेडाको आक्रमणमा गम्भीर महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । पछि भेडालाई थुनामा राखिएको थियो ।

भेडाको गिरफ्तारीबारे बोल्दै माबोरले भनेका थिए, ‘मालिक निर्दोष छन्, तर अपराध गर्ने भेडा पक्राउका लागि योग्य छ ।’

प्रतिक्रिया