पश्चिमा देशहरूले लामो दुरीको हतियार दिए आक्रमण तिब्र पार्छौ

रुस युक्रेन युद्ध

मस्को । किएभमा लामो दूरीसम्म प्रहार गर्न मिल्ने अस्त्रहरू पठाएमा आफूले युक्रेनमा आक्रमण गर्ने लक्ष्यको सूची विस्तार गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । युक्रेनको राजधानी किएभमा हप्तौँपछि भएको पहिलो हवाई हमलामा आइतवार केही भागहरूमा विस्फोट गराइएका बेला पुटिनको यस्तो भनाइ आएको हो ।
रुसले युरोपेली देशहरूबाट पठाइएका ट्याङ्कहरूमा आक्रमण गरेको बताएको छ, तर युक्रेनले रुसले रेलवे मर्मत केन्द्रमा आक्रमण गरेको जनाएको छ ।

युद्धकै अर्को घटनामा डोन्बास क्षेत्रको लडाइँमा एक रूसी जेनेरल मारिएका छन् । रुसले मार्चको अन्त्यमा किएभ क्षेत्रबाट फिर्ता गरेर आफ्ना सैनिकहरूलाई डोन्बास क्षेत्रमा पुनः केन्द्रित गरेको थियो । रुसले त्यस क्षेत्रमा ढिलो तर स्थिर गतिमा प्रगति गरिरहेको छ । उसले पूर्वी क्षेत्रको सयौँ किलोमिटर आफ्नो नियन्त्रणमा लिइरहेका बेला कैयौँ पश्चिमा देशले किएभमा थप शक्तिशाली र विकसित खालका अस्त्र पठाउने वाचा गरेका छन् ।

हालै मात्र अमेरिकाले एम–१४२ हाई मोबिलिटी आर्टिलरी रकेट प्रणाली (एचआईएमएआरएस) पठाउने घोषणा गरेको थियो । त्यसले हाल युक्रेनसँग रहेका त्यस्ता प्रणालीभन्दा निकै परसम्म र सटीक ढङ्गले निसानामा प्रहार गर्नसक्छ ।
त्यसको क्षमता ७० किलोमिटरसम्म प्रहार गर्नसक्ने रहेको बताइएको छ ।

ह्वाइट हाउसका अधिकारीहरूले युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ती प्रणालीहरू रुसी सीमाभित्र प्रहार गर्न प्रयोग गरिँदैन भनेर आश्वस्त पारेपछि मात्र किएभलाई उपलब्ध गराउन सहमत भएको बताएका छन् । अमेरिकी सैन्य सहायता प्याकेजमा हेलिकप्टर, ट्याङ्कविरुद्ध प्रयोग गरिने अस्त्रहरू, रणनीतिक सवारीसाधन र स्पेयर पार्ट्स पनि समावेश छन् ।

रुसी हवाई आक्रमणबाट पूरै सहरलाई जोगाउनका निम्ति युक्रेनलाई सक्षम बनाउन जर्मनीले आफ्नो सबैभन्दा आधुनिक वायु रक्षा प्रणाली आइरिस–टी पठाउने प्रतिबद्धता जनाएको छ ।

आइतवार रुसी सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पुटिनले भने, सामान्यतः मेरो विचारमा अतिरिक्त अस्त्र आपूर्तिबारे भइरहेका यी सबै हल्लाहरूको एउटै उद्देश्य छ– सकेसम्म धेरै समयसम्म सशस्त्र द्वन्द्वलाई लम्ब्याउनू ।
उनले अमेरिकाले अहिले के आपूर्ति गरिरहेको छ भन्ने कुरा नयाँ कुरा नभएको बताए । तर उनले लामो दूरीका क्षेप्यास्त्रहरू पठाउने कदमविरुद्ध चेतावनी दिँदै भने, यदि ती आपूर्ति गरिएमा हामी उपयुक्त निष्कर्ष निकाल्नेछौँ र ती लक्ष्यहरूमा हाम्रा अस्त्रहरू प्रहार गर्नेछौँ जहाँ हामीले अहिलेसम्म प्रहार गरेका छैनौँ ।

उनले त्यसका लागि आफूहरूसँग पर्याप्त अस्त्रहरू पनि रहेको बताएका छन् । युक्रेनी उपरक्षामन्त्रीले रुसलाई हराउनका निम्ति मद्दत गर्नका लागि अस्त्रहरूको निरन्तर आपूर्ति जारी राख्न पश्चिमी देशहरूलाई आग्रह गरेकी छन् ।

प्रतिक्रिया