केसलिया कोरिडोर बन्दै !

विराटनगर । प्रदेश–१ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयको विशेष पहलमा केसलीया कोरिडोर निर्माण हुने भएको छ । त्यसका लागि आगामी आर्थिक वर्ष (०७९/८०)को बजेटमा सहरी नदी कोरिडोर कार्यक्रमअन्तर्गत संघीय सरकारले बजेट विनियोजन गरेको हो ।

केसलिया खोला मोरङको विराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका तथा सुनसरीको दुहवी नगरपालिका, बर्जु गाउँपालिका सीमा क्षेत्र भएर बहने नदी हो । नदीको दुवै किनारमा कोरिडोर निर्माण गरी र बस्ती संरक्षण गर्न संघीय सरकारबाट बजेट विनियोजन भएको हो । कोरिडोर निर्माण अन्तर्गत प्रदेश–१ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले डिपिआर तयार गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग आग्रह गरिसकेको छ ।


विराटनगर महानगरले पनि केसलीयामा तटबन्ध निर्माण गरी तटबन्ध गर्ने बताउँदै आएको थियो । बजेट विनियोजनसँगै कोरिडोर निर्माणको काम अघि बढ्ने आन्तरिक मामिला तथा कानुनमन्त्री केदार मन्त्री कार्कीले बताए । ‘विपद्बाट नागरिकलाई सुरक्षित बनाउनका लागि ब्युटिफिकेसन सहितको कोरिडोर निर्माणको काम अघि बढ्दै छ’, मन्त्री कार्कीले भने, ‘त्यसको लागि डिपिआरको काम अघि बढेकाले केसलिया कोरिडोरका लागि चाँडै काम सुरु गर्छाैं ।’

प्रदेश सरकारले पनि यस योजनालाई प्राथमिकताका साथ नीति तथा कार्यक्रममा समेटेर लैजाने भएको छ । कोरिडोर निर्माणपछि नदीले निम्त्याउने विपद्बाट मुक्त हुनका साथै ब्युटिफिकेसनले सो ठाउँको पर्यापर्यटनको विकासमा टेवा पुग्नेछ । मन्त्री कार्कीले कोरिडोर निर्माणका लागि भारतको विहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद नेपाल भ्रमणमा रहँदा छलफल गरेका थिए ।

यस्तै योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, प्रदेश–१ आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो लगायतसँग पनि अवलोकनसहित कोरिडोर निर्माण गर्नका गहन छलफल भएको थियो । बर्सेनि केसलिया र सिंगिया खोलामा आउने वाढीका कारण महानगरपालिका क्षेत्र प्रभावित हुने गरेको छ । महानगरपालिकाका टोल वस्ती जोगाउन यी दुवै खोलामा दिगो तटवन्ध आवश्यक छ ।

प्रतिक्रिया