सरकारी विद्यालयको हालत न शिक्षक न विद्यार्थी

सल्यान । सरकारले सरकारी सेवा सुविधा प्राप्त विद्यायलयहरूलाई नमुना विद्यालय बनाउने भनेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । विद्यालय सञ्चालनको जिम्मा स्थानीय तहहरूलाई दिएर बालबालबालिकाहरूलाई गुणस्तरीय शिक्षा दिने सपना राज्यको छ । तर, लाखाँै रुपैयाँ खर्चेर बनाइएका सरकारी विद्यालयको हविगत हेर्दा लाग्छ विद्यार्थीहरू सरकारी विद्यालयमा पढ्न होइन शिक्षकको जागिर जोगाइदिन खोलिएका छन् ।
यस्तै दुर्दशा भएको विद्यालय हो जिल्लाको सदरमुकाममा जोडिएको नगरपालिका शारदा नगरपालिका–१४ ढारखानीमा रहेको कालिका आधारभूत विद्यालय । कक्षा ५ सम्म सञ्चालन भएको यो विद्यालयको परिसरमा जाँदा लाग्छ हाम्रा बालबालिका यो विद्यालयमा पढेर भविष्य बनाउन होइन धुलोमाटोसँग खेलेर समय कटाइरहेका छन् ।

देशमै रेशाविहिन भएको अदुवा उत्पादनका लागि प्रसिद्ध ढाँरखानीमा रहेको विद्यालय भवन जीर्ण अवस्थामा रहेका छन्, भवनका भित्ताहरू चर्किएका छन् । यति मात्र होइन विद्यालयमा न खानका लागि खानेपानी छ न शौचालय प्रयोग गर्नका लागि । विद्यालयमा पुग्दा धुलैधुलोले चिन्न नसकिने भएका बालबालिकाहरू देख्दा लाग्थ्यो बालबालिकाहरूले यही धुलोमा आफनो भविष्य कोर्न सक्लान् त । कक्षा ५ सम्म सञ्चालन भएको विद्यालयमा २३ जना विद्यार्थी मात्रै भर्ना भएका छन् । गत शैक्षिक सत्रमा ५७ जना विद्यार्थी भर्ना भएको भए पनि विद्यालयमा अहिले भने झण्डै दुई गुण कम विद्यार्थी भर्ना भएका छन् । विद्यालयमा भएको भर्ना रेकर्डअनुसार विद्यालयमा कक्षा १ मा चार जना, २ मा पाँच जना, ३ मा तीन जना, ४ मा तीन जना र ५ मा आठ जना विद्यार्थी भर्ना भएका छन् ।

विद्यालयमा स्थायी दरबन्दीका शिक्षकहरू छैनन् । विद्यालय कक्षा ५ सम्म सञ्चालन गरिएको भए पनि दुई जना राहत दरबन्दी र एक जना बालविकास सहयोगी शिक्षकबाट कक्षा सञ्चालन गरिएको छ । शिक्षा नियमावलीमा उल्लेख भएअनुसार पहाडी क्षेत्रमा एक शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने भए पनि यहाँभने तीन जना शिक्षकका लागि २३ जना विद्यार्थी रहेका छन् ।

स्थानीय तहमा दुईपटक निर्वाचन भइसक्दा पनि ग्रामीण क्षेत्रमा रहेका आधारभूत विद्यालयहरूको यो अवस्था सुधार नहुँदा स्थानीयहरू चिन्तित हुन थालेका छन् । बालबालिकालाई भोलिका कर्णधार भन्ने नारा लगाइएको भए पनि सरकारी विद्यालयमा हुने विभेद र उदासीनताले बालबालिकाहरूको भविष्य अन्यौलमा पर्ने अवस्था देखिन थालेको उनीहरूको भनाइ छ ।

‘म चार कक्षामा पढ्छु, हाम्रो कक्षामा तीन जना छौँ, आज स्कुलमा कोही आएका छैनन्, म मात्रै आएको छु’, कक्षा चारमा अध्ययनरत एक विद्यार्थीले भने, ‘गाउँभरीका सबै बोर्डिङमा जान्छन्, यो स्कुलमा त सर र बिद्यार्थी थोरै छम्, बस्ने ठाउँ राम्रो छैन्, पानीनि छैन्, शौचालयमा पानी हुँदैन ।’ घरको आर्थिक अवस्था कमजोर भएकै कारण बुबाआमाले आपूmलाई सरकारी विद्यालयमा नाम लेखाइदिएको उनको भनाइ छ । विगतका वर्षहरूमा यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूको संख्या धेरै भए पनि पछिल्लो समय भने दुई गुणाले घटेको शिक्षकहरू बताउँछन् । ‘सुरुका वर्षहरूमा विद्यार्थीहरूको संख्या राम्रो थियो । तर अहिले घट्दै गएको छ, यसको मुख्यकारण भनेकै न्यून जनशक्ति र जीर्ण संरचनाकै कारण हुन सक्छ’, विद्यालयका प्रधानाध्यापक तेजबहादुर कवरले भने ।

जीर्ण संरचना र दरबन्दी अभावका कारण विद्यार्थीहरूलाई आकर्षित गर्न नसकेको उनको भनाइ छ । ‘विद्यालय भवन जीर्ण छ, भित्ताहरू चर्किएका छन्, बसाइँ व्यवस्थापन राम्रो छैन्, विद्यालयमा खानेपानी छैन्, शौचालय अपुरो छ, त्यही पनि पानी नहुँदा प्रयोग गर्न सकिएको छैन, यस्तो अवस्थामा हामीले अभिभावकलाई यहाँ भर्ना गर्नुस भनेर भन्न सक्ने अवस्था भएन’, कवरले भने ।

कवरका अनुसार आर्थिक अवस्था राम्रो हुने व्यक्तिहरूले निजी विद्यालयमा पढाउने भएकोले सरकारी विद्यालयको सुधारमा चासो कम हुँदै गएको हो । अभिभावक र सरकारी पक्षले विद्यालय सुधारका लागि केही गर्न नसकेको विद्यालयको भनाइ छ । ‘विद्यालयमा आवश्यक पर्ने आधारभूत संरचना नै छैनन्, जसले गर्दा आफ्ना छोराछोरीलाई यहाँ पढाउन कोही मान्दैनन्, बर्सेनि विद्यार्थीहरूको संख्या घट्दै गएको छ, प्रधानाध्यापक कवरले भने, ‘एकल प्रयासले मात्रै सार्थकता नपाउने रहेछ, अब नयाँ जनप्रतिनिधि आएका छन् केही आशा गर्न सकिने ठाउँ छ ।’

अभिभावकले भने विद्यालयमा शिक्षकहरूको दरबन्दी थप गर्ने, भौतिक संरचनामा सुधार गर्ने, विद्यालय घेरबार गर्ने, पिउने पानी र शौचालयको व्यवस्थापन गर्ने, शैक्षिक गुणस्तर सुधारमा केन्द्रित भएर लागेमा मात्रै विद्यालयमा विद्यार्थीहरूलाई टिकाउन सकिने बताएका छन् । यसका लागि राज्यले लगानी गर्नुपर्ने र शिक्षक, विद्यार्थी र अभिभावकहरूका बीचमा त्रिपक्षीय सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनीहरूको भनाइ छ ।

प्रतिक्रिया