रुपन्देहीमा बस दुर्घटना : मृतक ९ मध्ये ४ जनाको पहिचान खुल्यो

बुटवल । रुपन्देहीको रोहिणीमा भएको बस दुर्घटनाका ९ जना मृतकमध्ये चार जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा रुपन्देहीको बुटवलस्थित योगिकुटीका ५६ वर्षीया बिष्णु पौडेल, बुटवल–११ कालिकानगरका कृष्णप्रसाद बस्याल र रौतहट जिल्लाका २० वर्षीया दिनेश दास छन् ।यस्तै, रुपन्देहीको ओमसतिया गाउँपालिका–४, मटेरियाका राजेन्द्रप्रसाद पाण्डेको पनि मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

सनाखत भएका चारमध्ये तीन जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र एक जनाको भीम अस्पतालमा मृत्यु भएको हो ।

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ४ : २० बजे भैरहवा–परासी सडकखण्डअन्तर्गत रोहिणी गाउँपालिका–३ र ओमसतिया गाउँपालिका–४ को सीमानास्थित पुलबाट रोहिणी नदीमा खसेको थियो । बसमा सवार ३३ जनामध्ये २५ जना पुरुष, ६ महिला र दुई बालिका थिए ।

दुर्घटनामा घाइते भएका २४ जनाको मेडिकल कलेज र भीम अस्पतालमा उपचार भइरहेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी नवरत्न पौडेलले बताए । घाइतेमध्ये १६ जनाको अवस्था सख्त र ९ जनाको अवस्था भने मध्यम रहेको उनले बताए । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया