यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई जनाको मृत्यु

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन पाटन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो ।

उनी मांग्री गाउँस्थित बुद्ध माविमा कक्षा ९ मा अध्ययनरत थिए । टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ गाउँपालिका– ७ का वडाध्यक्ष सशांक लामाले जानकारी दिए ।

एक साता नबित्दै यार्सा क्षेत्रमा लेक लागेर दुई जनाको अकालमा ज्यान गएको उनको भनाई । त्यस्तै, बुधबार यार्सा संकलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजबहादुर सिंहलाई कोइकी पाटनमा लेक लागेको थियो ।

लेक लागेर उनी विरामी भएका थिए । उनलाई थप उपचारको लागि नेपाली सेनाको हेलीकोप्टरबाट उद्धार गरी कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायब निरीक्षक हमालले जानकारी दिए । यार्सा टिप्न गएका सर्वसाधारणलाई लेक लागेर बिरामी हुने र तत्कालै उद्धार एवं औषधि उपचारको अभावमा वर्षेनी अकालमा धेरैको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया