जारको पानीको मूल्य बढाइयो

काठमाडौं । प्रशोधित पिउने पानी उत्पादकहरुले पानीको मूल्य वृद्धि गरेका छन् । बिहीबारबाट लागू हुनेगरी नेपाल बोतल वाटर इन्डष्ट्रिज एशोसिएसनले जार तथा बोतलको पिउने पानीको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

नयाँ मूल्य अनुसार, प्रशोधित पिउने पानीको १ लिटरको बोतलको फ्याक्ट्री मूल्य १६ रुपैयाँ कायम हुनेछ भने २० लिटरको १ जार पिउने पानीको मूल्य भने ४७ रुपैयाँ पर्नेछ । यसअघि वणिज्य विभागले बढाएर मूल्य तोक्न दिएको अनुमतिबाट घटाएरै नयाँ मूल्य तोकिएको एशोसिएसनले जनाएको छ ।

संसदीय समितिको अनुगमन, निरीक्षण एवं बजारको मूल्य वृद्धिका आधारमा नयाँ मूल्य तोकिएको एशोसिएसनको दाबी छ । २०७६ सालमा वाणिज्य विभागकै सहमतिमा तोकिएको नयाँ मूल्य विवादमा परेपछि रोकिएको र अहिले संसदीय समितिले अनुमति दिएपछि मूल्य समायोजन गरिएको एशोसिएसनले जनाएको छ ।

विभागले २० लिटरको जारको पानीको मूल्य ५० रुपैयाँ र बोतल बन्द १ लिटरको पानीको मूल्य १६ रुपैयाँ तोकेको थियो । बजारमा पानी उद्योगको प्रतिस्पर्धाका कारण सस्तोमा पानी बिक्री वितरण भइरहेको बेला विभागले बजार मूल्यभन्दा बढी मूल्य निर्धारण गरिदिएपछि पानीको मूल्य विवादमा परेको थियो ।

संसदको उपभोक्ता हित समितिले उपसमिति नै बनाएर मूल्य वृद्धिबारे अनुगमन गरेको थियो । वाणिज्य विभागले भने मूल्य वृद्धिबारे औपचारिक कुनै जानकारी नभएको बताएको छ । अनौपचारिक ढंगबाट पानीको मूल्य बढाएर पत्रकार सम्मेलन गरेको भन्ने सुनिए पनि औपचारिक रुपमा कुनै जानकारी विभागमा नआएको विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बताए ।

प्रतिक्रिया