नवरा–शारदा स्मृति समाजद्वारा १० लाखको अक्षयकोष स्थापना

काठमाडौं । पण्डित नवराज–शारदा स्मृति समाजले विविध सामाजिक कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । पण्डित नवराज पौडेलको जन्मजयन्तीको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रमबीच सोको घोषणा गरिएको समाजले जनाएको छ ।

आफ्ना अभिभावकका योगदानलाई मनन गर्दै उनीहरुप्रति सम्मान तथा समाजका लागि यथासक्य योगदान गर्ने लक्ष्यसाथ यो समाज स्थापना गरिएको बताइएको छ ।

कार्यक्रममा समाजका अध्यक्ष निर्मलराज पौडेलले संस्था गठनको पृष्ठभूमिका सम्बन्धमा प्रकाश पार्दै बुबा पण्डित पौडेल तथा आमा शारदा देवी पौडेलले दिएको संस्कार शिक्षा र अभिप्रेरणाकै कारण समाजका लागि केही योगदान पुर्याउन सक्ने अभिलाषाले उक्त संस्था स्थापना गरेको बताए ।

साथै, पण्डित नवराज पौडेलले सनातन धर्म संस्कृति तथा सामाजिक हितमा आफ्नो सारा जीवन समर्पित गरेको उनले उल्लेख बताए ।

बटुकहरुद्वारा स्वस्ती वाचन तथा विशिष्ट अतिथिहरुबाट पानसमा सामुहिक दीप प्रज्वलन तथा पण्डित नवराज पौडेलको तस्वीरमा माल्यार्पण गरी समाजको विधिवत् समुद्घाटनसँगै सुरु भएको सो कार्यक्रममा विभिन्न विशिष्ट अतिथिहरुद्वारा पण्डित पौडेलको व्यक्तित्व तथा योगदानबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा पण्डित पौडेलसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु तथा पौडेल परिवारका सदस्यहरुको समेत सहभागिता थियो ।

प्रतिक्रिया