बजेटमा चुनावको कुनै सम्बन्ध छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा चुनावको कुनै सम्वन्धन नभएको बताएका छन । सोमबार अर्थमन्त्रालयले आयोजना गरेको आर्थिक बर्ष २०७९/८९ को बजेट सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले सो कुरा बताएका हुन । अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गर्ने कुरा, आत्मनिर्भर अर्थतन्त्र बनाउने कुरा, तलव वृद्धि गर्ने जस्ता कुरा चुनावसँग सम्बन्धित छ भनेर कुन आधारले भन्ने भन्दै प्रतिप्रश्न गरेका थिए । उनले अघिल्ला सरकारहरुले ल्याएको कार्यक्रमलाई बजेटले निरन्तरता दिएको धारणा राखे ।

पत्रकारहरुले जानकारी गराउदै अर्थमन्त्री शर्माले भने,‘यो चुनावी बजेट हो भनिएको छ । यहाँ चुनावको कही कतै कुरा नै छैन, हिजोको बिषयलाई निरन्तर दिइएको हो । अलिकति तलमाथि गरेको बाहेक अरु केही गरिएको छैन ’ । तीन बर्षमा कर्मचरीको तलब बढाउदा चुनावी बजेट भन्न नहुने उनको जिकिर थियो । ऐनमै भएको व्यवस्था अनुसार तलव बढाएको पनि उनले स्पष्ट पारे ।
बजेटले युवा जनशक्तिलाई तालिम दिनुपर्छ भनेको स्मरण गराउदै उनले युवाहरुलाई तालिम दिनु, किसानलाई पेन्सन दिने कुरा गर्नुलाई चुनावी नारा भन्न नमिल्ने बताए । अर्थमन्त्री शर्माले भने,‘यो चुनावी कुरा होईन, उत्पादन बढाउने कुरा हो । चुनावी बजेट जे भनियो, यो चुनावी बजेट होइन । विगतकै बजेटको पनि निरन्तरता धेरै छन । ३ चार वर्ष अघिको सरकारले बनाएको बजेट पनि चुनावी बजेट हो त ?’

अर्थमन्त्री शर्माले सरकारको प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारनै बजेट आएको जिकिर गरे । उनले आगामी आर्थिक वर्षको बजेटमा रोजगारी सृजना गर्ने, गरिवीको अन्त्य गर्ने, हाम्रा स्रोत, साधनहरुको सही परिचालन र व्यवस्थापन गर्ने बिषयलाई समावेश गरेको बताए । नीति तथा कार्यक्रमले निर्देश गरे अनुसार बजेट ल्याइएको उनको भनाई थियो । बजेट गाउँको बाटो मात्रै नभई गाउँको रोजगारी पनि भएकोमा मन्त्री शर्माले जोड दिए ।
अर्थमन्त्री शर्माले स्वदेशी बस्तुको प्रयोग सरकारबाटै सुरु गर्ने विषयलाई बजेटमा उच्च प्राथमिकता दिइएको बताए । शर्माले भने, ‘अव सरकारले स्वदेशी वस्तुनै प्रयोग गर्नुपर्छ । विस्कृट देखी सेनिटाईजर र मास्क स्वदेशी आओस् ।’

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पूर्ण रुपमा कार्यान्वयन हुने दावी समेत उनले गरे । बजेटमा निर्माण व्यवसायीलगायतका केही विषयहरु छुटेको कुरा बाहिर आएको उल्लेख गर्दै त्यसलाई समेटेर अघि बढने प्रतिवद्धता मन्त्री शर्माको थियो । अर्थमन्त्री शर्माले बजेट पूर्ण र उत्कृष्ट नभएपनि देश र जनताको आकांक्षालाई सम्बोधन हुने गरी आएको बताए । शर्माले बजेटले आयात प्रतिस्थापन गर्ने, स्वदेशी उत्पादनमा जोड दिने, रोजगारीको अवसर सृजना गर्ने कामलाई प्राथमिकता दिएको धारणा पनि राखेका थिए ।

कार्यक्रममा योजना आयोगका उपाध्यक्ष विश्व पौडेलले बजेट विपन्न मैत्री रहेको बताए । उनले घर दैलोमा क्रण दिने अवधारण बजेटले समेटको र कृषि उद्योगलाई जोड दिएको धारणा राखे । त्यसैगरी नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले ७ प्रतिशतको मूल्यबृद्धिलाई लक्षित सिमाभित्रै राख्ने गरी मौद्रिक नीति ल्याउने बताए ।

प्रतिक्रिया