भ्रष्ट वडाध्यक्ष बालेनका मुख्य चुनौती

नेकपा एकीकृत समाजवादीले स्थानीय तह चुनावबाट विभिन्न पदमा निर्वाचित भएका आफ्ना जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ । उनीहरूले यही जेठ १७ गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्नेछ । एकीकृत समाजवादीले गरेको यो निर्णयपछि अन्य पार्टीका जनप्रतिनिधिलाई पनि सम्पत्ति सार्वजनिक गर्न दबाब पर्नेछ । स्वतन्त्र उम्मेदवारका लागि त झन् नैतिक दबाब पर्ने नै भयो । हाम्रो मुलुक अधोगतिमा लाग्नुका धेरै करणहरूमध्ये सबैभन्दा मुख्य कारण भ्रष्टाचार हो भन्ने कुरामा दुई मत छैन । भ्रष्टाचार मात्रै नियन्त्रण हुने हो भने केही वर्षभित्र अत्यावश्यक सम्पूर्ण भौतिक पूर्वाधार निर्माण गर्न सकिन्छ । विकासका भौतिक पूर्वाधार निर्माण हुनासाथ रोजगारी बढ्छ, उत्पादन बढ्छ, मुलुक आत्मनिर्भर हुन्छ । तर भ्रष्टाचार नियन्त्रण गर्ने कसरी त ? भन्ने प्रश्नको उत्तर सहज छैन । भ्रष्टाचार नियन्त्रणका लागि सबैभन्दा पहिलो सर्त हो जनप्रतिनिधिहरू इमानदार र आर्थिक रूपमा पारदर्शी बन्नु । जनप्रतिनिधिहरू इमानदार र पारदर्शी बने भने कर्मचारीहरूले हतपत्ति भ्रष्टाचार गर्न सक्दैनन् । सम्पत्ति विवरण सार्वजनिक गर्दैमा भ्रष्टाचारमा न्यूनता आउँछ भन्न सक्ने अवस्था छैन् ।

यो कुरा विगत केही वर्ष देखिको अभ्यासले चरितार्थ गरेको छ । संघीय तथा प्रदेश सरकारमा रहेका जनप्रतिनिधिले सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका छन्, तर भ्रष्टाचारमा कमी आएको छैन । सम्पत्ति विवरण सार्वजनिक गर्नु भनेको आर्थिक परदर्शिताको पहिलो खुड्किलो हो । आर्थिक पारदर्शिताका लागि त्यसपछिका खुड्किलाहरू निकै धेरै छन् ।
नेपालमा प्रादेशिक सरकार तथा अधिकार सम्पन्न स्थानीय सरकारको अभ्यास सुरु भएको भर्खर पाँच वर्ष बित्दै छ । यो अवधिलाई हेर्ने हो भने विगतमा केन्द्रीय तहबाट हुने गरेको भ्रष्टाचार अहिले प्रादेशिक तह तथा स्थानीय तहमा सरेको छ ।

विगतमा तृणमूलका जनताहरूले भ्रष्टाचार हुने गरेको सुनेका थिए, तर अहिले भ्रष्टाचार आफ्नै आँखाले देखेका छन्, भ्रष्टाचारीहरूसँग पनि प्रत्यक्ष संगत गरेका छन् । त्यसैले गत स्थानीय निर्वाचनको भन्दा यसपटक अली भिन्न नतिजा आएको छ । केही अपवादबाहेक विकल्प भएको ठाउँमा जनताले भ्रष्ट्राचारीलाई पुनः चुनाव जिताएका छैनन् । दोहो¥याएर चुनाव लड्ने मध्ये अधिकांशले चुनाव हारेका छन्, जसले जितेका छन् उनीहरू झन् धेरै मत पाएका छन् । तर भ्रष्टाचारकै आडमा दोहो¥याएर पद हत्याउनेहरूको संख्या पनि उल्लेख्य छ । केही भ्रष्टाचारीहरूलाई माफियाले नै दोहो¥याएर टिकट दिलाइदिएका र दोहो¥याएर चुनाव जिताइदिएका घटनाहरू पनि छन् ।

भ्रष्टाचार र बेथितिको अन्त्य गर्ने एजेन्डाका साथ स्वतन्त्र उम्मेदवार बनेर चुनाव जित्नेहरूको संख्या पनि यसपटक उल्लेख्य छ । जसमध्ये धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क राई र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह यतिबेला विशेष चर्चामा छन् । सरसर्ती हेर्ने हो भने धरानका नवनिर्वाचित मेयर राई र काठमाडौंका नवनिर्वाचित मेयर शाहलाई व्यक्तिगत स्वार्थका लागिसमेत भ्रष्टाचार गर्ने छुट छैन । उनीहरूलाई भ्रष्टाचारीहरूले काम गर्न देलान त ? भन्ने प्रश्न कम पेचिलो छैन । किनकी अधिकांश वडा अध्यक्षहरू पुरानै पार्टीका पुरानै अनुहारहरू छन् । स्थानीय स्तरमा भ्रष्टाचार बढेको मेयर तथा उपमेयरको तहभन्दा पनि वडा अध्यक्षहरूको तहबाट हो । मेयर र उपमेयरको हकमा ८० प्रतिशतभन्दा बढी नयाँ आएका छन् । तर वडा अध्यक्षको तहमा हेर्ने हो भने भ्रष्टहरू दोहोरिएर आएको देखिएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा हेर्ने हो भने यो अवस्था अझ कहालीलाग्दो छ । काठमाडौं महानगरपालिकामा सबै वडामा कांग्रेस र एमालेका उम्मेदवारहरूले चुनाव जितेका छन् । जसमध्ये धेरैजसो दोहोरिएका छन् । उनीहरूमध्ये अधिकांशको पाँच वर्ष अघिको सम्पत्ति र अहिलेको सम्पत्ति तुलना गर्ने हो भने कैयौँ गुणा वृद्धि भएको देखिन्छ । यस्तो टिम लिएर नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौं महानगरपालिकालाई कसरी भ्रष्टाचार मुक्त गर्लान् ? भन्ने प्रश्न कम पेचिलो छैन ।

प्रतिक्रिया