काँधमा ग्याँस र सडकमा बाइक डोराएर विरोध प्रदर्शन

पर्वत । महँगीको भार महिनाँै जस्तै बढेको हुनाले काँधमा ग्याँस र सडकमा बाइक डोराएर अनेरास्ववियु पर्वतले मूल्य वृद्धिको विरोध गरेको छ । पछिल्लो समय खाद्य बस्तु, डिजेल, पेट्रोलदेखि खाने तेलसम्म अस्वभाविक रूपमा बढेको हुनाले विरोधमा उत्रिनु परेको अनेरास्ववियुले जनाएको छ ।

पर्वतको कुश्मा नगरपालिका–६ मैत्रीचोकस्थित नेकपा एमाले जिल्ला पार्टी कार्यालयबाट पूर्व घोषित कार्यक्रमअनुसार अनेरास्ववियु जिल्ला कमिटी पर्वतको आयोजनामा विरोध कार्यक्रम गरिएको हो । अनेरास्ववियु जिल्ला कमिटी पर्वतका अध्यक्ष मोहन पौडेलको नेतृत्वमा अनेरास्ववियुका नेता कार्यकर्ताको उपस्थितिमा पेट्रोलियम पदार्थ लगायतका बस्तुहरूमा भएको अस्वभाविक मूल्यवृद्धिविरुद्ध नाराबाजी गरेका थिए ।

उनीहरूले मूल्यवृद्धि फिर्ता गर, देउवा सरकार मुर्दावाद, गठबन्धनको उपहार महँगी र भ्रष्टाचार, गठबन्धन सरकार मुर्दावाद, गठबन्धन सरकार राजीनामा दे, अनेरास्ववियु जिन्दावाद, लगायतका नाराहरूसहित पार्टी कार्यलयबाट प्रगति चोक–लोकतान्त्रिकचोक–पुरानो बजार–दुर्लुङ्ग चोक–साझा चोक हुँदै शिवालय चोकमा आई कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै अनेरास्ववियु जिल्ला अध्यक्ष मोहन पौडेलले गरिब र साधारण जीवनयापन गर्ने नेपाली नागरिकलाई परमादेशी सरकारले नालायकीपन देखाएको बताएका छन् । पौडेलले नेपाली नागरिकको विषयमा नसोचेको साथै भोकमरीको अवस्था सिजना हुने क्रियाकलाप गरेको यो सरकारले मूल्यवृद्धिलाई यथाशीघ्र छिटो समायोजन नगरेमा अनेरास्ववियु जुनसुकै कदम चाल्न पनि पछि नहट्ने बताए । कार्यक्रममा अनेरास्ववियु पर्वतका सचिव सुजन पौडेले पनि मूल्यवृद्धिको विषयमा सरकारप्रति आक्रोश व्यक्त गरेका थिए । अनेरास्ववियु केन्द्रीय कमिटीद्वारा निर्देशित कार्यक्रम पर्वतमा गरिएको जनाइएको छ ।

प्रतिक्रिया