अन्तत : सर्यो नवौँ राष्ट्रिय खेलकुद

काठमाडौं । नवौँ राष्ट्रिय खेलकुद प्रतिनिधि निर्धारित समयमा नहुने भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने भनिएको उक्त प्रतियोगिताको नयाँ मिति घोषणा गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको नयाँ मिति घोषणा गरेका छन् ।

घोषित नयाँ मितिअनुसार अब नवौँ राष्ट्रिय खेलकुद आगामी २८ असोजदेखि ३ कात्तिकसम्म आयोजना हुनेछ । सौर्य दैनिकले गत वैशाखमै नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन नसक्ने समाचार प्रकाशित गरेको थियो ।

प्रतियोगिताको तयारीका लागि अपर्याप्त समय, राजनीतिक परिस्थिति, स्थानीय तह निर्वाचनजस्ता कारणले नवौँ राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने सम्भावना निकै कम थियो । यद्यपि, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगिता निर्धारित समयमै आयोजना हुने दाबी गर्दै आएको थियो ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रतियोगिताको नयाँ मिति निर्धारण गरेको हो । यसअघि नवौँ राष्ट्रिय खेलकुद २२ देखि २८ जेठसम्म आयोजना हुने तय गरिएको थियो । मन्त्री गहतराजले मिति सार्नुको कारण प्रस्ट्याउँदै भने, ‘सार्वजनिक खरिद ऐन पालना गर्दै कामकाज अगाडि बढाउनुपर्ने भएकाले समय अपुग भयो । गण्डकी प्रदेशबाट पनि प्रतियोगिताको तयारीका लागि समय कम भएकाले थप समय माग भयो ।’

यसैगरी मधेस प्रदेशमा पनि खेलकुद परिषद् गठन भई नसकेकाले प्रतियोगिताको तयारी अगाडि बढाउन कठिनाइ भएकाले पनि नवौँ राष्ट्रिय खेलकुद केही समयलाई सार्नु परेको दाबी युवा तथा खेलकुदमन्त्रीले गरेका छन् । मन्त्री गहतराजले नवौँ राष्ट्रिय खेलकुदको धेरै महत्वपूर्ण काम अगाडि बढीसकेको बताउँदै मिति सरे पनि तयारीमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले नवौँ राष्ट्रिय खेलकुदको तयारीसम्बन्धी राखेपको ११२औँ बोर्ड बैठक बसी निर्देशिका तथा बजेटको प्रक्रिया अगाडि बढाएको बताउँदै लोगो, मस्कट र नारा छनोट गरी सार्वजनिक भइसकेको जानकारी दिए ।

सदस्यसचिव घिसिङले टिम छनोटका लागि पत्रचारलगायत कार्य सम्पादन भइसकेको पनि अवगत गराए । पत्रकार सम्मेलनमा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, राखेपका उपाध्यक्ष शिव कोइराला लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय खेलकुदको आठौँ संस्करण २०७५ सालमा नेपालगञ्जमा आयोजना भएको थियो । सोही प्रतियोगिताको समापन समारोहमा नवौँ बृहत् राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशलाई जिम्मेवारी हस्तान्तरण गरिएको थियो ।

प्रत्येक दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना हुने प्रावधान रहेको छ । तर, ०७५ सालमा आठौँ राष्ट्रिय खेलकुद भए पनि विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका प्रतियोगिताको नवौँ संस्करण प्रभावित बनेको थियो । नियमित समयमा प्रतियोगिता आयोजना भएको भए नवौँ बृहत् राष्ट्रिय खेलकुद २०७७ सालमै सम्पन्न भइसक्नुपर्ने थियो ।

नेपालमा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको ४१ वर्ष पूरा भइसके पनि हालसम्म आठ वटा संस्करण मात्र आयोजना हुन सकेको छ । प्रत्येक दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद आयोजना गर्ने भनिए पनि यसले निरन्तरता पाउन सकेको छैन । राष्ट्रिय खेलकुद प्रतियोगिता ०३८ सालदेखि सुरु भएको हो ।

प्रतिक्रिया