क्यानलाई वहिस्कार गर्ने ईपीएल टिमहरुको चेतावनी

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले एभरेष्ट प्रिमियर लिग (ईपीएल)को पाँचौं संस्करण आयोजनाका लागि स्वीकृति नदिएको भन्दै ईपीएलका फ्रेन्चाइज टिमका मालिकहरुले क्यानले आयोजना गर्ने अन्य प्रतियोगिताहरुमा असहयोग गर्ने चेतावनी दिएका छन् ।

सोमबार ईपीएल प्रालीले गरेको पत्रकार सम्मेलनमा ६ मध्ये ५ फ्रेन्चाइज टिम मालिकहरु उपस्थित थिए । उनीहरु सबैले नेपाल क्रिकेटको विषम परिस्थितिमा खेलाडीको उत्थानका लागि चार संस्करणसम्म गरेको योगदानको क्यानले अवमूल्यन गरेकोमा चिन्ता व्यक्त गरे ।

क्यानले असोजमा नेपाल टी–२० लिग क्रिकेट आफैंले आयोजना गर्ने घोषणा अघिल्लो साता गरेको थियो । कार्यक्रममा नेपाल टी–२० लिगबाहेक अन्य फ्रेन्चाइज प्रतियोगिता आयोजना नहुने प्रष्ट पारेपछि ईपीएल आयोजक झस्किएको हो ।
ईपीएलका सन्चालक अमिर अख्तरले फ्रेन्चाइज टिमका मालिकमार्फत क्यानलाई दवाव दिने गरी सोमबार गरेको पत्रकार सम्मेलनमा भने, ‘क्यान आफैंले आयोजना गर्ने प्रतियोगिताको हामी कहिल्यै विरोध गर्दैनौं । चार संस्करणसम्म आयोजना भएर स्थापित भइसकेको प्रतियोगिता निरन्तरता दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो । देशमा एकभन्दा बढी प्रतियोगिता हुँदा त खेलाडीलाई नै फाइदा हुने हो ।’

नले नेपाली क्रिकेट निलम्बनमा परेको समयमा ईपीएल आयोजना गरी क्रिकेटलाई गतिशील बनाउन र खेलाडीको उत्थानका लागि योगदान गरेको स्मरण गरे । सन् २०१६ देखि ईपीएल आयोजना हुँदै आएको छ । ईपीएलसँगै धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी देशमा तीनवटा फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिता आयोजना हुँदै आएका छन् ।

पत्रकार सम्मेलनमा उपस्थित ईपीएल फ्रेन्चाइज टिम ललितपुर प्याट्रियट्सका मालिक किशोर महर्जनले क्यानको निर्णयबाट आफूहरुलाई पीडा भएको बताए । ‘हामीले तत्काल प्रतिफलको आशा गरेर क्रिकेटमा लगानी गरेका होइनौं । यो त आफूलाई मनपर्ने खेलका लागि गरिएको सहयोग थियो,’ महर्जनले भने, ‘पाँच÷सात वर्षमा हामीले करोडौं लगानी गरिसकेका छौं । यसलाई लामो समयसम्म सन्चालन गर्ने र ठूलो उचाइमा पुर्याउने हाम्रो लक्ष्यमा धक्का लागेकाले चिन्तित भएका हौं ।’

ईपीएल चौथो संस्करणको विजेता चितवन टाइगर्सका मालिक किशोर भट्टराईले यो नेपाली खेलकुदकै न्यायको कुरा रहेको बताए । ‘नेपालमा नेतृत्व परिवर्तन भएपिच्छे खेलकुदको रणनीति परिवर्तन हुने गरेको छ । जसले गर्दा निजी क्षेत्र शशंकित हुन्छन् ।

क्यानले एकपल्ट पनि हामीसँग सल्लाह नगरी यस्तो निर्णय गर्दा निजी संस्थाहरुले खेलकुदमा किन लगानी गर्ने त ? भन्ने प्रश्न उठेको छ,’ भट्टराईले पत्रकार सम्मेलनमा भने ।

ईपीएलका अध्यक्ष अख्तरसहित छवटै टिमका मालिकले हस्ताक्षर गरेको प्रेश वक्तव्यमा ईपीएल आयोजनाको अनुमति नपाए यस प्रतियोगिताका लागि आवद्ध भएका सबै निजी संस्थाहरुले क्यानमार्फत आयोजना भएका सबै प्रतियोगिता वहिस्कार गर्ने उल्लेख छ । ईपीएलको पाँचौं संस्करण आगामी कात्तिक महिनामा आयोजना हुने यसअघि नै घोषणा भइसकेको छ ।

प्रतिक्रिया