धरान र धनगढीपछि जनकपुर

काठमाडौं । स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले चर्चा बटुलिरहँदा जनकपुर उपमहानगरमा पनि स्वतन्त्र उम्मेदवारले नै बाजी मारेका छन् । यसअघि दुईवटा उपमहानगर धनगढी र धरानको मेयरमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरिसकेका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा पनि स्वतन्त्र उम्मेदवार वालेन्द्र (वालेन) साहले आफ्नो अग्रता झनै फराकिलो बनाएका छन् । उपमहानगरको पछिल्लो घोषित परिणाम अनुसार, जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी विजयी भएका छन् ।

मनोज १३ हजार ४ सय ६५ मत ल्याउँदै धार्मिक नगरी जनकपुरको मेयरमा विजयी भएका हुन् । उनले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई ३ हजार ९ सय ३३ मतले पछाडि पारे । नेकपा एमालेका शिवशंकर साहले ९ हजार ५ सय ३२ मतमात्र ल्याउन सके ।
मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज चौधरीले ५ हजार ३ सय ६० मत ल्याए भने सत्तारुढ गठबन्धनमा आबद्ध दल जनता समाजवादी पार्टी (जसपा) का लालकिशोर साहले ५ हजार १ सय ९४ मत प्राप्त गरे ।

नवनिर्वाचित मेयर मनोज नेपाली कांग्रेसबाट आधिकारीक रुपमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारका रुपमा उठेका हुन् । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा जनकपुरको मेयर पद जसपाको भागमा परेको थियो । पार्टीबाट आधिकारी रुपमा टिकट नपाएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसअघि २०७४ सालमा भएको स्थानीय निकाय निर्वाचनमा पनि उनी मेयरमा उठेका थिए । तर, त्यतिबेला उनी पराजित भएका थिए ।

जनकपुरको उपमेयर पदमा भने नेपाली कांग्रेसका किशोरी साह विजयी भए । उनले १५ हजार ५ सय २५ मत प्राप्त गरे । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेकी रुणादेवी झाले भने १० हजार ८ सय ८५ मतमात्र प्राप्त गरिन् । उपमेयरमा लोसपाकी रिताकुमारी मिश्रले ५ हजार ८ सय १७ र स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरीले ३ हजार ७ सय ७२ मत प्राप्त गरे ।

यसअघि धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका थिए । उनले २६ हजार ८ सय ६५ मत ल्याएका थिए । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर वडले १४ हजार ८ सय १७ मत ल्याएका थिए ।
यसैगरी धरान उपमहानगरको मेयरमा पनि स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी भएका थिए । उनले २० हजार ८ सय २१ मत ल्याएका थिए । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका थिए ।

अब एउटा उपमहानगर तुल्सीपुरको मात्र अन्तिम परिणाम आउन बाँकी छ । हालसम्मको मतगणना अनुसार, तुल्सीपुरमा एमालेका टिकाराम खड्का १९ हजार ६ सय ९९ मतसहित अग्रस्थानमा छन् । उनका निकट्तम प्रतिद्वन्द्वी कांग्रेसका गेहेन्द्र गिरीले १७ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । उपमेयर पदमा एमालेकी स्यानी चौधरी १९ हजार १ सय १५ मतसहित अग्रस्थानमा छिन् । उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगबहादुर रानामगरले १३ हजार ३ सय ६ मत प्राप्त गरेका छन् ।
काठमाडौं महानगरको पछिल्लो मतपरिणम अनुसार, वालेनले ४३ हजार ८ सय ६० मत प्राप्त गरिसकेका छन् । उनी आफ्ना प्रतिद्वन्द्वीहरुभन्दा निकै अगाडि छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ र नेकपा एमालेका केशल स्थापितले २५ हजार ५९ मत ल्याएका छन् ।

काठमाडौंको मतगणना कार्य अन्तिम चरणमा पुगेकाले वालेनको जित लगभग निश्चित देखिएको छ । उपमेयरमा भने एमालेकी सुनिता डंगोल ४२ हजार ४ सय २८ मतसहित आफ्ना निकट्तम प्रतिद्वन्द्वीभन्दा २८ हजारभन्दा बढी मतले अगाडि छिन् ।
काठमाडौंसँगै अन्य महानगरको मतगणना पनि अन्तिम चरणमा पुगेको छ । ६ मध्ये ५ महानगरको अन्तिम परिणाम मंगलबारसम्म आइसक्ने सम्भावना देखिएको छ । विराटनगर महानगरमा भने यसअघि नै मेयरमा कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भइसकेका छन् ।

पोखरा महानगरको मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ४ हजारभन्दा बढी मतको अग्रता लिएका छन् । उनले ५२ हजार ९ सय ७२ मत ल्याएका छन् । उनका निकट्तम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर थापाले ४८ हजार ५ सय ६३ मत ल्याएका छन् । उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन् । उनले ५५ हजार ५ सय ४ मत ल्याएकी छन् । उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटको ५१ ह्जार ४ सय ८२ मत छ ।

भरतपुर महानगरको मेयरमा पनि गठबन्धन दल नेकपा माओवादी केन्द्रकी रेनु दाहाल १० हजारभन्दा बढी मतले अगाडि छन् । मतगणना अन्तिम चरणमा पुग्दा रेनुले ४४ हजार ३ सय ५ मत ल्याएकी छन् । एमालेका विजय सुवेदी ३४ हजार १ सय ७९ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा भने अन्तिम मतपरिणाम आउनुअघि नै कांग्रेसका चित्रसेन अधिकारी विजयी भइसकेका छन् । उनले ४५ हजार ४ सय ६८ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ २७ हजार ४६ मतसहित दोस्रो स्थानमा छिन् ।

वीरगञ्ज महानगरको मेयर पदमा भने सत्तारुढ गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह निकै अगाडि छन् । उनले हालसम्म ३९ हजार ६ सय ६१ मत ल्याएका छन् । एमालेका विजय सरावगी २० हजार २ सय ५ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा कांग्रेसका इम्तियाज आलम २५ हजार ५९ मतसहित पहिलो र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झा ६ हजार ६ सय ५० मतसहित दोस्रो स्थानमा छन् ।

यसैगरी ललितपुर महानगरको मेयरमा कांग्रेसका चिरीबाबु महर्जन जितको नजिक छन् । उनले हालसम्म ३५ हजार ५ सय ९५ मत ल्याएका छन् । एमालेका हरिकृष्ण ब्यञ्जनकार २० हजार ८ सय ६२ मतसहित दोस्रो स्थानमा छन् । उपमेयरमा एमालेकी मञ्जली शाक्य बज्राचार्य २० हजार ६ सय ९८ मतसहित पहिलो र माओवादी केन्द्रका बाबुराज बज्राचार्य १५ हजार २ सय ७४ मतसहित दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया