चैतभन्दा वैशाखमा घट्यो विलासी बस्तुको आयात

आयात दरमा लाग्यो ‘ब्रेक’

काठमाडौं । सरकारले विलासी वस्तुको आयातमा कडाई गरेपछि बैशाख महिनामा नेपालको आयात दरमा ‘ब्रेक’ लागेको छ । गत् चैत महिनाको तुलनामा बैशाखमा मात्रै २० अर्ब रुपैयाँभन्दा कम मूल्यबराबरको बस्तु भारतसहित तेश्रो मुलुकबाट आयात भएको छ । भन्सार विभागको तथ्याँकअनुसार २०७८ चैतमा १ खर्ब ५७ अर्ब रुपैयाँबराबरको बस्तु आयात भएकोमा बैशाखमा उक्त आयात दर घटेर १ खर्ब ३७ अर्बको मात्रै आयात भएको छ । यो तथ्याँक बिलासीतर्फको मात्रै हो ।


तथ्याँकअनुसार सरकारले आयातमा कडाई गरेपश्चात मोटरसाइकलको आयात निक्कै घटेको छ । यस्तै चिनी, डीएपी मल, सिमेन्ट क्लिंकर, स्वास्थ्य उपकरण, एमएस बिलेट, गहुँ, हातहतियार, धानको आयातसमेत केही परिमाणमा घट्दो छ । यस्ता बस्तुको आयातदर तुलनात्मक रुपमा घटेपनि पेट्रोल, डिजेल, एलपी ग्यास, शुद्ध फलाम, कच्चा पाम आयल, सुन, कच्चा भटमासको तेलको आयात दर भने बढेको छ । चालु आर्थिक बर्ष २०७८।७९ को १० महिना (२०७८ साउनदेखि २०७९ बैशाखसम्म) कूल बस्तुको आयात अंक १६ खर्ब ४ अर्ब ६५ करोड रुपैयाँबराबरको भएको छ । यो अंक गत् आर्थिक बर्षको यहि अवधीको तुलनामा २७.९५ प्रतिशतले बढी हो ।

अर्थात सरकारले आयातमा नियन्त्रण गरेपनि आयातको अंक भने घटनुभन्दा बढ्दै गएको देखाएको छ । गत आर्थिक बर्ष २०७७।७८ मा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँको बस्तु आयात भएको थियो । चालु आर्थिक बर्षको १० महिनाको अवधीमा भने नेपालबाट भारतसहित तेश्रो मुलुकमा १ खर्ब ७३ अर्ब ३४ करोड रुपैयाँबराबरको बस्तु निर्यात भएको थियो । (निर्यातको अवस्था इन्फोग्राफमा हेर्नुस्) अघिल्लो बर्ष यहि अवधिमा भने १ खर्ब ८ अर्ब रुपैयाँको निर्यात भएको थियो । तथ्याँकअनुसार नेपालबाट हुने निर्यात ५९.८ प्रतिशत भएपनि अत्याधिक परिमाणमा आयात भएका कारण व्यापार घाटा सन्तुलनका लागि यसले ठूलो भूमिका खेल्न सकेको छैन् ।


वैदेशिक व्यापारमा भएको बृद्धिले चालु आर्थिक बर्षको १० महिनासम्म भन्सार विभागको राजस्व संकलनमा केही बृद्धि भएको छ । विभागले यो अवधीमा कूल ४ खर्ब २५ अर्ब ६२ करोड रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ । गत् आर्थिक बर्षमा यहि अवधिमा भने ३ खर्ब ७१ अर्ब २५ करोड रुपैयाँ संकलन भएको थियो ।


आयातमा कडाइ हुँदा पनि सुध्रिएन विदेशी मुद्रा सञ्चितिको अवस्था

आयातमा कडाईका बाबजूद पनि विदेशी मुद्रा सञ्चितिको स्थितिमा सुधार आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत) को आयातको प्रवृत्ति हेर्दा नेपालसँग उपलब्ध ९ अर्ब ६१ करोड अमेरिकी डलर सञ्चितिले ६.६ महिनाको वस्तु र सेवाको आयात धान्न पुग्छ । नेपाल राष्ट्र बैंकले एलसीमा कडाइँ तथा आयातमा जाने कर्जाको जोखिम भार बढाउँदा पनि विदेशी मुद्रा सञ्चितिको अवस्थामा सुधार आउन सकेको छैन ।

साउनदेखि यता विदेशी मुद्राको सञ्चिति १८.२ प्रतिशतले घटेको छ । असार मसान्तमा नेपालसँग ११ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति थियो । डलरमा आधारित रेमिट्यान्स आप्रवाह गत वर्षको भन्दा २.२ प्रतिशतले घटेको भएपनि नेपाली रुपैयाँको डलरसँग अवमूल्यनका कारण नेपाली रुपैयाँमा परिवर्तन गर्दा रेमिट्यान्स गत वर्षको तुलनामा ०.६ प्रतिशतले मात्र घटेको छ । चालु आर्थिक वर्षको ९ महिना (साउनदेखि चैतसम्म) ७ खर्ब २४ अर्ब रुपैयाँ रेमिट्यान्स प्राप्त भएको छ ।

राष्ट्रिय उत्पादन दशक घोषणाको माग

नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले आगामी बजेटबाट एक दशकलाई राष्ट्रिय उत्पादन दशक घोषणा गर्न सरकारसँग प्रस्ताव गरेका छन् । विनियोजन विधेयक २०७९/८० को सिद्धान्त र प्राथमिकतामाथि संसदमा जारी छलफलमा भाग लिँदै थापाले शुक्रबार यस्तो प्रस्ताव गरेका हुन् ।
थापाले आगामी दशकलाई राष्ट्रिय उत्पादन दशक घोषणा गरी विभिन्न सात वटा क्षेत्रमा आत्मनिर्भर बन्न सकिने प्रस्ताव गरेका छन् । नेपालले मान्छे बेचेर सामान किनेको भन्दै यस्तो नीतिमा परिवर्तन ल्याउने गरी बजेट आउनु पर्ने बताए ।

थापाले धागो (कपडा उद्योग), जुत्ता, निर्माण सामग्री, कृषि–खाद्यान, वन, हस्तकला र नयाँ क्षेत्रलाई प्राथमिकता दिएर एक दशकलाई विशेष कार्यक्रम ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरे । यसमा दुई प्रकारको नीति लिन समेत उनले आग्रह गरे । एउटा ‘सफ्ट’ र अर्को ‘हार्ड’ नीतिको अवधारणामा जान उनले आह्वान गरेका छन् ।

‘सफ्ट’ मा राष्ट्रिय उत्पादन र उत्पादकत्व बढाउने, प्रविधि, प्रतिस्पर्धी क्षमता बढाउने जस्ता क्षेत्रमा काम गर्न सुझाव दिए । ‘हार्ड’ नीतिमा भने छूट र प्रोत्साहनको नीति ल्याउन आग्रह गरे । यस्तो नीति बनाउँदा रणनीतिक र औचित्यपूर्ण हुनुपर्ने उनको सुझाव छ ।

खाद्यान्न आयातमा कडाइ गर्न माग

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले बढ्दो आर्थिक संकटका विषयमा संसदमा गम्भीर छलफल गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा बिहीबार आगामी बजेटका सिद्धान्त र प्राथमिकतासम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै नेता रिजालले खाद्यान्न, लत्ताकपडा लगायतका आयातमा भइरहेको ठूलो खर्चले शोधनान्तर घाटालाई बढाएको भन्दै उनले कृषि उपज, खाद्यान्न, लत्ताकपडा आयात रोक्नुपर्ने बेला भएको बताए । ‘वार्षिक ३ खर्ब ३० अर्बको खाद्यान्न र कृषि आयात प्रतिस्थापन गर्न सोच्ने बेला आयो,’ रिजालले भने, ‘लत्ताकपडाको आयात ४० अर्बबाट बढेर १४५ अर्ब पुग्यो ।’

स्वास्थ्य तथा औषधि, इन्धन लगायतका वस्तुको आयात बढेको विषयमा गम्भीर भएर सोच्नुपर्ने रिजालले बताए । रेमिट्यान्स र भन्सार करबाट प्राप्त हुने राजस्व चलाउने जमातको जन्म भएको भन्दै उनले राजश्वको दुरुपयोग रोक्न पनि आग्रह गरे ।

‘पहिले विदेशी सहायता चलाउने जमात थियोे,’ नेता रिजालले भने, ‘अहिले रेमिट्यान्स र भन्सारबाट स्वतः प्राप्त हुने राजस्व जतासुकै चलाउन पाउने जमातको जन्म भएको छ ।’

पाम तेलको निर्यातमाथिको प्रतिवन्ध हट्यो

पाम तेलको ठूलो उत्पादक र निर्यातकर्ता मुलुक इण्डोनेसियाले निर्यातमा लगाएको प्रतिवन्ध हटाएको छ । तेलको मूल्य उच्च भएपछि गत वैशाख दोस्रो सातादेखि इण्डोनेसियाले पाम तेलको निर्यातमा प्रतिवन्ध लगाएको थियो । आगामी सोमबारबाट इण्डोनेसियाको पाम तेल निर्यात खुला हुने बीबीसीले जनाएको छ ।

इण्डोनेसियाले पाम तेलको निर्यात रोक्दा नेपाली बजार पनि त्यसबाट प्रभावित भएको थियो । बिस्कुट, साबुन, चाउचाउ लगाउतका उद्योगमा कच्चा तेलको रुपमा प्रयोग हुनुका साथै नेपालमा प्रशोधन भएर ठूलो मात्रामा पाम तेल भारत निर्यात हुँदै आएको थियो । पाम तेलको आयात प्रभावित हुँदा ठूलो लगानीका झण्डै दुई दर्जन प्रशोधन उद्योग र रोजगारी पनि समस्यामा परेको थियो ।

प्रतिक्रिया