इलामको सूर्योदयकाे प्रमुखमा एकीकृत समाजवादी र उपप्रमुखमा कांग्रेस विजयी

इलाम । इलामको सूर्योदय नगरपालिका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का रणबहादुर राई विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गठबन्धनका तर्फबाट उम्मेदवार बनेका राई १२ हजार ४ सय ३१ मतका साथ विजयी भएका हुन् ।

उनले निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार काजीमान कागतेलाई १ हजार ८ सय ५२ मतान्तरले पराजित गरेका हुन् । पराजित काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका छन् ।

निवर्तमान नगर प्रमुख हुन् भने कागते निवर्तमान प्रदेशसभा सदस्य हुन् । राईले तत्कालिन नगर प्रमुखबाट राजिनामा दिएर गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका थिए भने कागतेले पनि नगर प्रमुखमा उम्मेद्वार दिन तत्कालिन प्रदेशसभा सदस्यबाट राजिनामा दिएका थिए ।

यस्तै उपप्रमुखमा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार दुर्गाकुमार बराल ११ हजार ८ सय ५४ मतसहित विजयी भएका छन् । उनकी निकटतम प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले) की उम्मेदवार दुर्गादेवी भट्टराईले ९ हजार १ सय २२ मत ल्याएकी छन् । भट्टराई निवर्तमान नगर उपप्रमुख हुन् ।

४ नगरपालिका र ६ गाउँपालिका रहेको इलाममा २ नगरपालिका र ३ गाउँपालिकामा गठबन्धनका उम्मेद्वार विजयी भएका छन् भने २ नगरपालिका र ३ गाउँपालिकामा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको क्षेत्रमा पर्ने इलाम नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै गठबन्धनका तर्फबाट नेपाली कांग्रेस विजयी बनेको छ । प्रमुखमा कांग्रेसका केदार थापा र उपप्रमुखमा विष्णु दाहाल लिम्बू विजयी भएका छन् ।

त्यस्तै नेम्बाङकै निर्वाचन क्षेत्र चुलाचुली गाउँपालिका अध्यक्षमा पनि गठबन्धनका तर्फबाट कांग्रेसका राजेन्द्र केरुङ विजयी भए । उपाध्यक्षमा भने एमालेकी दिलु लावती विजयी भइन् । उता पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्रमा रहेको सन्दकपुर गाउँपालिका अध्यक्षमा गठबन्धनकै तर्फबाट कांग्रेसका तुलनाराम गुरुङ विजयी भए भने उपाध्यक्षमा एकीकृत समाजवादीका हरि लुङ्गेली विजयी भएका छन् ।

रोङ गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट सुवास स्याङ्बो विजयी भए भने उपाध्यक्षमा एमालेकी विष्णुमाया खवास विजयी भइन् ।

उता नेम्बाङकै क्षेत्रमा पर्ने अर्को १ नगरपालिका र २ गाउँपालिकामा भने एमालेले जित हासिल गर्न सफल भएको छ । देउमाई नगरपालिका प्रमुखमा एकालेका सुर्य पोख्रेल र उपप्रमुखमा पविमाया राई विजयी भएका छन् ।

माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी भए । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भए । फाकफोकथुम गाउँपालिका अध्यक्षमा एमालेकै दिपेन्द्र खनाल र उपाध्यक्षमा कल्पना राई विजयी भएका छन् ।

त्यस्तै पूर्व प्रधानमन्त्री एवम् नेकपा एसको क्षेत्रमा पर्ने माई नगरपालिकामा प्रमुखर उपप्रमुख एमालेले जितेको छ । प्रमुखमा एमालेका खम्बासिंह लिम्बू र उपप्रमुखमा हिमा भण्डारी विजयी भएका छन् ।

खनालकै क्षेत्र माईजोगमाई गाउँपालिका अध्यक्षमा समेत एमालेका कुशबहादुर थेवे विजयी भए । उपाध्यक्षमा भने गठबन्धनका तर्फबाट कांग्रेसकी प्रविना राई विजयी भइन् ।

प्रतिक्रिया