विश्वभर बढ्यो गहुँको मूल्य

नयाँ दिल्ली । भारतले निर्यात प्रतिबन्ध लगाएसँगै विश्वव्यापीरूपमा गहुँको मूल्य ह्वात्तै बढेको छ । भारतले निर्यात रोकेपछि गहुँको मूल्य बढेको बेलायती समाचार संस्था बीबीसीले उल्लेख गरेको छ । भारतको निर्णयसँगै गहुँको मूल्यमा उच्च वृद्धि आएको हो ।
निर्यात प्रतिबन्ध लगाउँदै भारतको केन्द्र सरकारले भनेको छ, ‘देशको खाद्य आवश्यक्ता पूर्ति गर्न निर्यात बन्द गरिएको हो ।’ यद्यपी, भारतीय सरकारी अधिकारीहरूका अनुसार यो प्रतिबन्ध स्थायी नभइ अस्थायी मात्र हो ।

भारतको गहुँ निर्यात प्रतिबन्ध लगाउने निर्णयसँगै जर्मनीका कृषि तथा खाद्य मन्त्री केम ओज्डेमिरले विरोध गरेका छन् । उनले जी सेभेनको सभामा बोल्दै भनेका छन्, ‘यदी सबै मुलुकले आफ्नो आवश्यक्ता पुरा गर्न निर्यात बन्द गर्ने हो भने आगामी दिनमा नराम्रो स्थिती आउन सक्छ ।’

खासगरी, रुस–युक्रेन युद्धका कारण यतिबेला विश्वभर गहुँको आपूर्ति व्यवस्था खलबलिएको छ । मूल्यवृद्धि भएसँगै भारतले आन्तरिक माग पुरा गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । यसअघि, इण्डानेशियाले पाम तेलको निकासी पूर्णरुपमा रोकेको थियो । आन्तरिक बजारमा तेलको मूल्य बढेको र त्यसलाई नियन्त्रण गर्नेभन्दै इण्डोनेशिया सरकारले पाम तेल निकासी रोकेको थियो ।

प्रतिक्रिया