दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनामा

लुम्बिनीमा निर्माण गरिएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सोमबारदेखि व्यावसायिक रूपमा सञ्चालन गरिएको छ । ०७१ सालमा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बुद्ध जयन्तीको अवशर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार उद्घाटन गरेका छन् । पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको करिब ७५ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु भनेको नेपालको हवाई यातायात क्षेत्रको नयाँ इतिहास हो । एकातिर एउटा मात्रै अन्तर्राष्ट्रिय विमानस्थल हुनु नेपालका लागि लज्जाको विषय बनिरहेको थियो, अर्कातिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुको चाप थेग्न नसकेका कारण नेपालको पर्यटन व्यवसायसमेत प्रभावित भइरहेको थियो । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा निर्माण हुनु नेपालका लागि गौरवको कुरा हो ।

भूकम्प, भारतको नाकाबन्दी, कोरोना कहरका कारण विमानस्थल निर्माण कार्य लम्बिएको थियो । दुई महिनाअघि नै परीक्षण उडान सम्पन्न भइसके पनि बुद्धजयन्तीका अवशरमा उद्घाटन गरी विश्वव्यापी सन्देश दिने उद्देश्यका साथ व्यावसायिक उडान सुरु गरिएको थिएन । उद्घाटन समारोहमा धेरै देशका विशिष्ठ अतिथिहरूलाई आमन्त्रण गरिए पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्य देशका विशिष्ट अतिथि आएनन् ।

भौगोलिक कारणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलभन्दा सुरक्षित, सस्तो र भरपर्दो मानिन्छ । तर, सस्तो र भरपर्दो हुन भारत सरकारको सहयोग अपिरहार्य देखिएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो व्यावसायिक उडान भारतबाट गरिएको भए धेरै राम्रो सन्देश जाने थियो । भारतका प्रधानमन्त्री मोदी उद्घाटन समारोहमा आपैmँ उपस्थित हुने भएकोले त्यो अनुमान पनि गरिएको थियो । तर लुम्बिनी आएका मोदीले उक्त विमानस्थल प्रयोग गरेनन्, उनका लागि छुट्टै हेलिप्याड निर्माण गरियो ।

गौतमबुद्ध विमानस्थलमा पहिलोपटक व्यावसायिक उडान गरेर इतिहास रच्ने अवशर जजिरा एयरवेजले प्राप्त ग¥यो । जजिरा सोमबार बिहान ७ः१० मा भैरहवामा अवतरण गरेको हो । जजिराले भैरहवा–कुवेत हप्ताको तीन उडान गर्ने भएको छ । त्यसअघि सोमबार बिहान ६ः५५ मा नेपाल एयरलाइन्स को एयरबस ३२० जहाज अवतरण गरेको थियो । भारतले भैरहवाका लागि सिधा हवाई मार्ग नदिँदा काठमाडौंकै लागि प्रयोग भइरहेको मार्गबाट जजीराको जहाज विमानस्थल पुगेको थियो । सिमरा नजिकैबाट जहाज भैरहवा पुग्दा धेरै घुम्नुपरेको छ । नेपालले मागेको नेपालगञ्ज या धनगढी क्षेत्रबाट एउटा रुट भारतले दिने हो भने पश्चिमबाट आउने जहाजलाई अवतरणका लागि आकाशमा फन्को मारिरहनु पर्दैन, जसका कारण यात्रुको भाडासमेत कम हुन जान्छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु हवाई उडान क्षेत्रको लागि मात्रै नयाँ इतिहास होइन, समग्र देशकै लागि नयाँ फड्को हो । राजधानी काठमाडौं उपत्यकाको विकल्पमा अर्को आर्थिक केन्द्र निर्माण हुनु पनि हो ।

लुम्बिनी, पोखरा, चितवन आउने पर्यटकहरूले गौतमबुद्ध विमानस्थल प्रयोग गर्नेछन् । यसैगरी देशका अधिकांश भूभागबाट वैदेशिक रोजगारी तथा अध्ययनका लागि जाने युवाहरूले पनि यही विमानस्थल प्रयोग गर्न सक्छन् । भौगोलिक हिसाबले पनि भैरहवा क्षेत्र धेरै नेपालीका लागि काठमाडौंभन्दा पायक पर्छ । एकातिर काठमाडौं उपत्यकामा भइरहेको जनघनत्वको वृद्धि रोकिन्छ भने अर्कातिर रूपन्देही तथा त्यस आसपासमा व्यवस्थित सहरीकरण गर्न सकिन्छ । किनकी अब रूपन्देहीमा विभिन्न स्तरका होटलहरू खुल्नेछन्, विदेशमा विद्यार्थी पठाउने, रोजगारीका लागि युवा पठाउने कम्पनीहरूका कार्यालय पनि रूपन्देही क्षेत्रमा खुल्नेछन् । जनसंख्या वृद्धिसँगै उपभोग पनि वृद्धि हुने भएकोले रूपेन्देही क्षेत्रका बजारहरू विस्तार हुन्छन् ।

त्यसो त विगत ५० वर्षको तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी जनसंख्या वृद्धि भएको क्षेत्र भनेको चितवनदेखि दाङ सम्मको क्षेत्र हो । अब यो क्षेत्रमा जनसंख्या वृद्धि ह्वात्तै बढ्न सक्छ । सरकारले पनि यहीअनुसार सहरी विकास तथा पूर्वाधारका योजना ल्याउन ढिलाइ गर्नु हुन्न । अर्को महत्वपूर्ण कुरा के हो भने भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिवासमा आइपुगेको रेलमार्गलाई जतिसक्दो छिटो चितवन हुँदै भैरहवा र नेपालगञ्ज पु¥याउनु पर्छ । अनि मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले नेपालको भाग्य बदल्न सक्छ ।

प्रतिक्रिया