अपर हेवाको आइपिओ

काठमाडौ । अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आयोजना प्रभावित र सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्यमा २० करोड रुपैया बराबरको २० लाख कित्ता सेयर जारी गर्ने जनाएको छ । कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड नियुक्त गरिएको छ ।

कम्पनीले संखुवासभा जिल्लामा बुट मोडल अन्तर्गत ८.५ मेगावाटको रन–अफ रिभर अपर हेवाखोला साना जलविद्युत आयोजना बनाइरहेको छ । आयोजनाको प्रवर्धन विभिन्न संस्था तथा पृष्ठभूमिका व्यक्तिहरूले गरिरहेका छन ।

सो हाइड्रोपावरको बोर्डमा ६ जना निर्देशक छन । कम्पनीका अध्यक्ष केशवबहादुर रायमाझी रहेका छन । उनीसँग जलविद्युत क्षेत्रमा १० वर्ष र बैंकिङ क्षेत्रको विभिन्न पदमा काम गरेको अनुभव रहेको छ । कम्पनीको प्रबन्ध निर्देशकमा देदराज खड्का छन उनीसँग जलविद्युत क्षेत्रमा दुई दशक बढि कार्य गरेको अनुभव रहेको छ ।

हाल आयोजनाको ९८ प्रतिशत बराबार काम सम्पन्न भइसकेको छ । एक अर्ब ४० करोड ९० लाख रूपैयाँ लागतको यो आयोजनामा करिब २ महिना अघि सम्म एक अर्ब २४ करोड ५० लाख खर्च भइसकेको छ । कम्पनीले उत्पादन गर्ने विद्युत सुख्खायामको लागि ८ रूपैयाँ ४० पैसा र वर्षाको समयमा ४ रूपैयाँ ८० पैसामा खरिद सम्झौता गरिएको छ ।

प्रतिक्रिया