दोलखा । तामाकोसी गाउँपालिका–२ मा वडाध्यक्ष उम्मेदवारको आकांक्षा देखाएका पुराना नेता ईश्वर कार्कीलाई कांग्रेसले टिकट दिएन । सामाजिक क्षेत्रमा क्रियाशील उनी बलियो जनाधार भएका स्थानीय नेता थिए । तर, कांग्रेसले प्रकाश पाख्रिनलाई उम्मेदवार बनायो । पार्टीले टिकट नदिए पनि कार्कीले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएर बाजी मारेका छन् । ‘छरछिमेकी दाजुभाइको समर्थन थियो । त्यही बलले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘उहाँहरूकै साथमा आज जित हासिल गरेको छु ।’
चुनाव चिह्न कैची पाएका थिए कार्कीले । अध्यक्षसहित टिमको उम्मेदवारी दिएर निर्वाचनमा होमिएका उनीहरूलाई स्थानीयहरूको समर्थन बढ्दै गएको थियो । स्वतन्त्र उम्मेदवारी दिएका कार्कीसहित वडा सदस्य उनीहरूको प्रस्तावक समर्थकसहित उनको समर्थन गर्ने जिल्ला नेताहरूलाई कांग्रेसले निष्कासनसमेत गरेको थियो । उनलाई कारबाहीले कुनै प्रभाव पारेन ।
नेकपा एमालेका उम्मेदवार मीनबहादुर तामाङलाई १ सय ८८ मतले हराउँदै कार्की वडा अध्यक्षमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार तामाङको ३ सय ६४ र स्वतन्त्र उम्मेदवार कार्कीको ५ सय ५२ मत आएको थियो । यसैगरी दुई नगरपालिका र सात गाउँपालिका रहेको दोलखामा हाल तामाकोसी गाउँपालिका–२ सहित १० वटा वडाका मत परिणाम सार्वजनिक भएको छ । जसनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले तीन÷तीन वटा वटा, नेपाली कांग्रेसले दुई वटामा र नेकपा एकीकृत समाजवादीले एक वडामा विजयी हासिल गरेको छ ।
एमालेले कालिञ्चोक गाउँपालिका–१, तामाकोशी गाउँपालिका–१ र बैत्यश्वर गाउँपालिका–८ मा विजयी भएको छ । नेकपा माओवादीले केन्द्रले जिरी नगरपालिकाको २ र ३, गौरीशंकर गाउँपालिकाको १ नम्बर वडामा विजयी भएको छ ।
नेपाली कांग्रेसले भीमेश्वर नगरपालिको–१ र जिरी नगरपालिकाको–१ मा विजयी भएको छ । नेकपा एकीकृत समाजवादीले मेलङ गाउँपालिका–२ मा विजयी हासिल गरेको छ । बाँकी मतपरिणाम आउने क्रम जारी रहेको छ ।
प्रतिक्रिया