मतगणनामा अस्वभाविक ढिलाइ

सरकारको सहयोगमा हुने मतदानको काम निर्वाचन आयोगले सन्तोषजनक रूपमा सम्पन्न गरेको छ, तर आफैँले गर्नुपर्ने मतगणनाको काममा भने निर्वाचन आयोग विगतको भन्दा पनि असफल देखिएको छ । एक घण्टामा सरदर डेढ सय मत गणना गरिएको छ । यही रफ्तारमा गणना हुने हो भने काठमाडौं महानगरपालिकाको मत गणना सम्पन्न हुन करिब एक महिना लाग्ने देखिन्छ । यसैगरी अन्य महानगरपालिकाको मत गणना सम्पन्न हुन करिब १५ दिन र उपमहानगरपालिकाहरूको मत गणनासम्पन्न हुन करिव १० दिन लाग्ने देखिन्छ । ०७४ सालमा भएको निर्वाचनमा काठमाडौं महानगरको मतगणना गर्न १४ दिन लागेको थियो । त्यतिबेला मतगणनामा ढिलाइ भएपछि निर्वाचन आयोगले हस्तक्षेप गर्दै छिटो गणना गर्न निर्देशन दिएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा परिणाम आउन ढिलाई भएकै कारण यसपटक आयोगले मुख्य निर्वाचन अधिकृतहरूलाई सात दिनभित्रै मतगणना सम्पन्न गर्ने गरी व्यवस्थापन मिलाउन निर्देशन दिएको थियो । तर, मुख्य निर्वाचन अधिकृतहरूले मतगणना छिटो गर्ने विषयमा ध्यान पु¥याउन सकेका छैनन् । मत गणनामा भएको ढिलाइकै कारण अघिल्लो निर्वाचनमा भरतपुर महानगरपालिकामा माओवादीका कार्यकर्ताहरूले मतपत्र च्यात्ने मौका पाएका थिए । दुई वटा वडामा दोहो¥याएर मतदान गराउन निर्वाचन आयोग वाध्य भएको थियो । तर निर्वाचन आयोगले विगतको घटनाबाट पाठ सिकेको देखिएन ।

मतगणनामा ढिलाइ हुँदा उत्पन्न हुने समस्या एउटा मात्रै छैन । पहिलो कुरा त कानुनले नै यही जेठ ६ गतेभित्र स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार संहालिसक्नुपर्ने व्यवस्था गरेको छ । स्थानीय निर्वाचनको मिति तोक्ने बेला सरकारसामू आयोगले राखेको प्रस्तावमा ‘नेपालको संविधानको धारा २१५ को उपधारा (६), धारा २१६ को उपधारा (६) र धारा २२० को उपधारा (५) तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४ र दफा ५५ बमोजिम संवत् २०७९ जेठ ५ मा समाप्त हुने भएकोले त्यस अगावै स्थानीय तहको निर्वाचन सम्पन्न गर्नु नेपाल सरकार तथा निर्वाचन आयोगको संवैधानिक एवं कानुनी दायित्व’ भएको उल्लेख गरेको थियो ।

यसैगरी मत परिणमको प्रतिक्षामा धेरै नेपालीहरूले आफ्नो दैनिक कामकाज थाति राखेका छन् । सर्वाधिक चासोको विषय भएका कारण मतगणना अवधीभर जनजीवन प्रभावित हुनु स्वभाविकै हो । मतपत्र ज्यादै ठूलो, उम्मेदवारहरूको संख्या धेरै र तालमेल तथा गठबन्धनका कारण एउटै मतदाताले धेरै पार्टीका चुनाव चिन्हमा मत दिनुपर्ने भएका कारण मतगणनामा लामो समय लागेको हो । एउटा मतपत्र गणना गर्न पाँच मिनेटसम्म समय लागेको बताइएको छ । थोरै मतदाता भएका पालिकाहरूमा मतगणनाको काम सम्पन्न भइसकेकोले ती पालिकाका जनशक्ति ल्याएर धेरै मतदाता भएका पालिकाको मतगणना गर्नेतर्फ आयोगको तत्काल ध्यान जानु जरुरी छ । उदाहरणका लागि हरेक वडाको एकै चोटी बेग्ला बेग्लै ठाउँमा गणना गर्ने हो भने दुई÷तीन दिनमै मतगणनाको काम सकिन्छ ।

एकातिर निर्वाचन आयोगले विगतको अनुभवबाट पाठ सिक्न सकेको देखिएन भने अर्कातिर आजभन्दा ७६ वर्षअघि नेपालमा जुन प्रक्रियाबाट मतदान र मतगणना गरिन्थ्यो, त्यसैलाई निरन्तरता दिइएको छ । मतदान तथा मतगणनाको यस्तो प्रक्रिया विश्वका अन्य मुलुकमा सायदै होला । हाम्रो भन्दा ४२ गुणा धेरै मतदाता भएको छिमेकी मुलुक भारतमा १२ घण्टाभित्र मतगणनाको परिणाम आउने तर हामीकहाँ १५ दिन लाग्ने अवस्थालाई सानो विडम्वना भन्न मिल्दैन । भारतमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुने तर नेपालमा किन गर्न नमिल्ने भन्ने प्रश्न कम सान्दर्भीक छैन । २१औं शताव्दीको यो युगमा एउटा पालिकाको मतगणनाको काम सम्पन्न गर्न १५ दिन लगाउने संवैधानिक अंगबाट हामी नेपालीले के अपेक्षा गर्ने ?

प्रतिक्रिया