सवारी चालक अनुमतिपत्र पाउन सास्ती

बलेवा । बागलुङ नगरपालिका–३ भलाटाकुराका सुमन किसानले सवारी साधन चलाउन सिकेको दुई वर्ष भयो । उनको हातमा सीप त छ तर त्यसको प्रयोग गर्ने अधिकार छैन । उनले सवारी साधन चलाउने अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाएका छैनन् । महँगो शुल्क तिरेर सवारी साधन चलाउन सिकेका किसान आफ्नो मिहिनेत खेर जाने हो कि भन्ने चिन्तामा छन् । बागलुङमा चार पांग्रे सवारी साधनका लागि सवारी चालक अनुमतिपत्रको परीक्षा नभएको १० वर्ष भयो । पोखरा, काठमाडौं, बुटवललगायत सहरमा जाँदा एकैपटकमा लाइसेन्स बन्दैन । धेरैपटक धाउँदा खर्च धान्नै कठिन हुने उनको गुनासो छ । आफूले चिनेजानेका र गाउँघरमा पुग्ने जो कोहीसँग किसानले सोधी खोजी गर्छन्, ‘सवारी चालक अनुमतिपत्रका लागि परीक्षा कहिले हुन्छ ?’

किसानजस्ता धेरैको अहिले यही समस्या छ । पछिल्लो समय स्वदेशमा होस् वा विदेशमा रोजगारीका लागि सवारी चालक अनुमतिपत्र अनिवार्य जस्तै भएको छ । लामो समय यातायात व्यवस्था विभागले परीक्षाको प्रबन्ध गर्न नसक्दा युवा समस्यामा छन् । यातायात व्यवस्था कार्यालय बागलुङले लामो समयदेखि लाइसेन्सको फार्म खुलाएको छैन । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घरदैलोमा मत माग्न पुग्दासमेत धेरैले यसबारे प्रश्न गर्ने गरेका छन् । जैमिनी नगरपालिका–६ का दीपक नेपालीले भने, ‘मैले मकवानपुर पुगेर लामो समय पर्खेर र पैसा खर्चेर लाइसेन्स लिएँ ।’ साना तथा ठूला सवारी साधन चलाएर स्वरोजगार बन्न युवा पुस्ता आकर्षित भएको पाइए पनि लाइसेन्स नहुँदा उनीहरू त्यसबाट वञ्चित छन् ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिंह थापाका अनुसार ०६९ सालमा नयाँ मापदण्ड लागू भएदेखि दुई पांग्रे सवारी साधन बाहेकको सवारीचालक अनुमतिपत्र जारी भएको छैन । कोरोना महामारीको समयमा रोकिएको दुई पांग्रे सवारी साधन चालक अनुमतिपत्रको परीक्षा नियमित हुन नसक्दा सर्वसाधारण मर्कामा छन् । ‘दुई वर्षको बीचमा एकपटक खुलेको अनलाइन फारम भरेकाको परीक्षा लिन भदौसम्मको तालिका छ’, उनले भने, ‘अब नयाँ व्यवस्थापनसहित चुनावपछि फारम खुल्छ ।’

चार पांग्रे सवारी साधनका लागि भने प्रयोगात्मक परीक्षा लिने मापदण्ड पुगेको संरचना बागलुङमा छैन । पटकपटक सरोकारवालाबीच मापदण्ड पुग्ने मैदानको खोजीका विषयमा छलफल भए भए पनि समस्या नसुल्झेको थापा बताउँछन् । ‘अहिले एक÷दुई ठाउँबाट प्रस्ताव आएको छ, हामीले भाडामै लिएर भए पनि मैदान तयार गरौँ भनेर लागेका छौँ’, उनले भने, ‘१६ रोपनी जग्गा एकै ठाउँमा चाहिन्छ, कार्यालयसँग जग्गा छैन ।’

प्रतिक्रिया