भारतमा रहेका मतदाता नेपाल फर्कंदै

टीकापुर । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न भारतमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन् । स्थानीय तहको नेतृत्व चयनका लागि आफ्नो मताधिकार प्रयोग गर्न रोजगारीका सिलसिलामा भारतमा काम गर्न गएका नेपालीहरू स्वदेश फर्कन थालेका हुन् । निर्वाचनको मिति नजिकिँदै जाँदा आफ्नो पालिकाको नेतृत्व छान्न स्वदेश आउनु पर्यो भनी छिमेकीले खबर गरेपछि आफ्नो सात जनाको परिवार स्वदेश फर्किएको जानकी गाउँपालिकाका विकास धामीले बताए । ‘आफ्नो मताधिकार प्रयोग गर्न भारतमा रहेका अन्य नेपाली पनि घर फर्केका छन्, हामी १५ दिनको बिदा मिलाएर आएका हौँ’, विकासले भने, ‘निर्वाचनमा छिमेकी उठेका छन् । उनलाई मतदान गर्न आउनुप¥यो भनी बोलाए, अनि हामी आयौँ ।’ एक सातायता अन्य समयभन्दा बढी नेपाली स्वदेश फर्कन थालेका छन् ।

स्वदेश फर्कनेहरूले मतदान गर्ने अधिकार प्रयोग गर्नाका साथै सक्षम नेतृत्व चयनका लागि फर्किएको बताएका छन् । कैलालीको जानकी गाउँपालिकाकी कमला न्यौपानेको दम्पती पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्नकै लागि स्वदेश फर्किएका छन् । उनीहरूले मतदान गर्ने बित्तिकै भारत फर्कने बताए । ‘हामीले निर्वाचन हुँदै छ भन्ने कुरा समाचारमा थाहा पायौँ, आफन्तसँग पनि फोनमा कुराकानी भइरहन्थ्यो’, न्यौपानेले भनिन्, ‘एकपटक गल्ती भएमा पाँच वर्ष पालिकाको विकासमा असर पर्छ, त्यसैले सक्षम नेतृत्व छानौँ, र कर्तव्य पनि पालना गरौँ भनी आएका हौँ, मतदान गरेर उतै फर्कने हो ।’

मतदान गर्नु नागरिकको अधिकार भएकाले असल नेतृत्व छनोट गर्ने अधिकार सुनिश्चित गर्नाका लागि निर्वासनमा रहेका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । त्यही अधिकार प्रयोग गर्नाका लागि भारतको महाराष्ट्रबाट लम्की चुहा प्रतापपुरका सुरेश विकको नौ जनाको परिवार पनि स्वदेश फर्किएको छ । ‘हामी दाइभाइ र हाम्रा परिवार गरी नौ जना छौँ, नौ जनाले नै मतदान गर्न पाउँछौँ’, उनले भनिन्, ‘यसो आफन्तसँग भेटघाट पनि हुन्छ । निर्वाचनमा पनि सहभागी हुन्छौँ ।’ वैशाख महिनायता भारत फर्कने चार सयभन्दा बढीले सीमामा रहेको हेल्थ डेक्समा स्वास्थ्य जाँच गराएका छन् । एक सातायता संख्या अझै बढेको छ । नेपाल फर्कने अधिकांश व्यक्ति मतदान गर्नकै लागि आउने गरेको टीकापुर–९ स्थित सीमामा रहेको स्वास्थ्य सहायता कक्षमा कार्यरत स्वास्थ्यकर्मी मकेन्द्र रोकायाले बताए ।

‘हिजोआज फर्कने अधिकांश मतदान गर्नकै लागि आएको भन्छन्, एक सातादेखि संख्या बढिरहेको छ’, उनले भने, ‘चालु आर्थिक वर्षको अहिलेसम्म ४ हजार ६ सय ९८ जना भारतबाट फर्कनेले सेवा लिएका छन् । हेल्थ डेक्समा स्वास्थ्यमा समस्या भएकाहरूले सेवा लिन्छन् ।’ निर्वाचनका लागि तायरी कैलाली जिल्लामा निर्वाचनका लागि सबै तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई तालिम दिई मतदान सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

२७ गते मंगलबार जिल्लाका सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित मतदान अधिकृत तथा कर्मचारी पुगिसक्ने, २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने र ३० गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए । कैलालीमा २ सय ३६ मतदानस्थल र ६ सय १९ मतदान केन्द्र तोकिएका छन् । ती केन्द्रमा निर्वाचन सञ्चालन गर्न १ हजार २ सय ५० मतदान अधिकृत तथा सहायक अधिकृत, ३ हजार ५० कर्मचारी र १ हजार ८ सय ७५ स्वयंसेवक खटाउने तयारी भइरहेको पनि कार्यालय प्रमुख भट्टले बताए । ‘स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन सबैलाई आग्रह गर्छु । आफ्नो मताधिकार प्रयोग गरी जनप्रतिनिधि छान्न अनुरोध गर्दछु’, उनले भने, ‘यो समय मतदाताले स्वविवेक प्रयोग गर्ने समय भएकाले यसलाई उपयोग गर्नुपर्छ ।’ यहाँको सँगै देशका अन्य जिल्लाबाट कामको सिलसिलामा भारतको विभिन्न स्थानमा रहेको नेपाली मतदान गर्नेका लागि धमाधम आफ्नो घर फर्कन थालेका छन् ।

प्रतिक्रिया