सिराहा । ‘नगरपालिका बनेको जुगै बित्यो । तैपनि हामीजस्ता निम्न वर्गीय बासिन्दा आर्सेनिक भएकै पानी खान बाध्य छौँ, हामी जस्तालाई के नै चाहियो ? दीर्घकालीन रूपमा शुद्ध खानेपानी उपलब्ध भए पनि ठूलो राहत पाइन्थ्यो’, यो भनाइ हो, सिराहा–१४ खिरौना टोलका ७० वर्षीय रामसुफल पासवानको । खानेपानीमा अत्यधिक आर्सेनिकको मात्रा भेटिएको भनेर अध्ययन भएको २० वर्षभन्दा बढी भयो । तर, हालसम्म पासवानले शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन् । यो अवधिमा ०७४ वैशाखमा एकपटक स्थानीय तहको निर्वाचन पनि भइसकेको छ । पासवानका अनुसार वडा कार्यालयले कल वितरण गरे पनि त्यो पनि पहुँच भएको व्यक्तिलाई मात्रै उपलब्ध गराइएको छ । निम्न र अति विपन्न परिवारलाई भने कसैले वास्ता नगरेका कारण त्यो कल पनि पाउन सकेका छैनन् ।
खानेपानीमा आर्सेनिकको समस्या खिरौनामा मात्रै छैन । सिराहा नगरपालिकाका अन्य वडामा पनि आर्सेनिक र आइरनको समस्या अत्यधिक छ । रकम र पहुँच हुनेलाई पाँच सय फिटसम्म तल जाने पाइप र कल वडा र नगरपालिका कार्यालयले वितरण गरेको छ । पाँच सय फिट तलसम्म पुगेको पाइपबाट केही गुणस्तरीय खानेपानी आउने गरेको छ । तर जो गरिब, निमुखा र तल्लो समुदायका छन्, उनीहरूको पहुँच वडा र नगरपालिका कार्यालयसम्म पुग्दैन ।
जव निर्वाचन आउँछ अनि केही रकम, लुगा, मासु र मदिराजन्य पदार्थको लोभमा आफ्नो अमूल्य मत आधारभूत मुद्दाको सबालमा कामै नगर्ने उम्मेदवारलाई दिएर विजयी गराउँछन् ।
‘समस्या धेरै छन, तर त्यो समस्याको बारेमा उम्मेदवारलाई मतलब हुन्न, रातीको समयमा एउटा दलाल परिचालन गरेर टोलटोलमा रकम, लुगा, मासु र मदिरा वितरण गर्छन्’, पासवानले भने, ‘सित्तैमा पाएपछि सबैले थाप्छन्, यस्ता चिज दिएपछि भोट फलानो छापमै दिनु । नत्र थाहा पाउछस् भनेर घुमाउरो पाराले धम्काउँछन् पनि ।’ गाउँ विकास समितिबाट सिराहा नगरपालिकामा रूपान्तरण भएको झण्डै २६ वर्ष पुगेको छ । ०५३ सालमा गठन भएको यो २६ वर्षको अवधिमा स्थानीय बासिन्दाले प्रमुख आधारभूत आवश्यकताहरू पनि स्थानीय निकायबाट प्राप्त गरेका छैनन् । यो नगरपालिकामा २२ वटा वडा छन् ।
यो अवधिमा ०७४ वैशाखमा एकपटक स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेर अहिले दोस्रोपटक स्थानीय तहको निर्वाचन हुँदै छ । सिराहाका स्थानीय बुद्धिजीवीका अनुसार स्थानीय जनप्रतिनिधि भए पनि र विगतमा प्रशासकीय अधिकृतको भरमा स्थानीय तह सञ्चालनमा भए पनि सदरमुकाममा देखिएको प्रमुख समस्याहरूलाई समाधान गर्न कसैले पनि चासो देखाउन सकेनन् । यसले गर्दा योभन्दा कान्छो नगरपालिकाहरूले विकासको मूल फुटालेर निक्कै अगाडि गइसक्दा सिराहा नगरपालिका भने पुरानै अवस्थामा रुम्मलिएको छ ।
करिब डेढ लाख जनसंख्या रहेको यो सदरमुकाममा बसोबास गर्ने बासिन्दामध्ये झण्डै १० प्रतिशतको मुख्य पेसा कृषि छ । यसपछि वैदेशिक रोजगारमा करिब ११ प्रतिशत गएका छन् । अदक्ष श्रमिक, दक्ष कामदारको संख्या क्रमशः ३ दशमलव ४२ र शून्य दशमलव ८५ प्रतिशत छ । यस्तै व्यापारमा २ दशमलव १६ प्रतिशत, विभिन्न प्रकारका जागिरमा १ दशमलव ९१ प्रतिशत सर्वसाधारण लागेका छन् । बेरोजगार हुनेको संख्या ६ दशमलव २० प्रतिशत छ ।
मूल मुद्दा
गुणस्तरीय खानेपानी
गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा
व्यवस्थित सडक र ढल
पर्यटकीय करिडर
कृषि सेवा र पूर्वाधार
रोजगारी
सवारी साधन पार्किङ
लागुऔषध
नागरिक समाजका अगुवा र पूर्वसहप्राध्यापक चन्देश्वर यादबका अनुसार सिराहाका नेता र नगरपालिकाले मुख्य समस्याहरूलाई कहिले पनि सम्बोधन गर्न चासो देखाउन सकेनन् । सिराहामा प्रमुख गरी गुणस्तरीय खानेपानी, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा, ढलसहित व्यवस्थित कालोपत्रे फराकिलो सडक, पर्यटकीय करिडर, कृषि सेवा र पूर्वाधार, रोजगारी, सवारी साधन पार्किङ, लागुऔषधजस्ता समस्याहरू छन् ।
‘तर यस्ता आधारभूत र अतिआवश्यक मुद्दाको सवालमा नेता, उम्मेदवार सबै मौन छन्’, यादवले भने, ‘मतदातालाई पनि मतलब छैन, यस्ता आधारभूत विषयसँग । केही रकम, लुगा, मासु, मदिरा र अन्य प्रकारका सामान्य सहयोग गरी दिएपछि उनीहरू पनि यस्ता मुद्दाको बारेमा सोधखोज गर्नुभन्दा आँखा बन्द गरेर जस्तो पायो त्यस्तो उम्मेदवारलाई मत दिँदै आएका छन् ।’ केही बौद्धिक वर्ग पनि छन, जो बुझ पचाएर बसेका छन् भने केही अन्य बुभ्mने समूहलाई नेता र नगरपालिकाले वास्ता नै नगर्ने यादवको भनाइ छ ।
उनकाअनुसार सिराहा सदरमुकाममा गुणस्तरीय खानेपानीको समस्या टड्कारो छ । तर यो समस्याको बिषयमा आजसम्म कसैले पनि बोल्न आँट गरेको छैन । कहाँसम्म भने उम्मेदवारले पनि केन्द्रीय पार्टीले जारि गरेको घोषणा पत्रलाई पछ्याएर प्रचारप्रसार गर्दै आएका छन् । स्थानीय तहको आधारभूत मुद्दाको सवालमा सबै मौन रहेको उनको भनाइ छ । आर्सेनिक र अत्यधिक आइरनयुक्त पानीका कारण अधिकांश सर्वसाधारण पानीजन्य रोगबाट प्रभावित भएको उनको कथन छ ।
यस्तै सदरमुकामको शिक्षाको स्तर पनि निक्कै दयनीय अवस्थामा भेटिएको छ । सिराहामै उपत्यकाको दरबार हाइस्कुलपछि दोस्रो र उपत्यकाबाहिर पहिलो विद्यालयको रूपमा रहेको चन्द्र उच्च माध्यमिक विद्यालयको अवस्था दिनानुदिन खस्किँदै गए पनि कसैले त्यो विषयमा चासो देखाएका छैनन् । अधिकांश विद्यालयमा शिक्षक छन् तर विद्यार्थी छैनन् । विद्यालयहरूमा अंग्रेजी, गणित, विज्ञानलगायत विषयको शिक्षक भेट्नै गाह्रो छ । तर नेपाली र सामाजिकको शिक्षक एउटै विद्यालयमा ५ देखि १० जनासम्म रहेको यादवले जानकारी दिए ।
‘राम्रो शिक्षक ल्याइयो भने राजनीति गरेर हटाइदिने प्रवृति पनि उतिकै छ, १० कक्षामा पढ्ने विद्यार्थीलाई अंग्रेजीमा आफ्नो नामसम्म लेख्न आउँदैन’, उनले भने, ‘अभिभावक पनि कस्ता भएका छन भने विद्यार्थीलाई कडाइ गरेर पढ्न प्रोत्साहन गर्नुभन्दा नेताहरूको पछि झोले भएको हेर्न चाहेका छन् । पढ्ने उमेर १५ वर्षदेखि २५ वर्षका अधिकांश केटाहरू लागुऔषधको कुलतमा फसेका छन् ।’
आधारभूत आवश्यकतामध्येकै स्वास्थ्य सेवाको अवस्था पनि निक्कै दयनीय छ ।
अर्का बुद्धिजीवी अनिरुद्ध ठाकुरका अनुसार सिराहामा प्रादेशिक अस्पतालमा रूपान्तरण गरिए पनि यो अस्पतालको सेवा सुविधा निक्कै दयनीय छ । सरकारले उपलब्ध गराएको निःशुल्क औषधि कुनै पनि उपलब्ध हुँदैन बिरामीलाई । बरु अस्पतालकर्मी मिलेर ती औषधि निजी पसलमा लगेर बिक्री गर्छन् । यस्तै सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत बिमा गरेका बिरामीले अस्पतालबाट सेवा लिन दर्जनौँपटक धाएर पहुँचको भरमा मात्रै सेवा लिन पाएका छन् । अस्पतालमा सामान्य सरसफाइको पनि ठूलो समस्या देखिएको छ । अस्पतालहातालाई नै डम्पिङ साइटको रूपमा रूपान्तरण गरिएको ठाकुरको भनाइ छ ।
‘बिरामी बस्ने कोठा त एक महिनासम्म सफाइ नै हुँदैन’, ठाकुरले भने, ‘यस्तोमा सर्वसाधारणले कस्तो सेवा पाइरहेका छन, आपैmँ मूल्यांकन गर्नुस् ।’ उनकाअनुसार सिराहामा सबैभन्दा टड्कारो समस्याको रूपमा देखिएको सडक व्यवस्थापन पनि एक मुद्दा हो । तर, यो मुद्दाको विषयमा सर्वसाधारणदेखि उम्मेदवारसम्मले चासो राखेको देखिँदैन ।
निक्कै साँघुरो कच्ची सडक भएका कारण वर्षात भएपछि सडकको फोहोर पानी सडक छेउका सम्पूर्ण नगरवासीको घरमा पस्छ । घर डुबानमा परे पनि यो समस्या समाधान गर्ने सवालमा नगरपालिका र स्थानीय नेताहरूले कहिले चासो नदेखाएको ठाकुरले बताए । सडकमा ढल र पैदल यात्रु हिँड्ने फुटपाथ नहुँदा दैनिकजसो दुर्घटना निम्तने गर्छ ।
‘उम्मेदवारले त स्थानीय आर्थिक, समाजिक, रोजगार, विकास पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीका विषयमा सोच्नुपर्ने र त्यस्तै मुद्दा उठाउनुपर्ने हो । तर, यहाँका उम्मेदवार यस्ता विषयमा सोच्नुभन्दा रकम, मासु, मदिरा, लुगाजस्ता सामग्री वितरण गरेर कसरी मत खरिद गर्न सकिन्छ, त्यतिमै चासो राख्छन्’, ठाकुरले भने ।
कुनै समयमा सिराहा जिल्ला कृषिमा राम्रो मानिएको जिल्ला गनिन्थ्यो । तर, आज कृषिमा यो जिल्ला निक्कै पिछडिएको छ । खेतियोग्य जग्गा पर्याप्त भए पनि सिँचाइको चर्को समस्या छ । जनशक्तिको अभाव पनि त्यतिकै छ । समयमा मल, बिउ, प्राविधिक सल्लाह पाइँदैन । पारिपट्टी भारतीय सहरबाट एक बोरा मल ल्याउँदा प्रहरीको कुटाई खानुपर्ने बाध्यता छ । उत्पादन भएको खाद्यान्न, तरकारी, माछामासु र दूध संकलन गर्ने संकलन केन्द्र र अत्याधुनिक बजार निर्माणको विषयलाई पनि ओझेलमा पारिएको छ ।
पूर्व सहप्राध्यापक यादवका अनुसार कृषि क्षेत्रको विकासका लागि सिँचाइ, मल, बिउ, कलेक्सन केन्द्र, व्यवस्थित बजारका साथै कोल्ड स्टोर निर्माण गर्न अति आवश्यक छ । यस्ता पूर्वाधार विकास गरिएन भने कृषि क्षेत्र झन् भयावह हुनेछ । अर्का बुद्धिजीवी ठाकुरकाअनुसार सिराहा राजा सलहेश गढको नामले नेपाल र भारतमा प्रसिद्ध छ । तर, उक्त सलहेशलाई जिल्लाका अन्य पर्यटकीय क्षेत्रसँग जोडेर पर्यटकीय करिडर बनाउने र श्रद्धालुको लागि धर्मशाला बनाउने विषय पनि ओझेलमा परेको छ । यस्तो करिडर निर्माण गरिएको खण्डमा यसलाई आयआर्जनसँग जोडेर रोजगारीको अवसर पनि सिर्जना गर्न सकिन्थ्यो ।
यसबाहेक सदरमुकाममा सार्वजनिक सवारी साधन पार्किङ गर्ने स्थानको समेत ठूलो समस्या देखिएकाले बस पार्किङ स्थल निर्माण पनि हुनुपर्ने ठाकुरको भनाइ छ । रोजगारीको अवसर सिर्जना हुने कुनै पनि कार्यक्रम नगरपालिका तहबाट सञ्चालन नहुनु आफैँमा ठूलो दुर्भाग्य हो ।
प्रतिक्रिया