कर्णालीका सांसदहरुका ज्ञान सहायक बन्दै युवाहरु

सुर्खेत । कर्णाली प्रदेशका युवाहरुले प्रदेशसभा सदस्यहरुसँग काम गर्ने भएका छन् । प्रदेशका १२ जना युवायुवतीहरुले १२ जना प्रदेशसभा सदस्यहरुसँग काम गर्ने भएका हुन् ।

एक जना युवाले एक जना सांसदसँग ज्ञान सहायकको रुपमा काम गर्नेगरी अमेरिकी दूतावास काठमाण्डौं र पोखरा रिसर्च सेन्टरसँगको सहकार्यमा सुर्खेतस्थित ऋति फाउण्डेशनले कर्णाली प्रदेशमै पहिलो पटक पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रम (पीपीएसपी) कर्णाली कार्यक्रम सञ्चालनमा ल्याएको छ।

जसअन्तर्गत पहिलो चरणमा आएका ३०० आवेदनमध्ये ५० युवाहरुलाई छनोट गरिएको थियो । गत फागुनमा पहिलो चरणमा ५० जनालाई तालिम दिइएको र ती ५० बाट उत्कृष्ट २५ जना युवाहरु छनोट गरि बैशाख १६–२० सम्म ५ दिनको दोस्रो चरणको तालिम सम्पन्न भएको हो ।

दोस्रो चरणको तालिममा सहभागी भएका २५ मध्ये उत्कृष्ट १२ जनालाई आगामी जेठमा तेस्रो चरणको तालिम दिइ सांसदहरुसँग काम गर्नका लागि पठाइने ऋति फाउण्डेशनका निर्देशक दिनेश गौतमले बताए ।

युवालाई कर्णालीको खोज अनुसन्धान, आर्थिक विकास, नीति निर्माण प्रकिया, विधेयक मस्यौदा प्रक्रिया, कानून निर्माणमा युवा सहभागिता, राजस्व परिचालन, आधारभुत सार्वजनिक नीति, कर्णालीको आर्थिक अवस्था, प्रविधि प्रयोगलगायतका विषयमा युवालाई प्रशिक्षण गराइएको निर्देशक गौतमले बताए ।

आगामी एक महिनाभित्र तेस्रो क्याम्प आयोजना गरी फाइनलमा पुगेका १२ जनालाई ज्ञान सहायकका रूपमा काम गर्न प्रदेश संसद्मा पठाइने कार्यकारी निर्देशक गौतमको भनाइ छ । युवामैत्री नीति निर्माण तथा सांसदलाई जनताप्रति थप उत्तरदायी बनाउन सल्लाह दिन युवालाई सांसदका ज्ञान सहायक बनाउन लागिएको हो ।

ज्ञान सहायकको सहयोगले प्रदेश सांसदहरूले गर्ने कामहरू दैनिक कार्य सम्पादन, नीति निर्माणलगायतका कुरामा सहज हुने कर्णाली प्रदेशका उपसभामुख पुष्पा घर्ती विष्टको अपेक्षा छ । युवालाई नीति निर्माणमा सहभागी गराउन तथा नमुना प्रदेश बनाउँदा पूर्व व्यावसायिक संसदीय सहयोग कार्यक्रम ९पीपीएसपी० कोशेढुंगा बन्ने आशा गरिएको उपसभामुख घर्ती विष्टको भनाइ छ ।

दोस्रो चरणको तालिममा युवाहरुलाई नमुना प्रदेश सभा अभ्यास, कानुन निर्माण प्रक्रिया, मिडिया ह्यान्डलिङ, अनुसन्धानका लागि तथ्यांकको स्रोत, उपसभामुख तथा सांसदसँग अन्तरक्रिया, प्रदेश सभा भवनको अवलोकन लगायतका क्रियाकलाप सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया