सल्यानमा चार जना पत्रकार स्थानीय चुनावमा लड्दै

सल्यान । सल्यानमा नेपाल पत्रकार महासंघमा आवद्ध चार जना पत्रकार स्थानीय तहको निर्वाचनमा चुनावी मैदानमा देखिएका छन् । जिल्लामा विभिन्न मिडियामा आवद्ध पत्रकारहरू स्थानीय तहको चुनावमा होमिएका छन् । नेपाल पत्रकार महासंघ सल्यान शाखाका पूर्वअध्यक्ष रमेशकुमार गौतम शारदा नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनेका छन् । सल्यानमा जिल्लाको पहिलो सामुदायिक रेडियो स्थापना गरेका गौतमले लामो समय राजधानी दैनिक पत्रिकामा आवद्ध भएर काम गरिसकेका छन् । गौतम सामुदायिक रेडियो प्रसारक संघको पूर्व केन्द्रीय सदस्य तथा सामुदायिक रेडियो प्रसारक संघ कर्णाली प्रदेश समितिका अध्यक्षसमेत भएका गौतम नेकपा एकीकृत समाजवादी र नेकपा माओवादीको गठबन्धनबाट उपमेयरको उम्मेदवार बनेका हुन् ।

यस्तै नेपाली कांग्रेसको तर्फबाट नयाँ युगबोध दैनिकमा कार्यरत पत्रकार राजेश शर्मा पनि वडाध्यक्षको उम्मेदवार बनेका छन् । राजेश शर्मा शारदा नगरपालिका–११ को वडाध्यक्षमा उम्मेदवारी दिएका हुन् । यस्तै दार्मा गाउँपालिका–१ बाट नेपाल पत्रकार महासंघ सल्यानका सदस्य कृष्ण वली वडाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । भने शारदा नगरपालिका–४ बाट नेपाल पत्रकार महासंघ सल्यानका सदस्य पदम गिरी वडाध्यक्ष पदका लागि उम्मेदवार बनेका हुन् । उम्मेदवार दिएपछि उनीहरूले सबैले पत्रकार महासंघमा राजीनामा दिइसकेको नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष नविन पौडेलले जानकारी दिए ।

यसैबीच सल्यान जिल्लामा चुनावी गर्मी सुरु भएको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा क्रियाशील दलहरू प्रचारप्रसारमा गाउँगाउँमा पुगेका छन् । जिल्लास्तरका नेताहरूसमेत गाउँगाउँमा पुगेपछि जिल्ला सदरमुकाम भने सुनसान बन्न थालेको छ ।
जिल्लामा चुनावी माहोल तात्तिदै गएपछि जिल्लाको शान्ति सुरक्षा मजबुत बनाउनका लागि सबै आवश्यक तयारी पूरा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्लामा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दैै जिल्लामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

एमालेका उम्मेदवारमाथि एमालेकै कार्यकताद्वारा ढुंगामुढा

जिल्लामा एमालेका उम्मेदवार चढेर प्रचारप्रसार गर्न हिँडेको गाडीमाथि एमालेका कार्यकर्ताद्वारा ढुंगा मुढा प्रहार भएको छ । एमाले जिल्ला अध्यक्ष गोविन्दकुमार पुनले उपप्रमुख चम्फा पुरीको उम्मेदवारी जवरजस्ती फिर्ता लिएको भन्दै बनगाड कुपिण्डे नगरपालिकाको ढोरपीपलमा ढुंगामुढा प्रहार भएको हो ।

एमालेका जिल्ला सचिवालय सदस्य आशावली र नरभूपाल शाह चढेको गाडीमा ढंगामुढा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सल्याले जनाएको छ । गाडीमा क्षति भए पनि गाडिभित्र रहेका कसैलाई पनि चोटपटक नलागेको प्रहरीको भनाइ छ । एमालेका जिल्ला अध्यक्ष गोविन्दकुमार पुनले मनोनयन फिर्ता लिने दिन एमालेकै उपमेयर चम्फा पुरीको उम्मेदवारी सहमति विना नै फिर्ता लिएको आरोप लगाउँदै नगरपार्टीभित्र तीव्र असन्तुष्टि फैलिन थालेको छ । नगरप्रमुखका उम्मेदवारसमेत रहेका पुनलाई कारबाही नगरे कडा आन्दोलनमा उत्रिने एमाले बनगाड कुपिण्डे नगर कमटीले जनाएको छ ।

अध्यक्ष पुनले आपूmले चुनाव जित्नका लागि पार्टीमा कुनै सल्लाह नै नगरेर पुरीको उम्मेदवारी आपैmँले फिर्ता लिएको र व्यक्तिसँग सहमति गरेको आरोप लगाउँदै अध्यक्ष पुनलाई कारबाहीका लागि माग गरेको र कारबाही नभए कडा आन्दोलन गर्ने एमाले वनगाड कुपिण्डे नगरपालिका नगर कमिटी सचिव राजेश वलीले जानकारी दिए । अध्यक्ष पुनको मनोमानी भएको भन्दै कारबाहीका लागि नगर कमिटी तथा एमाले निकट जनवर्गीय संगठनहरूले पार्टीको अनुशासन कमिटीसमक्ष कारवाहीको माग गरेका छन् । पुनः यसअघि बनगाड कुपिण्डे नगरपालिकामा नगरप्रमुखमा एमालेको तर्फबाट निर्वाचित भएका थिए ।

मनोनयन फिर्ताको दिन पुनले कुनै सल्लाह नगरी आप्mनै पार्टीको तर्फबाट उपमेयरमा सिफारिस भएकी चम्फा पुरीको उम्मेदवारी आफैँले फिर्ता लिएको र नेपाली कांग्रेसका वागी उम्मेदवार दिएका दीपेन्द्र विष्टसँग व्यक्तिगत रूपमा सहमति गरेको आरोप लाग्दै आएको छ । सल्यानमा ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालले एउटा नगरपालिकासहित चार स्थानीय तहमा निर्वाचित भएको थियो ।

प्रतिक्रिया