म्याग्दी । वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगंगा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगंगा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् ।
नेकपा (माओवादी केन्द्र) को रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धवलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिए । ‘म के गाउँपालिकाको अध्यक्ष बन्न सक्दिन र ?,’ मीनाले हरेकजसो सभा र भेलामा भन्छिन्, ‘यो हाम्रो समुदायको लागि अवसरसँगै चुनौती पनि हो । हामी कति दिन अरूको भोट बैंक बन्ने । नेतृत्व गर्ने अवसर पाए गरेर पनि देखाउँछु ।’
गाउँपालिका अध्यक्ष जितेमा आफ्नो समुदायको उत्थानको साथै अन्य समुदायका गरिब विपन्नको समस्याप्रति ध्यान दिने उनले सुनाइन् । मीनाको आत्मविश्वास र साहसबाट प्रभावित भएको माओवादीका गण्डकी प्रदेश सदस्य रहेका प्रदेशसभा सदस्य विनोद केसीले बताए ।
मीनाले दलित समुदायले भोग्दै आएको विभेद र उत्पीडनको समस्याको बारेमा भावुक शैलीमा अभिव्यक्ति दिँदा भाषण सुन्न आएकाका आँखा रसाउने गर्छन् । उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी उनकोे प्रतिस्पर्धीको रूपमा एमालेका प्रेमबहादुर कार्की र नेपाली कांग्रेसका भवबहादुर भण्डारी छन् ।
गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएको छ । रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १ सय ३५ चुनावी मैदानमा रहेका सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले बताए । बेनी नगरपालिका–१० पात्लेखेत माइती भएको मीनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो ।
अनेरास्ववियु क्रान्तिकारी र वाइसिएलमा आबद्ध भएकी उनी विवाहपछि राजनीतिमा निष्क्रिय भएकी थिइन् । गाउँमै खेतीकिसानी गरेर जीविकोपार्जन गर्दै आएकी मीना पछिल्लो समय पार्टीसँग सम्बद्ध भएर उम्मेदवार बनेकी हुन् । उनका जेठा छोरा १० वर्षका छन् । दुई वर्षका छोरा बोकेर भोट माग्न घरदैलो अभियानमा उनी छन् । मीनाका श्रीमान् पनि सँगै चुनाव प्रचारमा छन् । प्रमुख पदमा मीनासहित म्याग्दीमा तीन महिला उम्मेदवार छन् ।
धवलागिरि गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेकी छन् । माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ । दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मीना दुई मात्र उम्मेदवार छन् । वडाध्यक्ष पदमा दुई मात्र महिला उम्मेदवार छन् । सो गाउँपालिका–४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएका छन् ।
६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २ सय ३७ पदका लागि ७ सय १८ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । धवलागिरि गाउँपालिका–१ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्र र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्विरोध भएका छन् । एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ । कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरि र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन् । चार गाउँपालिकाका अध्यक्ष र १७ वडाध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया