मतदातामाझ प्रतिबद्धता सार्वजनिक गर्दै चुनावका प्रत्यासी

सुदूरपश्चिम । स्थानीय तहको निर्वाचन आउन १० दिन बाँकी रहँदा धनगढी उपमहानगरपालिकाका उम्मेदवारले आफूले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रण गर्दै आआफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । सत्ता साझेदार दल र तिनका उम्मेदवारले सोमबार सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा व्यवस्थित, समुन्नत र हराभरा सहरको विकास गर्दै उपमहानगरलाई महानगर बनाउन पहल गर्ने उल्लेख गरिएको छ ।

नगरवासीको सेवा, सुविधा, विकास र समृद्धिका लागि अहोरात्र खटिने प्रण गर्दे सत्ता साझेदार दलका प्रत्यासीले शिक्षा, स्वास्थ्य, सडक यातायातको विकास, पर्यटन प्रवद्र्धन, खानेपानी तथा सरसफाइको व्यवस्थापन, औद्योगिकीकरण र सुशासन प्रवद्र्धनमा जोड दिएका छन् । युवा तथा खेलकुदको विकास, सामुदायिक सशक्तीकरण, महिला तथा अल्पसंख्यका लागि उद्यमशीलता र स्वरोजगारका कार्यक्रम कार्यान्वयन र प्रतिबद्धता पत्रमा धनगढीका ट्राफिक चोक र चटकपुरमा गरी दुई ठाउँमा आकाशे पुल, उर्मा गाउँमा नमुना बस्ती निर्माण, फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदान बनाउन, औद्योगिक क्षेत्र स्थापना, प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको सेवा सञ्चालन, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

यसै गरी दशकौंदेखि लालपूर्जा पाउन नसकेकालाई लालपूर्जा वितरण, नदीनालाको व्यवस्थापन तथा तटबन्धन निर्माण, सबै वडामा कृषि हाटबजार व्यवस्थापन, व्यवसाय गर्न सहुलियत अनुदान, एक गाउँ बहु उत्पादनको नीति कार्यान्वयन गरिने पनि प्रतिबद्धता गरिएको छ । यसैगरी नेकपा एमाले र तिनका प्रत्यासीले ‘हाम्रो धनगढी, हाम्रो शान, समृद्ध धनगढी, हाम्रो अभियान’ भन्ने मूल नारासहित प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । प्रतिबद्धता पत्रमा (एमाले)का जनप्रतिनिधि शासक नभइ जनताको सेवक हुने, सामाजिक जागरण र विकासका अभियान्ता हुने, कुनै भ्रष्टाचार नगर्ने र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका संकल्प गरिएको छ ।

सार्वजनिक गरिएको एमालेको प्रतिबद्धतापत्रमा शिक्षा, स्वास्थ्य र सरसफाइ, कृषि, खेलकुद, ऊर्जा, यातायात, औद्योगिकीकरण, लगायतको विकासमा जोड दिएको छ । कृषि विकासका लागि एक वडा एक उत्पादन, सहज आवागमनको आधार ः दिगो यातायातको पूर्वाधार, आधुनिक ऊर्जाः उज्यालो पालिका, औद्योगिकीकरण र आर्थिक समृद्धि ः स्वदेशमै रोजगारी, सम्मान र समृद्धि, लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सामाजिक सुरक्षा, युवा खेलकुद तथा मनोरञ्जन ः एक वडा एक खेल मैदान, प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार, निरोगी नेपाल ः स्वस्थ्य नेपाली, उन्नत कृषि ः किसानको समृद्धिजस्ता प्रतिबद्धतासमेत एमाले र तिनका प्रत्यासीले गरेका छन् ।

उपमहानगरको प्रमुखमा स्वतन्त्र प्रत्यासी बनेका चर्चित व्यवसायी एवं समाजसेवी गोपाल हमालले ‘हाम्रो धनगढी, हामी आफैँ बनाउँछौँ’ भन्ने मूल नारासहित चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शी सेवा कडाइका साथ प्रवाह गर्ने अठोट गरेका छन् ।

पाँच वर्षका लागि गरिने मुख्य काम तथा योजनासहित हमालले आफ्नो प्रतिबद्धता पत्रमा उपमहानगरपालिकालाई भ्रष्टाचारमुक्त, स्वच्छ र सुन्दर लोकककल्याणकारी, सुन्दर र नमुनाको सहर बनाउने प्रतिबद्धता गरेका छन् । उपमहानगरमा रहेका पेश्की बेरुजुलाई शून्यमा झारिने, कार्यालय प्रशासन सुधार गरी जनतालाई चुस्तदुरुस्त सेवा सुविधि प्रदान गर्ने,कर्मचारीलाई तालिम, दण्ड र पुरस्कारको व्यवस्था गर्ने, वडामा प्रदान गरिने सेवामा डिजिटलाइजेसन गरिने, ऐलानी जग्गामा बसेकालाई लालपूर्जा दिने, कृषि, पर्यटन, व्यापार व्यवसायको प्रवर्धन र विकास गर्ने, रोजगारी प्रवर्धन गर्ने, किसानले झेल्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धतासमेत हमालले गरेका छन् ।

यसरी प्रत्यासीले प्रतिबद्धता पत्र सार्वजनिक गरेर मतदातालाई आआफ्नो पक्षमा रिझाउने कसरत तीव्र बनाइरहँदा कतिपय मतदाताले भने महत्वाकांक्षी र ठूला अश्वासन बाँड्न थालिएको टिप्पणी गर्न थालेका छन् । ‘चुनाव जित्नकै लागि पूरा गर्न नसकिने खालका अश्वासनसमेत बाँड्ने काम भइरहेको छ’, स्थानीय मतदाता रामदिन चौधरीले भने, ‘अश्वासन बाँड्ने तर जनताका काम कहिल्यै नगर्ने उम्मेदवारबाट अब मतदाता सचेत हुन जरुरी भइसकेको छ ।’

प्रत्यासीले आआफ्नो प्रतिबद्धता सार्वजनिक गरे पनि बढ्दै गएको महँगी र बेरोजगारीजस्ता समस्या समाधानलाई भने त्यति नउठाएको पाइएको मतदाताहरूको बुझाइ छ । उनीहरूले विकास, समृद्धिको पक्षमा पहल गर्ने र जनताका समस्या समाधानमा खटिने उम्मेदवारलाई आफ्नो मत जाने बताएका छन् ।

धनगढी उपमहानगसहित कैलाली जिल्लामा वर्षायाममा डुबान र नदी कटानको ठूलो समस्या छ । किसानले खेती गर्ने समयमा मल र उन्नत बिउ नपाउने अर्को ठूलो समस्या छ । बढ्दै गएको महँगीको मारले गरिब र निमुखा वर्गलाई छाक टार्न मुस्किल भइरहेको छ । उपमहानगर क्षेत्रका अधिकांश बस्तीमा स्तरीय सडक पुलपुलेसा, खानेपानी, टेलिफोन, सार्वजनिक शौचालयजस्ता आधारभूत पूर्वाधार जुट्न सकेको छैन । उपमहानगरसहित जिल्लाभरि दशकौंदेखि ऐलानी जग्गामा बसेका हजारौँ संख्याका गरिब परिवारको जग्गा दर्ता हुन सकेको छैन । भएका स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभावमा स्तरीय स्वास्थ्योपचार गर्न बिरामीले जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता छ ।

उपमहानगरपालिकाको प्रमुखमा सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उपमहानगरका निवर्तमान प्रमुख नृपबहादुर वड र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)की शान्तिकुमारी अधिकारी क्षेत्री प्रत्यासी हुनुहुन्छ । त्यस्तै नेकपा (एमाले)का तर्फबाट प्रमुखमा युवा नेता रणबहादुर चन्द र उप्रमुखमा कन्दकला रानाथारु प्रत्यासी हुनुहुन्छ । जनता समाजवादी पार्टीका कवीन्द्र ऐर, नागरिक उन्मुक्ति पार्टीका नीमकुमार चौधरी, लोकतान्त्रिक समाजवादीका वसन्तबहादुर विश्वकर्मा र सचेत पार्टी नेपालका भारती थापा पनि प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रमुख पदका उम्मेदवारमा स्वतन्त्रबाट हमाल बाहेक उद्धबराज पन्त र मदनकृष्ण भट्ट पनि छन् ।

प्रतिक्रिया