धनगढीमा सत्ता गठबन्धको २२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक

धनगढी । सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा आसन्न स्थानीय तहको निर्वाचनका लागि सत्ता गठबन्धनले २२ बुँदे संयुक्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको प्रतिबद्धतापत्रमा एक गाउँ बहु उत्पादन नीतिअनुसार कृषिमा विशेष अनुदान तथा सहयोगका कार्यक्रम सञ्चालन र खानेपानीको पाइप विस्तार गरी एक घर एक धाराको व्यवस्था गरिने प्रतिबद्धता गरिएको छ । विद्यालयमा बालबालिकाको पहुँच पुर्याउन हेप्पी स्कुलको अवधारणअन्तर्गत चार वर्षका बालबालिकालाई अनिवार्य विद्यालय भर्ना कार्यक्रम सञ्चालन गर्ने, एक विद्यालय एक नर्सको व्यवस्था गरिने, हरेक विद्यालयमा स्थानीय पाठ्यक्रम तयार गरी लागू गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

त्यसैगरी धनगढी उपमहानगरपालिकाका प्रत्येक वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा एक जना विशेषज्ञ डाक्टर सेवा उपलब्ध गरिने, उपमहानगरभित्र निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने, धनगढी उपमहानगरपालिकालाई आवश्यक पूर्वाधार तयार गरी महानगरपालिका बनाउन पहल गरिने, उपमहानगरपालिका सडक किनारमा वृक्षरोपण गरिने, हाम्रो धनगढी हरित धनगढी सहर बनाउन हरेक घरधनीलाई नक्सा पासका क्रममा न्यूनतम ५ देखि १० वटा विरुवा रोप्न आग्रह गर्ने उल्लेख छ ।

त्यस्तै उपमहानगरपालिकाका भित्री सडकलाई रिङरोड र हुलाकी सडकको सञ्जालमा जोडिने, पाँच वर्षभित्र माग र आवश्यकताका आधारमा नगरका सबै ठाउँ जोड्ने सडक कालोपत्रे गर्ने, उपमहानगपालिकाभित्र अन्तर्राष्ट्रिय स्तरका टर्मिनल सहितको बसपार्क निर्माण गरिने गठबन्धनको प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।
त्यसैगरी उपमहानगरपालिका–१५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिने, पालिकाभित्र उद्योग तथा कलकारखानामा लगानी गर्न लगानी मैत्री नीति निर्माण गरिने, करका दरलाई न्यून गर्दै करको दायरा फराकिलो गरिने, धनगढीमा रहेको फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रूपमा स्तरोन्नति गर्न आवश्यक पहल गर्ने, उपमहानगरभित्र ठूला योजना सञ्चालनका लागि प्रदेश र संघीय सरकारसँग सहकार्य गर्ने प्रतिबद्धतापत्रमा भनिएको छ ।

त्यसैगरी दलित तथा अल्पसंख्यक समुदायको परम्परागत पेसाको संरक्षण, आधुनिकीकरण तथा व्यवसायीकरण गरी आय आर्जन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरिने, स्थानीय सबै समुदायका भाषा रीतिरिवाज र चाडपर्व आदिको संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिने, बेहडाबाबा, जाखौरताल, शिवपुरीधाम, नेतुवा ताल, कनरी पार्कलाई पर्यटकको आकर्षणको केन्द्र बनाई पूर्णरूपमा सञ्चालन गरिने, यी पर्यटकीय गन्तव्यको प्रचारप्रसार तथा प्रवद्र्धन गरिने, प्रत्येक वडा ज्येष्ठ नागरिक केन्द्र (अध्ययन, लाइब्रेरी, मनोरञ्जन, विश्राम) बनाइने, सञ्चार क्षेत्रको विकास एवं विस्तारका लागि सञ्चार मैत्री स्थानीय सञ्चार नीति तर्जुमा गरी विज्ञापन, सूचना र पत्रकारको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

सत्ता गठबन्धनको तर्फबाट धनगढी उपमहानगरपालिकाको नगरप्रमुखको उम्मेदवारमा नेपाली कांग्रेसका नृपबहादुर वड र उपप्रमुखको उम्मेदवारमा नेकपा (माओवादी केन्द्र) की शान्ति अधिकारी छन् ।

प्रतिक्रिया