गठबन्धनमा समाजवादीलाई धोका

पर्वत । स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन भनिए पनि पर्वतमा दुई दलको मात्र गठबन्धन बनेको छ । एकीकृत समाजवादी पार्टीलाई कांग्रेस र माओवादीले गठबन्धनबाट पाखा लगाइदिएका छन्, भने अन्य दुई दल पनि गठबन्धनमा पर्न सकेका छैनन् । कांग्रेस र माओवादी केन्द्रले मात्र गठबन्धन गरेर बाँकी दललाई पाखा लगाएका छन् । एमाले विरुद्धको मोर्चा बन्दी गरेका पाँच दलहरू मध्ये कांग्रेस र माओवादी बाहेकका दलहरू गठबन्धनबाट बाहिरिएका हुन् ।


पूर्व सहमति कांग्रेस र माओवादीले उल्लंघन गरी सिट बाँडफाँडमा हेला गरेको एकीकृत समाजवादी, जसपा र जनमोर्चाका नेताहरूको ठम्माइ छ । उनीहरूले ठूला दुई दलले आफ्नो पार्टीलाई पाखा लगाएको भन्दै आक्रोशित बनेका छन् । गठबन्धनका कांग्रेस माओवादीमा प्रचारप्रसारलाई तीव्र पारिए पनि समाजवादी र बाँकी अन्य दलहरूमा कुनै चहलपहल देख्न सकिएको छैन ।


यद्यपि उनीहरूले गठबन्धन भंग भएको घोषणा गर्न सकेका छैनन् । एक्लै निर्वाचन लड्न सक्ने तागत पनि नहुने र गठबन्धनले विश्वास गरेर न्यायोचित सिट नदिँदा उनीहरू बिच बाटोमा अलपत्र परेका छन् । चुनावको मिति अब १३ दिन मात्र बाँकी रहँदा पर्वतमा एमाले र गठबन्धन गरिएका दुई दलको बाहेक अन्यदलहरूको प्रचार मौन देखिएको छ ।


एकीकृत समाजवादीले अन्तिमसम्म पनि केही वडाहरूमा सदस्य र केही वडामा अध्यक्ष पाउने आशा गरेको थियो । शुक्रबार मनोनयन फिर्ताको दिनसम्म पनि ठूला दलले आफूलाई मिलाउने आश गरेका समाजवादीले अन्ततः धोका पाएको छ । कुश्मा नगरपालिका–६ र वडा–१४ आर्थरमा वडाध्यक्षको दावा गरे पनि कांग्रेसले उक्त प्रस्ताव अस्वीकार गरेको छ ।


समाजवादीले कुश्मा नगरपालिकाको उपप्रमुख समेत आशा गरेको थियो । उपप्रमुखमा प्रेम गुरुङलाई उम्मेदवार बनाएको समाजवादीले आफ्नो उम्मेदवारी कायम राखेको छ । वडा–६ बाट दिपुबाबु गिरी भने उमेदवारको दौडबाट बाहिरएका छन् । वडा–१४ मा समाजवादीले भीम गुरुङको उम्मेदवारी कायम राखेको छ भने जलजलामा र पैयूसमेत उम्मेदवारी फिर्ता नभएको समाजवादीका नेताहरू बताउँछन् ।


समाजवादीले आफ्नो प्रभाव रहेको भनेर दावा गरेको फलेवास नगरपालिकामा पनि दुई दलले समाजवादीलाई कुनै भाग दिएनन् । गठबन्धनमा धोका भएपछि अबको रणनीति कस्तो बनाउने भन्नेमा समाजवादीका नेताहरू छलफलमा जुटेको स्रोत बताउँछ ।

प्रतिक्रिया