‘मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्नुस्’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसपालि ‘मतपत्र च्यात्छु र चपाउँछु’ भन्ने सोच नराख्न दलका नेता तथा कार्यकर्ताहरूलई आग्रह गरेका छन् । शुक्रबार राष्ट्रिय तथा जिल्लास्तरका पर्यवेक्षकहरुको लागि अन्तरक्रिया र अभिमूखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘लोकतन्त्रलाई विश्वास गरेर उम्मेदवारी दिने राजनीतिक दल र उम्मेदवारहरु, यत्ति कुरा हेक्का राखिदिनुहोस्, यो वर्षको मतपत्र अलिकति कडा कागजमा छापिएको छ, त्यसकारण यसलाई च्यात्ने र चपाउने सोचबाट मुक्त भइदिनुहोस् । यो अनुरोध हो । छाप्दै त्यसैगरी छापेको हो । यो कुरा बुझिदिनुभयो भने आगामी दिनमा यस्ता प्रश्न उठ्दैनन्,’ उनले भने ।

उनले राजनीतिक दल र उम्मेदवारहरुले निर्वाचनलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग गर्नुपर्ने बताए । मतपत्र कडा कागजमा छापिएको उनको भनाइ छ। निर्वाचनमा डर, त्रास, धाक, धम्की दिएर जबरजस्ती रुपमा उम्मेदवारी फिर्ता दिलाउने किसिमका अभ्यास भइरहेका बताउँदै चुन्ने र चुनिन पाउने अधिकारलाई कुण्ठित गर्ने कुरा सैह्य नहुने उनको भनाइ छ ।

महिलाको ५० प्रतिशत सहभागिताको कुरालाई दलहरूले बिर्सिएको समेत बताए । २०७४ सालको उम्मेदवारीभन्दा पनि महिला सहभागिता घटाएर दलले बहादुरी देखाएको भन्दै व्यंग्य गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुरमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतगणनास्थलमा नै मतपत्र च्यातेका थिए ।

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले कुनै पक्षले जितको लागि जे पनि गतिविधि गर्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन निर्वाचन आयोगलाई सुझाव दिइन् । मतगणना गर्दैगर्दा बत्ती निभाएका विषय विगतमा सुनिएको उल्लेख गर्दै त्यसमा आयोग सचेत हुनुपर्ने उनको भनाइ छ ।

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अहिलेको समयमा निर्वाचन परीवेक्षण गर्न जरुरी रहेकोले निर्वाचन आयोगले त्यसमा जोड दिनुपर्ने बताए। श्रेष्ठले निर्वाचन स्वतन्त्र, निष्पक्ष, तटस्थता, गुणस्तरयुक्त, जवाफदेहीतापूर्ण र स्वच्छ हुनुपर्ने बताए । श्रेष्ठले पर्यवेक्षकले निर्वाचनको कानून, प्रक्रिया, पूर्वाधार, मतदाताको अवस्था, उम्मेदवारको अवस्था, उनीहरुको खर्च र प्रचारप्रसारको शैलीको बारेमा निगरानी गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।

प्रतिक्रिया