काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भएमा महानगरभित्रका आमनागरिकको चाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वरिष्ठ कलाकारसमेत रहेका श्रेष्ठले काठमाडौं महानगरपालिकाबासीको मनोभावना र चाहनाअनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको पनि बताए ।
शुक्रबार चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले विगतका जनप्रतिनिधिले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको आरोप लगाउँदै ती समस्या समाधान आफू समक्ष हुने दाबीसमेत गरे ।
मेयरका उम्मेदवार श्रेष्ठले घोषणा गरेको प्रतिबद्धता पत्रमा ६ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने महत्वाकांक्षी योजना उल्लेख गरिएको छ ।
उनले भने, ‘काठमाडौंमा मूलभूत रूपमा फोहोरकै कुरा हो । त्यसको व्यवस्थापन गर्नुछ । म आमनागरिकलाई विशेष अनुरोध गर्न चाहन्छु–तपाईंहरूको अमूल्य मतले मलाई विजयी गराउनु भयो भने तपाईंहरूको मनोभावना र चाहनाअनुरुप मैले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु गर्दछु ।’
मेयरका उम्मेदवार श्रेष्ठले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौंलाई भ्रष्टाचारमुक्त बनाउने, सार्वजनिक यातायातमा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उल्लेख गरिएको बताए ।
त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिबद्धता पत्रमा समावेश गरिएको छ ।
प्रतिक्रिया