चितवन । चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा आधुनिक ट्रमा सेन्टर सञ्चालनमा आएको छ । चौबीसै घण्टा सुविधा दिने गरी सेन्टर सञ्चालन गरिएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालले घाइते र अन्य बिरामी एकै ठाउँमा राखेर उपचार गर्दा कहिलेकाहीँ घाइते प्राथमिकतामा नपर्ने हुँदा छुट्टै ट्रमा सेन्टर सुरु गरिएको बताए ।
उनले भने, ‘इमर्जेन्सीमा कहिले मुटु, कहिले ब्रेनहेमरेज, कहिले सानो बच्चा बिरामी आउँदा ट्रमाको बिरामी प्राथमिकतामा नपर्न सक्छन् तर ट्रमा सेन्टरमा प्राथमिकता पाउँछन् ।’ घाइतेको उपचारमा अझै बढी ध्यान पुगोस् भनेर सेवा सुरु गरिएको उनको बताए ।
ट्रमा सेन्टरमा विशेषज्ञ चिकित्सकलाई छिटो जोड्न सकिने डा. लम्सालले बताए । उनले भने, ‘ट्रमा सेन्टर बनाउँदा घाइते र अन्य बिरामीलाई न्याय हुन्छ, विकसित राष्ट्रमा ट्रमा सेन्टर छुट्टै बनाउने प्रचलन छ ।’
दुवै प्रकृतिका बिरामी एकै ठाउँमा राखेर उपचार गर्न हुँदैन भन्ने नभएको उल्लेख गर्दै उनले ट्रमा सेन्टर बनाउँदा उत्तम भएको बताए । उनले भने, ‘यो उत्तम कार्य हो भनेर हामीले सुरु गरेका हौँ, अझै छिटोछरितो र गुणस्तरीय सेवा होस् भन्ने चाहना हाम्रो हो ।’
ट्रमा सेन्टरमा एनेस्थेसिया, जनरल सर्जरी, अर्थोपेडिक सर्जरी, म्याग्जिलोफेसियल लगायतका सेवालाई सक्रिय गर्न सजिलो हुने बताउँदै डा. लम्सालले भने, ‘ट्रमा टिम नै चाहिन्छ, एक जना मात्रै भएर हुँदैन ।’
ट्रमा हेर्दै आएका सघन उपचारसम्बन्धी विशेषज्ञ डा. वसन्त गौलीका अनुसार ट्रमाका सम्पूर्ण मापदण्ड पालना गरेर सेवा सुरु गरिएको छ । सेन्टरमा ट्रमा आकस्मिक कक्ष, ट्रमा सघन उपचार कक्षु, ट्रमा शल्यक्रिया कक्ष, ट्रमा पोष्टअप, ट्रमा वार्ड छन् ।
दुर्घटनाका घाइते परीक्षणका लागि आवश्यक पर्ने, एक्सरे, सिटीस्क्यान, एमआरआइलगायत सम्पूर्ण सुविधा सेन्टरमा नै उपलब्ध रहेको उनले जानकारी दिए ।
डा. गौलेले भने, ‘जनरल इमर्जेन्सी (आकस्मिक कक्ष) मा मेडिकल, सर्जकल सबै खालका बिरामी हुन्छन्, उनीहरुको गम्भीरता हेरेर पहेँलो, हरियो र रातो भनेर छुट्याइन्छ, आकस्मिकमा कुनै बिरामीलाई विस्तारै उपचार गर्दा पनि हुन्छ, त्यही भीडमा ट्रमा (दुर्घटनालगायतका घाइते) बिरामी आयो भने अलपत्र पर्न सक्छ ।’ ट्रमा सेन्टरमा दुर्घटनाका घाइते मात्रै आउने हुँदा उनीहरुले समयमै राम्रो र गुणस्तरीय उपचार पाउने उनको भनाइ छ ।
उनले भने, ‘आकस्मिक कक्षमा आएदेखि कसरी हेर्ने, कसले हेर्ने, शल्यक्रिया कति समयमा गर्ने भन्ने मापदण्डका आधारमा उपचार हुन्छ, आकस्मिक शल्यक्रिया गर्नु परे तत्काल हुन्छ ।
२४सै घण्टा चिकित्सक हुन्छन् ।’ ट्रमा सेन्टरमा दुर्घटनाका घाइते आउँदै छन् भनेपछि त्यहीअनुसार तयारी हुने बताउँदै डा. गौलीले भने, ‘कतिपय बेवारिसे घाइते अस्पताल पुगेर अलपत्र पर्ने हुन्छ तर ट्रमा सेन्टरमा आएका घाइते अलपत्र पर्दैनन् ।’
दुर्घटनाका घाइतेका आफन्त दुई चार घण्टापछि मात्रै आउन सक्ने बताउँदै उनले त्यस्तो घाइतेलाई कसरी उपचार सुरु गर्ने, उपचारमा चाहिने औषधि लगायतका सामग्रीको व्यवस्थापन ट्रमाको टिमले गर्ने धारणा राखे ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले ट्रमा सेन्टर चितवनको स्वास्थ्य सेवामा एउटा नयाँ आयाम भएको बताए । उनले चितवनमा विशिष्टीकृत सेवासहितको ट्रमा सेन्टर सञ्चालनमा आएसँगै चितवन र आसपासका जिल्लाका दुर्घटनाका घाइते उपचारका लागि राजधानी धाउनुपर्ने बाध्यता हटेको बताए ।
प्रतिक्रिया